९३ वर्षीय खड्कबहादुरको दैनिकी: नगरी काम पुग्दैन खान

खड्कबहादुर आले मगर। जसका जीवनका १०० वर्ष पुग्न अब एक दशक पनि बाँकी छैन। उनी अहिले ९३ वर्ष भए। दारी छैनन्, उनका। अलि–अलि भएका जुँगा पनि फुलेर सेतै भइसकेका छन्। कपाल फुलेर सतै भएको धेरै भइसक्यो।

आँखा कमजोर भइसके। चस्माबिना बाहिरी संसार देख्न धौ हुन्छ, उनलाई। गाला मुजा परिसकेका छन्। अहिलेको जिन्दगी साँझ विहान औषधिकाे भरमा चलेको छ। नियमित औषधि सेवनले उनलाई तागत आएको छ। यस्तो अवस्थामा रहेका खड्कबहादुरका जिन्दगीका भने अनेकन किस्साहरु छन्।

जीवनको उत्तरार्धमा पुगेका उनी अहिले अरुको सहारामा बाँचेको हुनुपर्ने हो। तर, उनी अहिले पनि साँझ विहानको चुलो बाल्नका लागि दिनभर काममा खट्ने गर्छन्। दाङ घोराही उपमहानगरपालिका १४ स्थित वडा प्रहरी कार्यालय नजिकै बस्छन्, उनी। उनी बस्ने नजिकै छ ठूलो बरको रूख। जुन रूखले खड्कबहादुरलाई बस्नका लागि छहारी दिने गरेको छ।

त्यही छहारीमा बसेर दिनभर काम गर्छन्। उनी अब ठूला काम गर्न सक्ने अवस्थामा छैनन्। मात्र हातले गर्न सक्ने, बोक्न नपर्ने काम खुकुरीमा धार लगाउने, खुकुरी, चक्कमा वीड राखिदिने, बिग्रिएका प्रेसर कुकर बनाउने यस्तै–यस्तै हल्का काम गरेर अहिले उनको दैनिकी चलेको छ।

त्यस काममा सघाउने उनकी श्रीमती छन्। श्रीमतीको उम्मेर पनि उस्तै हो। छोरा–छाेरी छैनन्। घरबास छैन। अहिले कोठा भाडामा बसेर जिन्दगी चलिरहेको छ खड्कबहादुर र उनकी श्रीमतीको।

उनको केही छैन। जिन्दगीको सहारा कोही छैन। तर, दुःख मनाउन भने गर्दैनन्, खड्कबहादुर। ‘जीवन यस्तै हो बाबु, जे भगवानले दिएका छन् त्यही हुन्छ, त्यही गर्नु पर्छ,’ खुशी अनुहारमा भन्छन्, उनी।

उनले छोरा–छोरीको जन्म नभएको बताए। घर साविकको फूलबारी गाविस हाल तुलसीपुर उपमहानगरपालिका अन्तरगत पर्छ। तर, घरमा गर्ने कोही नभएपछि अलि–अलि भएको घरबास पनि बेचेर घोराही आएको उनले बताए।

‘कृषि काम गर्न धौ हुन्छ। घरमा गर्ने कोही भएनन्। छोराछोरी छैनन्,’ खड्कबहादुर भने, ‘फूलबारीमा अलि–अलि भएको घरबास पनि बचेर आएको हामी।’ ०७० सालतिर घोराही आएका उनी त्यस समयदेखि घोराहीमै बस्दै आएका छन्।

उनले घोराहीमा बस्दा कोठा भाडादेखि औषधि खर्चसम्म आफैँले जोहो गर्ने गरेको बताए। ‘काम गरेको अलि–अलि हुन्छ। यही कामबाट कोठाभाडा, दाल, चामल, तरकारी, औषधि खर्च जसोतसो भएको छ,’ उनले भने।

उनले महिनामा नियमित खाँदै गरेको औषधि र कोठाभाडा मात्र ४ हजार बढीको हुने गरेको बताए। खड्कहादुरले अझैसम्म सामाजिक सुरक्षा अन्तर्गत वृद्धभत्ता नलिएको र अब आउने महिनादेखि आफूले पनि वृद्धभत्ता लिने जानकारी दिए।

कागजपत्र नमिलेकाले आजसम्म वृद्धाभत्ता नपाएको उनले बताए। उनकी श्रीमतिले भने वृद्धाभत्ता लिने गरेकी छन्। कुनै राजनीतिक दल वा सरकारसँग गुनासो नगर्ने खड्कबहादुर अबको दिनमा पनि सक्ने काम गरेरै जीवन चलाउने आँटमा छन्।

चुनावको समयमा भोट हाल्ने गरेको बताउँदै अब आउने चुनावमा पनि भोट हाल्ने उनको योजना छ। ‘पहिले पनि भोट गरेको हुँ। अब पनि गर्ने दिन आउँदै छ। भोट गर्न जाने हो,’ उनले भने।

उमेर अनुसार काम गरेर जीवन चलाउँने खड्कबहादुर कला

उमेर अनुसार काम गरेको बताउँछन्, खड्कबहादुर। काम गर्नकै लागि भारतको कलकत्तासम्म पुगेका उनी सेक्युरिटी गार्डदेखि अहिले सामान्य खुकुरीमा धार लगाउने काम गर्ने अवस्थामा आइपुगेका छन्।

‘जब उमेर थियो नि त्यस समयमा भारतको कलकत्तामा सेक्युरिटी गार्डको काम गरे। त्यसपछि उमेर अलि बढी भयो नेपालका विभिन्न ठाउँमा फर्निचरको काम गरे। अब बूढो भए त्यस काम पनि सकेन,’ खड्कबहादुरले भने, ‘के गर्ने जे सक्यो त्यही गर्नुपर्यो। अहिले यही हो हातले बसेर गर्ने काम गर्छु।’

काम गर्न नसकेपछि घरबास पनि बेचेको बताउने उनले अरुलाई जीवनको उत्तरार्धमा पनि अझै कसैको सहयोग आवश्यक नपरेको आभास दिलाउँछन्। उनी भन्छन्,‘भोलिको दिन के हुन्छ बाबु, कसलाई के था र ? तर, आज त सक्ने काम गर्नुपर्यो नि हैन्त।’

प्रकाशित मिति: : 2021-12-28 18:25:00

प्रतिकृया दिनुहोस्