अभिनेता रणवीर सिंह यसरी बने कपिल देव

File Photo
File Photo

फिल्म ‘८३’मा अभिनेता रणवीर सिंह भारतीय क्रिकेटर कपिल देवको भूमिकामा देखिएका छन्। उनका लागि यो भूमिका निभाउन त्यति सजिलो थिएन। आफूलाई कपिल देव चरित्रमा उतार्नका लागि उनले झण्डै ६ महिनासम्म दैनिक चार घन्टा क्रिकेट खेल्नु परेको थियो।

निर्देशक कवीर खान निर्देशित यो फिल्मको हालै एक विशेष शो प्रदर्शन गरिएको थियो । जुन शोमा रणवीरको अभिनयको तारिफ भएको थियो।

रणवीरका अनुसार कपिलको बलिङ शैली निकै अनौठो किसिमको छ। उनका लागि कपिलको बायोमेकानिक्स पनि नौलो थियो। ‘मेरो शरीर कपिल देवको शरीरभन्दा फरक थियो। यस्तो अवस्थामा उनी जस्तो एक्सन हासिल गर्नका लागि मैले आफ्नो शरीरमा निकै परिवर्तन गर्नुपर्ने थियो। जसमा लामो समय लाग्यो। वास्तवमा परफेक्ट बलिङ गर्नकै लागि महिनौं समय लाग्यो’, रणवीरले भनेका छन्।

रणवीरले फिल्म ‘८३’को सुटिङ फिल्म ‘सिम्बा’को सुटिङ पूरा गरेपछि सुरु गरेका थिए। त्यो समयमा उनको शरीर निकै वजनदार थियो। उनलाई क्रिकेटको प्रशिक्षण दिने कोचले उनलाई ‘जब तिमी बलिङ गर्न आउँछौं, यस्तो लाग्छ कि कुनै पहलवान बलिङ गर्न आइरहेको छ’ सम्म भने।

त्यसपछि कोचले उनलाई एक महिनाका लागि बलिङबाट टाढा राखे। कोचले कपिलको जस्तै एथलेटिक शरीर बनाउने काममा लाग्न सुझाव दिएका थिए।

‘कपिल जस्तो एक्सन हासिल गर्न मैले दैनिक चार घन्टा क्रिकेटको अभ्यास गरें र यो काम करिब ६ महिनासम्म जारी राखें। चार महिनासम्म तयारीमा र दुई तीन महिना सुटिङको समयमा कैयौं घन्टा क्रिकेटमै बाँधिएँ। यो समयमा मलाई कैयौं चोट लाग्यो। तर मैले कपिलको जस्तो एक्सन पाउनु नै थियो’, उनले भनेका छन्।

प्रकाशित मिति: : 2021-12-22 12:37:00

प्रतिकृया दिनुहोस्