मोरङ कारागारमा झडप,१४ नाइकेको सरुवा

दोहोरो झडपका कारण अवस्था असामान्य बनेपछि जिल्ला कारागार मोरङबाट स्थानान्तरण गरेर १४ कैदीबन्दीलाई मङ्गलबार सुनसरी र झापा पुर्‍याइएको छ।

कारागारभित्र मङ्गलबार बिहान १० बजेतिर कैदीबन्दीबीच दोहोरो झडप हुँदा ६ जना सामान्य घाइते भएका छन्। झडपका कारण कारागारभित्रको अवस्था तनावग्रस्त बनेको थियो।

झडपमा घाइते भएकासहित १४ जना कैदीबन्दीलाई मोरङबाट स्थानान्तरण गरिएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले बताए।

उनका अनुसार स्थानान्तरण गरिएकामध्ये पाँच जनालाई सुनसरीको झुम्का र नाै जनालाई झापा जिल्ला कारागार पुर्‍याइएको छ।

मोरङ कारागारका चौकीदार किरण गुरुङ तथा अरु कैदीबन्दीहरू शेखर राई, सूर्यदीप गुप्ता, पदमकुमार लिम्बू र निर्मल ढकाललाई स्थानान्तरण गरेर झुम्का कारागार लगिएको छ।

रामकुमार लिम्बू, रमेश मण्डल, विशाल मोक्तान तामाङ, डिल्ली देवान, रोशन दाहाल, कपिलकुमार साह, एलएस नेपाली, राजु राई र मुस्कान भनिने बविहाङ राईलाई झापा पुर्‍याइएको निमित्त जेलर पोखरेलले बताए।

उनका अनुसार स्थानान्तरण गरिएकामध्ये चौकीदार गुरुङसहित शेखर राई, निर्मल ढकाल, विशाल मोक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता मङ्गलबार बिहान १० बजेतिर भएको दोहोरो झडपमा परेर सामान्य घाइते भएका कैदीबन्दी हुन्।

उनीहरुको कोसी अस्पतालमा उपचार गरिएको छ। मोरङबाट चौकीदारलाई नै झुम्का लैजानु परेपछि अर्का कैदी कार्तिक कामतलाई कामचलाउ चौकीदारको जिम्मेवारी दिइएको पोखरेलको बताए। कामत ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भुक्तान गरिरहेका छन्।

चौकीदार गुरुङको समूहमा रहेका नाइके र भाइनाइकेको समूहले अत्याचार गर्ने तथा चरम यातना दिने गरेको भन्दै असन्तुष्ट बनेका अरू कैदीबन्दी झडपमा उत्रिएको स्रोतले बतायो।

कारागारभित्र मुढा बनाउने बाँसका भाटालगायतको प्रयोग झडपमा भएको पाइएको छ। गुरुङको समूहविरुद्ध अरु कैदीबन्दी आन्दोलनमा उत्रिएपछि झडप भएको निमित्त जेलर पोखरेलको भनाइ छ।

आन्दोलनमा उत्रिएका कैदीबन्दीले चौकीदार गुरुङसहित १४ जना कैदीबन्दीलाई कारागारभित्रकै एउटा कोठामा थुनेर समेत राखिदिएका थिए।

बाहिर निकालेर प्रहरीले सुरक्षा प्रदान गरेका उनीहरुलाई अन्यत्र स्थानान्तरण गरेपछि कारगारभित्रको अवस्था सामान्य बनेको पोखरेलको भनाइ छ।

उनका अनुसार कैदीबन्दीको सुरक्षा र कारागारमा उत्पन्न तनाव अन्त्यका लागि विवादमा मुछिएका कैदीबन्दीलाई स्थानान्तरण गर्नुपरेको र मोरङ कारागारमा राख्न नसकिएको हो।

काठमाडौंस्थित डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ ल्याउने चर्चासँगै भदौयता मोरङ कारागारमा बेलाबेला तनाव भइरहेको छ।

गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका आपराधिक पृष्ठभूमिका गुन्डा नाइके हुन्। डिल्लीबजार लैजानुअघि गिरी मोरङ कारागारमै चौकीदार थिए।

कारागारभित्र भिन्दै साम्राज्य खडा गर्दै विभिन्न आपराधिक गतिविधि गरिरहेको खुलेपछि उनलाई २०७४ साल चैत २३ गते डिल्लीबजार स्थानान्तरण गरिएको थियाे।

गिरीलाई डिल्लीबजार पठाएपछि मोरङमा चौकीदारको जिम्मेवारी नवीन राईलाई दिइएको थियो। पुनः गिरीलाई मोरङ ल्याइने भएपछि जिम्मेवारीमुक्त गर्दै राईलाई गत असोज १८ गते झुम्का कारागार स्थानान्तरण गरियो। राईलाई झुम्का लगिएपछि किरण गुरुङलाई मोरङ कारागारमा चौकीदारको जिम्मेवारी दिइएको थियो।

चौकीदारका लागि मोरङ कारागार आम्दानीको राम्रो स्रोत मानिन्छ। कारागार भित्रको टेलिफोन, पसल र खानाबाट मात्रै चौकीदारले दैनिक लाखौँ रूपैयाँ आम्दानी गर्ने गरेको बताइन्छ।

गत भदौ १७ गते डिल्ली बजारबाट मोरङ सरुवा गरिएका गुन्डा नाइके गिरीलाई गत कात्तिक १६ गते मोरङ ल्याइएको थियो। तर कैदीबन्दीका आफन्त र कारागारभित्र रहेका अरू कैदीबन्दीसमेत आन्दोलित बनेपछि उनलाई सप्तरी कारागार लगिएको छ।

आफू मोरङ बस्न नपाएपछि उनकै उक्साहटमा विवाद झिकेर गिरीनिकटका अरु कैदीबन्दी आक्रमणमा उत्रँदा दोहोरो झडप भएको आँकलन गरिएको छ।

दुई सय ५० जना क्षमताको मोरङ कारागारमा आठ सय ९७ जना कैदीबन्दी छन्।

प्रकाशित मिति: : 2021-11-09 17:58:00

प्रतिकृया दिनुहोस्