लोकगायक खत्रीको लोक गीत ‘हतार भइसक्यो’ सार्वजनिक

विवाहको याम छोपेर लोकगायक विष्णु खत्रीले मौलिक पञ्चेबाजा गीत ‘मलाई हतार भइसक्यो’ बजारमा ल्याएका छन्। खत्रीको आफ्नै युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक भएको उक्त गीतको भिडियोले २० हजारभन्दा बढी भ्यूज बटुलिसकेको छ।

गीतमा गायक खत्रीका साथै रेनु रानामगरको स्वर छ। गीतको रचना र सङ्गीत पनि खत्रीकै रहेको छ। म्युजिक भिडियोमा कलाकार लोमस शर्मा, मेलिना थापालगायतको अभिनय देख्न पाइन्छ। भिडियोको निर्देशन दिलीप रेग्मीले गरेका छन्। मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्न पञ्चेबाजा गीत ल्याएको गायक खत्रीले बताए। गीतमा बागलुङको गलकोट, बडिगाडसहित छिमेकी मुसीकोट नगरपालिकाका सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको वर्णन छ। गीतको सवालजवाफमा स्थान विशेषलाई प्रतिकात्मकरूपमा उठान गरिएको छ।

माया, प्रेमको गीत भए पनि त्यसमा प्रयुक्त शब्द र भिडियोका दृश्यले पर्यटकीय ठाउँको प्रचार र प्रवद्र्धन हुने विश्वास लिइएको छ। दुई दशकदेखि नेपाली लोकसङ्गीतमा सक्रिय गायक खत्रीका यसअघि ‘जाउँला ढोरपाटन’लगायत दर्जनौँ पञ्चेबाजामा आधारित गीत सार्वजनिक भइसकेका छन्। नेपाली जनजीवनका सुख, दुःख र भोगाइलाई गीतमार्फत सजीव ढङ्गले उर्तान सफल गायक/सर्जक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चाहियो, कि सास चाहियो’, ‘जम्मु कश्मिरमा’लगायतका गीत धेरै रुचाइएका छन्। गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका गायक खत्री यसै साता राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपाल गण्डकी प्रदेशले प्रदान गर्ने नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कार, २०७८ बाट पुरस्कृत भएका थिए। 

प्रकाशित मिति: : 2021-12-09 15:02:00

प्रतिकृया दिनुहोस्