भ्रष्टाचारको विषय उठाउँदा नगरपालिका बैठकबाटै निकालिए वडाध्यक्ष

तेजन खड्का

उर्लाबारी

मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले पत्रकारहरूको समेत सहभागितामा आयोजना गरेको आर्थिक वर्ष २०७७/७८ को बार्षिक समीक्षा बैठकबाट वडाध्यक्षलाई निकालिएको छ।

नगर प्रमुख दिलीपकुमार राईको निर्देशनमा वडा नं. ४ का वडाध्यक्ष गोविन्दबहादुर भण्डारीलाई नगर प्रहरीहरूले पाखुरामा समातेर बाहिर निकालेका हुन्।

नगर प्रमुखको अध्यक्षतामा भइरहेको गोष्ठीमा वडाध्यक्ष भण्डारीले होहल्ला गरेपछि उनलाई निकालिएको हो।

उनलाई निकालिएपछि नगर प्रमुख राईले वर्षभरीको कार्यप्रगति विवरण प्रस्तुत गरे।

उनले कार्तिक मसान्तभित्र अघिल्लो आर्थिक बर्षको कार्यप्रगति विवरणको समीक्षात्मक कार्यक्रम सम्पन्न गर्नुपर्ने सरकारी प्रावधान अनुरुप कार्यपालिका सदस्य, शाखाहरुका प्रमुख, वडा सचिव सहित सहभागि भई नगरले गरेका कामको समीक्षा गरिएको बताए।

कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र सामाजिक विकास समितिका संयोजक कपिलमणि ढकालले कार्यक्रमका बारेमा बोले।

गोष्ठीमा, शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले, लेखा शाखा प्रमुख पिताम्बर वस्ती, योजना शाखा प्रमुख शिवकुमार राई, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, घर नक्सा शाखा प्रमुख कमलप्रसाद पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले आआफ्नो शाखामार्फत भएका गतिविधि प्रस्तुत गरे।

समीक्षा बैठकमा वडाध्यक्षको भाँडभैलो

नगरको समीक्षा बैठक चलिरहेको बेला वडा नं. ४ का वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले बैठक भित्र भाँडभैलो गरे। नगरपालिकामा चरम भ्रष्टाचार भएको भन्दै त्यसको छानविन गर्नुपर्ने उनको माग थियो।

भण्डारीले बारम्बार बैठक अवरुद्ध गर्ने प्रयास गरेपछि नगर प्रमुख दिलिपकुमार राईको निर्देशनमा नगरप्रहरीहरूले पाखुरामा समातेर उनलाई बाहिर निकालेका थिए।

आफूले चढ्दै आएका सरकारी मोटरसाइकल मर्मतको बील लिएर लेखा अधिकृतसँग जाँदा लेखा अधिकृत पिताम्बर वस्तीले आफ्नो बील फालिदिएको उनको भनाई छ।

अधिकृत वस्तीले नगरपालिकाबाट मर्मत स्वीकृति पास भएपछि मात्र रकम भुक्तानी गर्ने भन्दै आफ्नो बील फालिदिएको वडाअध्यक्ष भण्डारीले बताए।

भण्डारीले मेयर, उप मेयर र प्रशासकीय अधिकृत चढ्ने गाडीको ३ लाख  रुपैयाँसम्मको मर्मत खर्च बीना इष्टमेट भएको दाबी गरे।

उनले चालु आर्थिक वर्षको ४ महिनामा नगरपालिकामा ४२ लाख रुपैयाँको इन्धन खरिद भएको दाबी गर्दै ईन्धन प्रयोग गर्नेको नाम र गाडी नम्बर प्रस्तुत गर्न बैठकमै चुनौति दिए। त्यस्तै ५० लाखको रुपियाँको फर्निचर नगरकार्य पालिकाको निर्णय बिना खरिद गरेको उनले दाबी गरे।

प्रकाशित मिति: : 2021-11-16 12:55:00

प्रतिकृया दिनुहोस्