द्वन्द्व भड्किएपछि कङ्गोका हजाराैँ बासिन्दा युगान्डा छिरे

© UNHCR

कम्तिमा ११,००० व्यक्तिहरू पूर्वी डेमोक्रेटिक रिपब्लिक कङ्गोबाट हालै भड्किएको द्वन्द्वबाट बच्न युगान्डा छिरेका छन्।

संयुक्त राष्ट्रसङ्घ शरणार्थी एजेन्सीले मङ्गलबार बताएअनुसार यो सङ्ख्या युगान्डामा वर्षभरिमा हुनेभन्दा ठूलो शरणार्थी आगमन हो। एजेन्सी प्रवक्ता साबिया मन्टुले दिएको जानकारीअनुसार ती व्यक्तिहरूमा धेरैजसो महिला र बालबालिका छन्।

प्रवक्ता मन्टुले जेनेभामा एक ब्रिफिङ्गमा बताएअनुसार 'पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा जारी द्वन्द्वले आइतबार रातिदेखि कम्तीमा ११,००० मानिसहरूलाई सीमा पार गरेर युगान्डा भाग्न बाध्य बनाएको छ।'

उत्तरी किभुको रुत्सुरु क्षेत्रमा मिलिसिया समूहहरू र कङ्गोको सशस्त्र सेनाहरू बीच लडाइँ जारी छ। करिब ८,००० शरणार्थीहरूले बुनागाना सहर र थप ३,००० ले किबाया सीमा बिन्दु पार गरेका छन् जुन युगान्डाको राजधानी कम्पालाबाट ५०० किलोमिटर (३०० माइल) दक्षिणपश्चिममा पर्दछ।

धेरै मानिसहरू खाना पकाउने भाँडाकुँडा, सुत्ने म्याट, लुगाफाटा र गाईवस्तु लिएर भागेको प्रवक्ता मन्टुले बताएका छन्। संदिग्ध विद्रोहीहरूले आइतबार राति सेनाको क्याम्पमा आक्रमण गरेर स्थानीयलाई भयभीत पारेका थिए। कङ्गोली सेनाले एम ३३ भनिने विद्रोही समूहलाई यो आक्रमणको दोषी ठहराएको छ।

यो समूह त्यहाँ द्वन्द्वरत १२० भन्दा बढी सशस्त्र समूहहरूमध्ये एक हो। यूएनएचसीआरले करिब ५०० शरणार्थीहरूलाई न्याकाबन्दे ट्रान्जिट सेन्टरमा स्थानान्तरण गरेको छ जहाँ १,५०० जनासम्म अटाउन सक्छन्। युगान्डाले करिब १५ लाख शरणार्थीहरूलाई आश्रय दिएको छ।

अफ्रिकन देशहरूमा सबैभन्दा बढी शरणार्थीलाई युगान्डाले आश्रय दिएको छ जसमा करिब चार लाख चालीस हजार शरणार्थी डेमोक्रेटिक रिपब्लिक कङ्गोबाट भागेर आएका छन्।

प्रकाशित मिति: : 2021-11-10 06:11:00

प्रतिकृया दिनुहोस्