यस्तो छ लुम्बिनी प्रदेशका कांग्रेस सभापति पुनको राजनीतिक यात्रा

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन्। उनी रामचन्द्र पौडेल पक्षका हुन्।

मतगणनाको अन्तिम परीणाम अनुसार पुनले  सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार शाहलाई ८५ मतले हराएका हुन्। सभापतिमा निर्वाचित पुनले ८५२ मत पाउँदा शाहले ७६७ मतमै चित्त बुझाए। 

पदाधिकारीमा पनि पुन प्यानलकै वर्चश्व छ। 

सभापतिमा निर्वाचित पुनको यस्तो छ राजनीतिक यात्रा–

वि.सं. २०२७ साल असार ५ गते रोल्पाको राँक गाविस (हालको गंगादेव गाउँपालिका–४) जायचौरमा जन्मिएका पुन पहिलोपटक १२ औं महाधिवेशन अन्तरगत २०६७ मा जिल्ला सभापतिमा १३ मतले पराजित भएका थिए।

जिल्ला सभापतिमा पराजित भएसँगै राजनीतिमा होमिएका पुन तत्कालिन सभापति तथा प्रधानमन्त्री शुशिल कोइराला निकट मानिन्थे। कोइरालाकै सहयोगमा २०७० सालमा समानुपातिक कोटाबाट संविधानसभा सदस्य भएपछि राजनीतिमा पुनको उचाई थप चुलिएको थियो।

१३ औं महाधिवेशन अन्तरगत २०७२ मा फराकिलो मतान्तरले जिल्ला सभापति जितेका पुन पार्टीमा प्रभाव पार्दै जिल्लामा आफ्नो पकड जमाउन सफल भएका हुन्। सोही क्रममा २०७४ मा देउवा नेतृत्वको चुनावी सरकारमा पुन सिँचाई राज्यमन्त्री समेत बनेका थिए।

सशस्त्र द्वन्द्वको प्रभाव रहेको रोल्पामा माओवादीसँग खरो रुपमा उत्रन सक्ने नेताको छवी बनाउनुभएका पुनले संविधान जारी गर्दा रोल्पा, प्यूठानलाई ४ नम्बर प्रदेशमा गाभेर मगरात प्रदेश बनाउने माओवादीको प्रस्ताव विरुद्ध रोल्पा, प्यूठान संघर्ष समितिको संयोग भएर ५९ दिने आन्दोलन चर्काएका थिए।

सभासद् भएकै बेला उक्त आन्दोलनबाट थप स्थापित भएका पुनले जिल्लामा माओवादी विरुद्ध एमाले, विप्लव र अन्य दलहरुलाई पनि एकतावद्ध बनाउन सक्ने छवी बनाएका हुन्।

पत्रकार महासंघ लगायतका जिल्लाका विभिन्न सञ्जालमा माओवादी विरुद्ध गठबन्धन बनाई माओवादीलाई कमजोर बनाउने भूमिका समेत पुनले खेल्दै आएका थिए। त्यहि बलमा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा वर्षमान पुनसँग उनले प्रतिष्पर्धा गरेर काँग्रेसको केहि मत बढाउन सफल भएका थिए।

तर पछिल्लो पटक भएको पत्रकार महासंघ रोल्पाको निर्वाचनमा भने केहि गलत व्यक्तिको सुझावका कारण नेतृत्व हत्याउनबाट पुन चुकेका थिए। आफ्नो खेमामा लाग्ने कार्यकर्ताहरुलाई समेट्न सक्ने र विरोधी खेमालाई पछार्ने पुनको स्वभाव रहेको छ।

भर्खरै सकिएको जिल्ला अधिवेशनमा पनि पुनले आफ्ना खेमाका किशोर आचार्य नेतृत्वको पूरै प्यानल नै विजय बनाउन सफल भएका थिए।


प्रकाशित मिति: : 2021-12-06 09:28:00

प्रतिकृया दिनुहोस्