आलेखः

बाँकेमा घट्यो कोरोनाको सङ्क्रमण र मृत्युदर

कोरोना सङ्क्रमणको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ। दिनहुँ कैयौँ सङ्क्रमित विरामीको मृत्यु हुने बाँकेमा पछिल्लो दुई दिनयता मृत्युदर शुन्यमा झरेको छ।

तीव्र गतिमा सङ्क्रमण फैलिएपछि रोकथामको लागि जिल्ला प्रशासनद्वारा जारीे निषेधाज्ञाको एक महिनापछि अहिले बाँकेमा कोरोना सङ्क्रमण र विरामीको मृत्युदर घटेको हो।

वितेको दुई दिनको अवधिमा बाँकेका सङ्क्रमित बिरामीको मृत्यु भएको छैन भने केही दिन यता सङ्क्रमित हुने भन्दा जित्नेको सङ्ख्या बढ्दै गएको छ।

कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा सङ्क्रमण दर घटेसँगै अस्पतालमा उपचारको लागि आउने विरामीको सङ्ख्यासमेत घट्दै गएको नेपालगञ्जस्थित भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताए।

'दैनिक  सात/आठ सय लक्षणसहितका सङ्क्रमित फेला पर्ने गरेको बाँकेमा यो एक महिनाको अवधिमा सङ्क्रमित दर ह्वात्तै घटेको छ। लकडाउन र सचेतनाका कारण सङ्क्रमण घट्दै गएको हुनुपर्छ', डा थापाले भने, 'पछिल्लो केही दिनयता बाँकेमा कोरोना सङ्क्रमण र मृत्यु दर घटेको छ, यो हामी सबैको लागि खुशीको कुरा हो। तर पनि सजक भई अरुलाई पनि सजकता अपनाउन छोड्नु हुँदैन।'

उनले कोरोना सङ्क्रमण र मृत्युदरमा कमी आउँदैमा कुनैपनि लापर्वाही गर्न नहुने बताउँछन्। एक महिनादेखि जारी निषेधाज्ञाले कोरोना सङ्क्रमणको चक्र तोड्न सफल भएकोले घट्दो सङ्क्रमणदरलाई शून्यमा झार्न अव पनि सबैले उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने डा. थापाको भनाइ छ।

अस्पतालमा घट्यो विरामीको चाप

बाँकेमा कोरोना सङ्क्रमण दर घटेसँगै कोरोना उपचार केन्द्रको रुपमा रहेको भेरी अस्पताल नेपालगञ्जमा कोरोनाका विरामीको चाप घट्दै गएको छ।

अहिले बाँके जिल्लाभन्दा धेरै अन्यत्र जिल्लाबाट ‘रिफर’ भई आउने विरामीको सङ्ख्या बढि हुने गरेको डा. थापाले जानकारी दिए।

उनका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोनाको लागि निर्माण गरिएको १८० शय्या पुरै भरिएर अस्पतालले इमरजेन्सी कक्ष र त्रिपाल टाँगेर अस्थायी शय्यामा समेत गरी करिब तीन सय सङ्क्रमितलाई उपचार गर्दै आएकोमा अहिले शय्याहरु खाली हुँदै गएका छन्।

'अहिले बाँकेका भन्दा पहाडी जिल्लाबाट आउने विरामीको सङ्ख्या बढी छ, पहिलेको तुलनामा अहिले अवस्था सामान्य हुँदै गएकोे छ', डा. थापाले भने,'अहिले भेरी अस्पतालमा बेडको अभावका कारण भुईंमा सुतेर उपचार गराउनुपर्ने अवस्थाको अन्त्य भएको छ।'

बाँकेमा आइतबार चार सय ५२ जनाले कोरोना जितेर निको हुँदा एक सय १४ जना सङ्क्रमित थपिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार, भेरी अस्पतालमा तीन सय ६८ जनाको परीक्षण गर्दा दुई सय ६५, शिक्षण अस्पताल कोहलपुरमा एक सय १२ जनाको जाँच गर्दा ३६ र बागेश्वरी ल्याबमा एक सय ९० जनाको जाँच गर्दा ८९ जनामा कोरोना पुष्टि भएको हो।

