अदालतमा न्यायाधीशकै बिचाैलिया छन् : वरिष्ठ अधिवक्ता भण्डारी [अन्तर्वार्ता]

फाइल तस्वीर
फाइल तस्वीर

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सार्वजनिक सरोकारका विषयमा अहिले पनि सक्रिय छन्। उमेरले ९५ वर्ष कटे पनि उनी नियमित बार र अदालत आउँछन्। सार्वजनिक सरोकारका मुद्दामा बहस पनि गर्छन्। भण्डारी पहिलो प्रतिनिधिसभा विघटन मुद्दामा बहस गर्दा 'बाजे वकिल' भनेर चर्चामा आएका थिए।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले 'बाजे वकिललाई इजलासमा उभ्याएर तमासा गरे' भनेका थिए। अहिले भ्रष्टाचार, विकृति, विसंगतिमा फसेको न्यायलय शुद्धीकरणका लागि भइरहेको आन्दोलनमा पनि बयोवृद्ध वरिष्ठ अधिवक्ता भण्डारी उपस्थित भएका छन्।

मंगलबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीसँगै धर्ना दिएर नेपाल बार एसाेसिएसनको प्रांगणमा सम्बोधन गरेका भण्डारीले न्यायिक शुद्धता र सुधारका लागि आन्दोलनमा आएको बताए। जनतामा न्याय र सक्षम व्यक्तिको हातमा न्यायलय हुनुपर्ने धारणा राखे।

औपचारिक कार्यक्रमको सम्बोधनपछि इतिहास बोकेका, आफ्नो जीवनकालमा थुप्रै प्रधानन्यायाधीश फेस गरेका वरिष्ठ अधिवक्ता भण्डारीसँग बार परिसरमा  गरिएकाे कुराकानी:

नेपाल बार एसाेसिएसनको आन्दोलनलाई कसरी हेर्नुभएको छ ?

अहिले हामी घर सफा गर्ने, विसंगति विकृति हटाउने आन्दोलन हो। यिनी (चोलेन्द्र) हट्यो भने सुधार सुरू हुन्छ। अरू एक्सपर्ट छन्। सुधारको बाटोमा जान्छ। जंगबहादुरले नेपालमा न्यायको सुरूवात गरे।

जुद्धशमशेरको बेलामा पनि न्याय राम्रो थियो। न्याय हाम्रो देशको धरोहर हो। खुंखार राणाकालमा पनि न्याय तलमाथि भएन। अहिले हेर्नुस् त न्याय व्यवस्था। त्यही भएर हामी आन्दोलनमा छौं। जनताको न्याय जनताले मान्ने नेतृत्व भनेर लागेका छौं।

न्यायाधीशको इजलास बहिष्कारलाई कसरी लिनुहुन्छ ?

न्यायाधीशहरूको बहिष्कार धेरै राम्रो हो। अहिले जनताको नजरमा न्यायाधीश एकदम भ्रष्ट हुँदै गइरहेको छ। असल न्यायाधीशहरू जनताको नजरमा खराब भए। उहाँहरु सुधारका लागि उठ्नुभयो। शुद्धीकरणकै बाटोबाट उहाँहरुको आन्दोलन आएको छ। जायज छ।

तपाईहरु बार एशोसिएसनको आन्दोलनमा हुनुहुन्छ। अर्कोतिर सेतोपट्टी बाधेर केही कानुन व्यवसायीले प्रधानन्यायाधीशले राजीनामा दिँदैमा समस्या हल नहुने भनिरहेका छन्। यसलाई कसरी लिनुभएको छ?

राजा ज्ञानेन्द्रले राजगद्दी सडकबाटै छोडे। जनता सार्वभौम हो। जनतालाई हेला गर्ने केही पदमा बाँकी रहन्छ। त्यसैले हामीलाई शुद्धीकरणको निम्ति बाटो तयार गर्न राजीनामा बाहेक विकल्प छैन। छोड्दै छोडेन भने हामी अन्तिम तहसम्म पनि जान तयार छौं। अहिले मर्यादित रूपमा भनिरहेका छौं।

तर एकातिर प्रधानन्यायाधीशको पक्षमा सेतोपट्टी बाधेर उत्रिए नि ?

अदालतमा बिचौलियाहरू छन्। न्यायाधीशहरूले नै बिचौलिया तयार गरे। ती बिचौलियालाई त छटपटी हुन्छ। असल न्यायाधीश आयो भने सबै खत्तम हुन्छ। त्यसैले सेतोपट्टी बाँध्नेहरु बिचौलिया हुन्। यी न्यायाधीशका गिरोहका मान्छे हुन्।

तपाईले आफ्नो जीवनकालमा धेरै प्रधानन्यायाधीश देख्नुभयो। अहिलेजस्तो अन्तर्वार्ताबाट सफाइ दिएको, यति धेरै विवादमा परेको, यो तहको आन्दोलन भएको इतिहास छ ?

