चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान

नेपाली कथानक चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको छ। 

द पाल्म गुप्र प्रालिको ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘टुल्की’लाई आज युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको हो। उक्त चलचित्रलाई सेन्सर बोर्डको चलचित्र जाँच समितिले सर्टिफिकेट प्रदान गरेको हो।  

आज सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि चलचित्रप्रेमी दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएका हुन्। सर्टिफिकेट पाएसँगै यो फिल्म जुनसुकै उमेरसमूहका व्यक्तिले हेर्न पाउनेछन्।  

द पाल्म गुप्र प्रालिको ब्यानरमा शेखर लामाको प्रस्तुति रहेको र हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा टुल्की चलचित्र निर्माण गरिएको छ। 

लक्ष्मण सुनारको कथा, देवजङ्ग थापाको छायाङ्कन तथा निर्देशनमा बनेको चलचित्रमा आरपी कर्माचार्य र शेखर लामाको लगानी छ। शिशिर वाङ्देल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायतलगायतको चलचित्रमा अभिनय छ। 

ब्राह्मण बस्तीमा जन्मेकी युवती शेर्पा युवासँग माया प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथालाई चलचित्रमा उतारिएको निर्माण टिमले जनाएको छ। करिब चार वर्षको अध्ययनपछि चलचित्रको निर्माण गरिएको निर्माता लामाले बताए। 

चलचित्र ‘टुल्की’लाई नेपालमा भन्दा पहिले विभिन्न मुलुकमा प्रदर्शन गरिने र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत भाग लिने निर्माण समितिले जनाएको छ। 

प्रकाशित मिति: : 2021-11-24 21:11:00

प्रतिकृया दिनुहोस्