महिना दिनमा धेरैको मृत्यु

कोरोना महामारी सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा गतवर्ष जस्तै यो वर्ष पनि सङ्क्रमण तीव्र गतिले फैलिँदा ठूलो सङ्ख्यामा सर्वसाधारणले अकालमै ज्यान गुमाउनु परेको छ।

गतवर्ष कोरोना महामारीको शुरुमै ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएर चर्चामा रहेको बाँकेलाई कोरोनाले निरन्तर दुःख दिइरहेको छ। विसं २०७७ वैशाख १९ गते पहिलो सङ्क्रमित फेला परेको बाँकेमा जेठ ३ गतेबाट मृत्युको सिलसिला शुरु भएको थियो।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेको तथ्याङ्कअनुसार २०७७ वैशाख १९ गतेदेखि चैत मसान्तसम्मको एक वर्षमा बाँकेमा चार हजार ९५८ जना सङ्क्रमित हुँदा चार हजार ७०२ जना निको भई घर फर्किए। यो अवधिमा ५८ जनाको मृत्यु भयो।

यो एक वर्षलाई २०७८ सालको वैशाख महिनाले मात्रै उछिनेको छ। वैशाखमा दोब्बर बढी सङ्क्रमित भए, झण्डै तेब्बर सङ्ख्यामा मृत्यु भएको छ।

'बाँकेको यो तथ्याङ्कले दोस्रो लहरको कोरोना खतरनाक रहेको देखिन्छ। कोरोनाको हिसावले बाँके पहिलो वर्ष पनि ‘हटस्पट’ बनेको थियो। वैशाख महिनामा पनि हालत त्यस्तै भयो। सङ्क्रमित र मृत्यु सङ्ख्यालाई हेर्दा एक वर्षलाई एक महिनाले धेरै पछाडी पारेको छ',

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले भने,'गत वैशाखमा दश हजार एक सय १४ जना सङ्क्रमित भए। छ हजार चार सय ७० जना निको भएर घर फर्किएका छन्। मृतकको सङ्ख्या एक सय ६७ छ। बाँकेमा शुरुदेखि वैशाख मसान्तसम्ममा १५ हजार ७२ जना सङ्क्रमित भएका थिए।'

पहिलो लहरको कोरोना महामारीमा समयमै सङक्रमितको सम्पर्कमा आएकाको सोधीखोजी गर्ने, धेरै सङ्क्रमित देखिएका टोललाई सील गर्ने काम भएको थियो भने सरकारले चाडै नै लकडाउन गरेको थियो तर सावधानी अपनाउन दोस्रो चरणमा केही ढिलाई भएको पाइएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको भनाइ छ।

'जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, बाँकेको वैशाख ३ गतेको बैठकमै हामीले तत्काल लकडाउन गर्न पटक–पटक आग्रह गरेका थियौँ तर त्यसलाई गम्भीरतापूर्वक लिइएन', धितालले भने,' ढिला गरेर वैशाख ९ गते नेपालगञ्जमा मात्र निषेधाज्ञा लगाउने काम भयो। यतिबेलासम्म ढिला भइसकेको थियो।'

दोस्रो लहर शुरु भइसक्दा बाँकेमा मान्छेको आवतजावत भीडघाड रोक्न, भारतबाट आएकालाई जाँच गरेर मात्रै घर पठाउने काममा ढिलाई, अस्पतालमा कुरुवा वा आफन्तको भीडभाड, जो भित्र र बाहिरी गरिरहे, आफन्तबाट शव व्यवस्थापन र सबैभन्दा खतरनाक त पहिलो चरणको जस्तो सम्झिएर कोरोनालाई सामान्य रुपमा लिइदा वैशाखमा कोरोनाको सङ्क्रमण तीव्र रुपमा फैलिन पुगेको धितालको भनाइ छ।

