परपुरुषसँग अनैतिक सम्बन्ध राखेको भन्दै श्रीमतीलाई जंगलमा जिउँदै गाडेपछि...

Breaknlinks
Breaknlinks

१७ असोज २०७८ मा कपिलबस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित ‘चम्पापुर कपिलबस्तु साझेदारी सामुदायिक जंगल’मा मावन कंकाल भेटिएको खबर इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा पुग्यो।

महेन्द्र राजमार्गबाट करिब ५ सय मिटर उत्तरतर्फको उक्त जङ्गलमा मानव कंकाल भेटिएको खबर पाउन साथ प्रहरी टोली त्यसतर्फ लाग्यो। प्रहरी घटनास्थल पुग्दा मानिसको खप्पर र हड्डीहरु फेला पर्‍यो।

यसरी जङ्गलमा भेटिएको मानव कंकालले मात्रै मृतकको पहिचान गर्न प्रहरीलाई असम्भव जस्तो थियो। तर, प्रहरीले आफ्नो क्षेत्रबाट अनुसन्धानलाई जारी राखी रह्यो।

घटनास्थलबाट मानव कंकालको व्यवस्थापन गरेर थप अनुसन्धान सुरु गरेको प्रहरीले त्यसअघि इलाका प्रहरी कार्यायल गोरुसिङ्गेमा परेका उजुरी तथा मुद्दाको फाइल पल्टायो।

सोही क्रममा महाराजगञ्ज नगरपालिका–११ बाबा बनगाईकी १८ वर्षीया पुनिता लोनियाले ज्यान मुद्दा शीर्षकमा दर्ता गरेको मुद्दा भेटियो।

जङ्गलमा भेटिएको कंकाल सोही मुद्दासँग मिल्दोजुल्दो देखेपछि प्रहरीले पुनितालाई कार्यालय बोलाएर घटनास्थलमा भेटिएका कंकालसहित एक जोर चप्पल र साडी देखायो। ती सामग्री आफ्नी ३५ वर्षीया आमा चिन्का लोनियाको हो भनेर पहिचान गर्न पुनितालाई समय नै लागेन।

केही दिनदेखि हराएकी आफ्नी आमाको खप्पर र हड्डी मात्रै देखेपछि उनले आफूलाई सम्हाल्न सकिनन्।

मृतकको पहिचान भएपछि प्रहरीको अनुसन्धानको दायरा फराकिलो बन्यो। तर, प्रहरीले मृतकको पहिचान मात्रै गर्नु थिएन। हत्यारा पनि पत्ता लगाउनु पर्ने थियो।

असोज १५ गते पुनिताकी आमा चिन्का हराएकी थिइन्। त्यही दिनदेखि उनका बाबु ४५ वर्षीय राम केवल लोनिया पनि सम्पर्कविहीन थिए। श्रीमतीको हत्यारा पत्ता लगाउन प्रहरीले श्रीमान राम केवलको खोजी कार्यलाई तिव्रता दियो।

मृतकको गाउँ घरमा गोप्य रुपमा खोजिरहेको प्रहरीले अन्ततः यही कार्तिक १९ गते बिहान ८ बजे बुद्धभूमि नगरपालिका–९ डुमरामा राम केवललाई भेट्यो।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले आफ्नी श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन्। उनी असोज १५ गते श्रीमतीलाई जङ्गलमा लगेर हत्या गरी नेपाल–भारत सीमा क्षेत्रमा लुकीछिपी बस्दै आएका थिए।

श्रीमतीले परपुरुषसँग अनैतिक सम्बन्ध राखेपछि हत्या

हत्या हुनुअघि श्रीमान–श्रीमतीबीच दिनदिनै झगडा हुने गरेको स्थानीयहरू बताउँछन्।

परपुरुषसँग अनैतिक सम्बन्ध राख्ने गरेको शंका गरी श्रीमती चिन्कासँग सम्बन्ध विच्छेद माग गर्दा हत्याको योजना बनाएको राम केवलले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताएका छन्।

सम्बन्ध विच्छेदकाे माग गर्दै–गर्दा पटकपटक मार्ने धम्की दिँदै आएका राम केवलले असोज १५ गते श्रीमतीलाई फकाई फुल्लाई चम्पापुरस्थित कपिलबस्तु साझेदारी सामुदायिक जंगलमा बाती काट्न लगेर त्यही हँसियाले काटेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

पक्राउ परेका राम केवलमाथि अहिले थप अनुसन्धान भैरहेकाे प्रहरीकाे भनाइ छ।

प्रकाशित मिति: : 2021-11-08 17:32:00

प्रतिकृया दिनुहोस्