मेरो जीवनकालमा हरिप्रसाद प्रधान (पहिलो प्रधानन्यायाधीश) को जमाना सुरुवातदेखि विश्वनाथजीको पुस्तासम्म यति प्रधानन्यायाधीश भए एउटा खोट देखाउन सक्नुहुन्न। २०४६ सालपछि केदारजीहरू, अनुपजीहरू भए। तर सुधार गरेको रामप्रसाद श्रेष्ठले हो। राम्रो पनि हो सुधारेको पनि हो। न्यायाधीशहरू धेरै राम्रो राम्रो थिए। खै हामीले आन्दोलन नै गरेनौं।

हाम्रो यस्तो इतिहासलाई अहिले उहाँ (चोलेन्द्र)ले खराब बनाउने, धुमिल पार्दै हुनुहुन्छ। रोम जलिरहेको बेला निरो बासुरीको धुनमा मग्न रहेको अवस्थाजस्तै न्याय व्यवस्था अस्त व्यस्त हुँदा, जनताले अन्याय र दु:ख पाइरहेको छ। तर उनी संवैधानिक नियुक्ति भनिरहेका छन्। संवैधानिक नियुक्तिको कर्तव्य हुँदैन र ?

प्रधानन्यायाधीशले सम्मानजनक रूपमा जाने पनि भन्नु भएको छ नि ?

म पनि कसैलाई असम्मान गर्ने पक्षमा छैन। कसैले गल्ती गर्छ भने उसको कमजोरी हो। सम्मानपूर्वक बहिगर्मन नै चाहन्छन् भने म त्यसलाई स्वागत गर्छु। हामी सिस्टम र न्यायिक नेतृत्वलाई सुधार गर्न गइरहेका छौं। उनी छोड्दिन्छ उत्तम भयो। त्यहीँ नै स-सम्मान होइन र ? सम्मान भनेको के छोड्नु हो।

एमाले अध्यक्ष केपी ओलीले त प्रधानन्यायाधीशमात्र होइन परमादेश फैसला गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्छ भन्नुभएको छ। तपाईंले नि बहस गर्नुभएको थियो, कसरी लिनुभएको छ ?

केही जनता ओलीको पक्षमा छन्। एउटा गुट छ। तर म दावाका साथ भन्छु संसद् विघटनसम्बन्धी दुई वटा फैसला भए नि पछिल्लो फैसलाजस्तो संसारमा कुनै फैसला छैन। एक-एक बुँदामा महत्वपूर्ण कुराहरू लेखिएको छ। ९५ वर्षको मेरो जीवनकालमा यस्तो उत्तम फैसला देखेको छैन।

अमेरिका, बेलायत र भारतको फैसला पढेको छु। तर यो फैसला मैले उत्तम भनिरहेको छु। यति राम्रो फैसला छ। त्यस्तो फैसलालाई एउटा प्रधानमन्त्री भइसकेको पूर्वप्रधानमन्त्री जस्तो मान्छेले दोष लगाउने, हरे राम राम। उनले राजनीतिक प्रश्न उठाउलान्। तर फैसला र गर्ने न्यायमूर्ति हाम्रो धरोहर हुन्।

अबको निकास के हो त ?

प्रधानन्यायाधीशले राजीनामा दिने एकमात्र विकल्प हो। जनतामा न्याय, सक्षम व्यक्तिको हातमा न्यायालय हुनुपर्छ। अहिले देशमा न्याय नै छैन। न्याय छिटो हुन्छ। तर आज बिचरा गरिबहरू १०/१० वर्ष तारिखमा बसेका छन्।

हिजो मलाई भेटेर एउटा गरिबले के भन्यो भने, 'हजुर तारिख धाउँदा धाउँदा मर्न लागे, सबै सम्पत्ति पनि सकियो। न्याय पाइँन।' पाप लाग्छ गरिबहरूको। न्याय छँदै छैन अहिले। सक्षम व्यक्तिको हातमा गयो भने न्यायालय शुद्धीकरण हुन्छ, जनताले न्याय पाउँछन्। त्यसका लागि प्रधानन्यायाधीशले राजीनामा जरुरी छ।

प्रधानन्यायाधीशलाई के भन्न चाहनुहुन्छ ?

तुरुन्त राजीनामा दिनुस्। शुद्धीकरणको बाटो खोलिदिनुस्। उहाँ हट्नुभयो भने हामी शुद्धीकरणको बाटोमा जान्छौं। न्युट्रलमा जान्छौं।

तपाईहरूको आन्दोलन पार लाग्छ त ?

आन्दोलन जारी रहन्छ। वार पारमा लागेका छौं। पार लाग्छ।

प्रकाशित मिति: : 2021-11-03 14:01:00

प्रतिकृया दिनुहोस्