बाँकेमा कोरोना भाइरस सङ्क्रमण रोकथामको लागि निषेधाज्ञा गरेको एक महिना वितेको छ। गत वैशाख ९ गतेदेखि जारी निषेधाज्ञालाई जिल्ला प्रशासन कार्यालय बाँकेले जेठ १७ गतेसम्म थप गरेको छ।

कोरोना सङ्क्रमणको दर घट्दै गएपनि जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जेठ १७ गते राती १२ बजेसम्म एकहप्ता थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। कोरोना सङ्क्रमणलाई शून्य अवस्थामा झार्न अत्यावश्यक सेवा बाहेक हिँडडुलमा समेत निषेध गरिएको छ। 

गाउँमै आइसोलेशन केन्द्र बनेपछि उपचारमा सहज

बाँकेका स्थानीय तहले गाउँ टोलमै धमाधम अक्सिजनसहितको आइसोलेशन केन्द्र बनाएपछि सङ्क्रमितलाई उपचारमा सहज भएको छ।

कोरोना सङ्क्रमित विरामीलाई तुरुन्तै सहजरुपमा स्वास्थ्यलाभको लागि स्थानीय तहले गाउँटोलमै आइसोलेशन केन्द्र बनाएका कारण उपचारमा सहज हुँदै गएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले बताए।

उनका अनुसार, नेपालगञ्जस्थित भेरी अस्पतालमा सङ्क्रमित विरामीको चाँप भएको अवस्थामा आइसोलेशन केन्द्रबाट विरामीले गाउँटोलमै सहज रुपमा सेवा पाइरहेका छन्। अक्सिजनसहितका आइसोलेशन वार्ड निर्माण भएकोले विरामीलाई अफ्ठेरो हुन पाएको छैन।

बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकाले ५० शय्याको आइसोलेशन वार्ड निर्माण गरेको छ। भेरी अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपमहानगरपालिकाले रामलीला मैदानस्थित नारी उत्थान केन्द्रको सभाहललाई अक्सिजनसहितको आइसोलेशन वार्ड बनाइएको नगरप्रमुख डा।धवलशमशेर राणाले बताए।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीका अनुसार, खजुरा गाउँपालिकाले खजुरास्थित जनक शिक्षा सामग्री केन्द्रमा ४० शय्याको आइसोलेशन सञ्चालनमा ल्याएको छ। बैजनाथ गाउँपालिकाले २१ शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ।

जानकी गाउँपालिकाले वडा नं। ६ गनापुरस्थित खुला कारागारलाई ५० शय्याको आइसोलेशन बनाएको छ। नरैनापुर गाउँपालिकाले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा २५ शय्याको आइसोलेशन सञ्चालनमा ल्याएको छ।

कोहलपुर नगरपालिकाले प्राकृतिक चिकित्सालय तथा योग केन्द्रलाई कोभिड आइसोलेशन बनाएको छ भने राप्तीसोनारी गाउँपालिकाले तीनवटा वडामा आइसोलेशन सञ्चालनमा ल्याएको छ।

गाउँटोलमै अक्सिजनसहितका आइसोलेसन स्थापना हुनुले सङ्क्रमितलाई जटिल स्वास्थ्य समस्या हुनबाट जोगाएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताए।

घरमै स्वास्थ्य सेवा पुगेपछि सङक्रमण र मृत्युदरमा कमी

बाँकेका स्थानीय तहले होम आइसोलेशनमा बसेका सङ्क्रमितहरुको आत्मबल बढाउन घरमै स्वास्थ्य सेवा पु-याउन थालेका कारण सङ्क्रमण र मृत्यु दर घटनमा सहयोग पुगेको छ। लक्षण नभएको र अस्पतालमा शय्या अभाव भएका कारण होम आइसोलेशनमा बस्न बाध्य सङ्क्रमितहरुको अवस्थालाई मध्यनजर गरी आत्मबल बढाउन घरमै स्वास्थ्य सेवा उपलब्ध गराइएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष प्रमोद रिजालले बताए।

बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई घरमै स्वास्थ्य सेवा पु-याएका छन्। नेपालगञ्जमा चिकित्सकीय परामर्शसहित स्वास्थ्यकर्मीको टोलीले घरमै स्वास्थ्य लाभ गरिरहेका सङ्क्रमित बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्न थालेका छन्।

भेरी अस्पतालका फिजिसियन डा।पारश श्रेष्ठ, मेडिकल कलेजमा कार्यरत नर्सिङ अधिकृत सुमन गिरीलगायतको स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमित बिरामीहरुको घरघरमै पुगेर उनीहरुको अवस्था बुझ्ने गरेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता रिजालले बताए।

उनका अनुसार सङ्क्रमित बिरामीहरुलाई स्वास्थ्य उपचार, परामर्शसँगै स्वास्थ्य सामाग्री, पल्स अक्सिमिटर, थर्ममिटरलगायत बितरण गरिएको छ। चिकित्सकसहितको टोलीले सङ्क्रमितको स्वास्थ्य जाँच गरी औषधी तथा एक्सरेलगायत अन्य परीक्षणको सिफारिस गरे वडा कार्यालयले निशुल्क उपलब्ध गराउनेछ।

सङ्क्रमितको घरमा पुगेर चिकित्सकसहितको टोलीले आवश्यक परामर्श तथा स्वास्थ्य जाँच गरेको छ। गम्भीर विरामीलाई सुविधा सम्पन्न अस्पतालमा रिफर तथा घरमै अक्सिजनको आवश्यकता भएमा वडा कार्यालयले अक्सिजन समेत व्यवस्थापन गरिदिने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले बताए।

कोहलपुर नगरपालिकाकाले पनि होमआइसोलेशनमा रहेका सङ्क्रमितलाई घरघरमै पुगेर स्वास्थ्य अवस्थावारे चासो व्यक्त गर्दै आएको छ। नगर प्रमुख लुटबहादुर रावतले नगरपालिकाले सञ्चालनमा ल्याएको कोभिड अस्थायी अस्पताल र घरैमा आइसोलेशनमा बसेका बिरामीलाई भेटेरै मनोबल बढाउने काम गरिएको बताए।

उनका अनुसार सङ्क्रमितहरुले बेलैमा उपचार पाए नपाएको वा उपचार क्रममा देखिएको समस्याका वारेमा पनि बिरामीसँग प्रत्यक्ष रुपमा बुझ्ने गरिएको छ। कोरोनाको सबैभन्दा ठूलो औषधि हिम्मत रहेकोले म जित्न सक्छु भन्ने आत्मविश्वास बढाउन सङ्क्रमितलाई सुझाव दिने गरिएको छ।

कोहलपुर नगरपालिकाले नगरवासीका लागि दुई वटा अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको छ। सङ्क्रमित अधिकांश होम आइसोलेशनमा रहेकोले बढी बिरामी भएकालाई मात्रै अस्पताल भर्ना गरेर अक्सिजनको व्यवस्था मिलाइएको कोहलपुर नगरपालिकाका कोरोना स्रोत व्यक्ति गेहराज खनालले जानकारी दिए।

बाँकेका २७३ को मृत्यु

बाँकेमा कोरोनाको दोस्रो लहर शुरु भएसँगै २१५ जनाले ज्यान गुमाएका छन् भने पहिलो र दोस्रो चरणको कोरोना महामारीका कारण बाँकेका कूल २७३ जनाको अकालमै मृत्यु भएको छ।

बाँकेमा अहिले तीन सय ९४ जना अस्पताल र एक हजार पाँच सय ५७ जना होम आइसोलेशनमा रहेका छन्। बाहिरी जिल्लाबाट उपचारकालागि बाँके आएका दुई सय ४० जनाको कोरोनाबाट मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। भेषराज बस्नेत/रासस

प्रकाशित मिति: : 2021-05-25 17:01:00

प्रतिकृया दिनुहोस्