प्रहरीले खोल्यो ‘राष्ट्रिय अपराध सूचना केन्द्र’, अब सबै अपराधीका सूचना एकै ठाउँमा 

Breaknlinks
Breaknlinks

नेपाल प्रहरीले सूचना प्रविधिको प्रयोग गरी आफूसँग सम्बन्धित सूचना र जानकारीहरु व्यवस्थित गर्न नयाँ सफ्टवेयर प्रयोगमा ल्याएको छ।

प्रहरीले ‘राष्ट्रिय अपराध सूचना केन्द्र’ स्थापना गरी आफूलाई थप पारदर्शी बनाउन यस्तो ‘सफ्टवेयर’ निर्माण गरेको हो।

उक्त ‘सफ्टवेयर’ मा प्रहरीले गरेका कारवाहीबाहेक अन्य अर्धन्यायिक निकायबाट सजाय पाएका व्यक्तिहरुको सूचना पनि ‘राष्ट्रिय अपराध सूचना केन्द्र’ को एपमार्फत् उपलब्ध हुने भएको हो।

प्रहरीले प्रयोगमा ल्याएको उक्त सफ्टवेयरमा प्रहरीबाहेकका अर्धन्यायिक निकायहरू–जस्तै, प्रमुख जिल्ला अधिकारी, वन कार्यालय, राष्ट्रिय निकुञ्ज, सम्पत्ति शुद्धीकरण विभाग, राजश्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतले कारवाही गरेका व्यक्तिहरूको विवरण पनि ‘राष्ट्रिय अपराध सूचना केन्द्र’ बाट उपलब्ध हुनेछ।

नेपाल प्रहरीको कार्यायोजना, २०७७ अनुसार यो सफ्टवेयर निर्माण गरिएको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए।

‘हामीले प्रविधिमैत्री प्रहरी बनाउने अभियान थालेका छौँ’, प्रवक्ता एसएसपी कुँवरले भने, ‘यो सफ्टवेयर प्रयोगमा आएपछि सबै अपराधका सूचना एकै ठाउँमा पाइने छन् जसका कारण आगामी दिनमा एक निकायबाट सजाय भएका व्यक्तिले अर्को निकायबाट उम्कन सक्ने छैनन्।

नेपालमा अहिले प्रहरीबाहेक अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति सुद्धीकरण विभाग, राजश्व अनुसन्धान विभाग, राष्ट्रिय निकुञ्ज, वनलगायतका कार्यालयले कसुरअनुसार मुद्दा चलाउने र निर्णय सुनाउने गर्दैआएका छन्।

प्रहरीले चलाएका बाहेक मुद्दामा प्रहरीसँग अभिलेख हुँदैनथ्यो। त्यसैले वन कार्यालयबाट सजाय पाएको व्यक्तिले सहजै प्रहरीबाट पाउने सेवासुविधा आम नागरिकसरह लिइरहेको हुन्थ्यो तर अब यो सफ्टवेयर प्रयोगमा ल्याएपछि त्यो कार्य रोकिने आशा प्रहरीको छ।

प्रहरीले प्रयोगमा ल्याएको सफ्टवेयर सबै मुद्दा चल्ने निकायसँग ‘लिङ्क’ गराउने र सजाय पाएका व्यक्तिहरुको विवरण त्यहाँ राख्ने गरी समन्वय थालेको प्रवक्ता कुँवरले जानकारी दिए।
उक्त सफ्टवेयरको प्रयोगले अपराध नियन्त्रणसँगै प्रहरीको काम कारवाहीमा पनि सहज हुने प्रवक्ता कुँवरको दाबी छ।

‘वन, राजश्व तथा निकुञ्ज कार्यालयबाट सजाय पाएका व्यक्तिको विवरण हामीसँग हुँदैनथ्यो। प्रहरीले दिने चालचलन रिपोर्ट त्यस्ता व्यक्तिले सहजै पाउँथे, जुन कुरा हाम्रो अभिलेखमा भएपछि अब पाउँदैनन्’, प्रवक्ता कुँवरले भने, ‘यो सफ्टवेयरको फाइदा भनेकै सबै अपराधका सूचना एकै ठाउँमा पाउनु हो।’

प्रकाशित मिति: : 2021-12-27 18:10:00

प्रतिकृया दिनुहोस्