२३औं सडक महोत्सवको तयारीमा लेकसाइड

अंग्रेजी नयाँ वर्षको छेकोमा लेकसाइडमा ‘सडक महोत्सव’ हुँदैछ। कोरोना संक्रमणको जोखिमपछि अघिल्लो वर्ष रोकिएको ‘सडक महोत्सव’ यसपालि धुमधामका साथ गर्ने तयारी थालिएकाे छ। 

रेष्टुरेन्ट एण्ड बार एशोशियसन ‘रेबान’ले बाह्य मुलुकका आगन्तुकहरुलाई स्वदेशमै रहेको आभाष दिलाउने साथै पर्यटकीय गतिविधि पनि बढाउने उद्देश्यले सुरु गरेको सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। लेकसाइड अहिले सिँगारेर चिटिक्क पारिएको छ।

कोरोना महामारीबाट आक्रान्त व्यवासायी ‘सडक महोत्सव’ले कमजोर पर्यटन व्यवसाय माथि उठ्नेमा आशावादी छन्। २३औं सडक महोत्सवले पोखरेली पर्यटनलाई राहत पुर्याउने पर्यटन व्यवसायीहरुको अपेक्षा छ।

पर्यटन व्यवसायी निमबहादुर मगर नयाँ वर्षको संघारमा आयोजना हुन लागेको सडक महोत्सवले व्यवसाय सुधार हुनेमा आशावादी रहेको बताउँछन्।

‘हामी आशावादी नै छौं। अहिले आन्तरिक पर्यटन राम्रै आईरहेको छ,’ उनले भने, ‘यो नयाँ वर्षपछि भने बाह्य मुलुकको लागि पनि पर्यटनले नयाँ सन्देश दिने छ भन्नेमा हामी आशावादी छौं,’ उनले भने।

नेपाल राफ्टिङ एशोसियसन पर्यटन व्यवासायी संघको निर्वतमान अध्यक्ष समेत रहेका मगरले नयाँ वर्षपछि कोरोना भाइरसको नयाँ भेरियन्ट नफैलिएको अवस्थामा पर्यटनले गति लिनेमा विश्वस्त रहेको बताउँछन्।

‘युरोपियन मुलुकहरुमा त नयाँ भेरियन्टले समस्या नै मच्चाईरहेको छ। तर, नेपालमा चाहिँ त्यति असर नदेखिएको अवस्था छ,’ उनले भने, ‘यसमा राज्यको नीतिको पनि भरपर्छ। बाहिरबाट आई सकेपछि क्वारेन्टाइनमा बस्नु पर्याे। कति समय बस्ने क्वारेन्टाइन, १५, १६ दिनमै क्वारेन्टाइन राख्ने हो भने त पर्यटक आउँदैनन्। यदी, राज्यले अहिले जुन अवस्था छ त्यही अवस्था कायमै रहे, भ्याक्सिन लगाएकाहरु सहजै आउन पाए भने त २०२२ मा पक्कै पनि सहज हुनेमा हामी आशावादी छौं।’

पर्यटन व्यवसायी रेणु थापामगर ‘सडक महोत्सव’ पोखरेली पर्यटनलाई माथि उकास्ने ब्राण्ड रहेको बताउँछिन्।

‘यो महोत्सवले आन्तरिक मात्रै होइन, बाह्य मुलुकका पर्यटकहरुलाई पनि निकै तानेको छ। पर्यटकहरुका लागि यो महोत्सव निकै उत्साही बनेको हामीले ठानेका छौं। विदेशी मुलुकका नागरिकहरुले पनि नेपालमा बस्दा पनि हामी आफ्नो चाड मान्न सक्छौं, आफ्नै गाउँ ठाउँमा भएको जस्तो महसुस गर्न पाउँछौं भन्ने महसुस गर्छन्,’ उनले भनिन्। सडक महोत्सवको रेबानले आयोजना गर्ने भए पनि सबै पर्यटन व्यवसायी महोत्सव सफल पार्न हातेमालो गर्न लागि पर्ने उनको भनाई छ।

पर्यटन व्यवसायी महिला संघ नेपालको अध्यक्ष रहेकी थापाले नयाँ वर्षसँगै पर्यटकहरुको आगमन बढ्नेमा आशावादी रहेको सुनाइन्।

‘यति बेला हामीलाई मौसमले पनि निकै साथ दिईरहेको छ। हिमाल पनि खुलेको छ, कोरोनाले मान्छेहरु निकै आत्तिईरहेको अवस्थामा पोखरामा यस्ता खालका इभेन्ट आयोजना हुँदा हामी यो कोरोनाबाट रिफ्रेस हुन पनि जानुपर्छ भन्नेमा छन् पर्यटक,’ उनले भनिन्।

२३औं सडक महोत्सवले आन्तरिक पर्यटनमा पनि टेवा पुर्याउनेमा आशावादी रहेको उनको भनाई छ।

रेष्टुरेण्ट एण्ड बार एशोशियसनका अध्यक्ष लक्ष्मण बरालले सडक महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भईसकेको बताउँछन्। दोस्रो चरणको लकडाउनपछि पोखरामा उल्लेख्य मात्रामा आन्तरिक पर्यटकको बृद्धि भएको उनको भनाई छ।

‘पोखरामा पर्यटक बढाउनुपर्छ, न्यु इयर डेस्टिनेसन बनाउनुपर्छ भन्ने उद्देश्यले हामीले विगत २२ वर्षदेखि हामीले सडक महोत्सव आयोजना गर्दै आइरहेका छौं,’ उनले भने,‘यो महोत्सवको मुख्य उद्देश्य भनेको नै पर्यटनलाई प्रचारप्रसार गर्नु नै हो।’ आउँदो पुस १५ गते महोत्सवको भव्य समुद्घाटन गर्ने तयारीमा आफूहरु लागेको उनको भनाई छ।

बाह्य मुलुकमा कोरोनाको नयाँ भेरियन्टले समस्या दिईरहेको अवस्थामा बाह्य मुुलुकबाट तत्कालै पर्यटक आउनेमा आफूहरु आशावादी नरहेको उनको भनाई छ। नेपालमा खासै प्रभाव नदेखिएकाले आन्तरिक पर्यटकको आवागमन नरोकिनेमा आफूहरु आशावादी रहेको उनी बताउँछन्। यद्यपि, स्वास्थ्यको मामलामा सजग हुनुपर्ने उनको भनाई छ।

पोखरामा चार महिना यता आन्तरिक पर्यटकको आवागमन बढीरहेको उनले बताए। यही दरमा पर्यटक आईरहे व्यवसायी धानिन समस्या नपर्ने उनको भनाई छ।

‘गत वर्ष त हामीलाई हाम्रा व्यवसायी टिकाउन पनि गाह्रो परेको थियो। अहिले विगत चार महिलाई हेर्ने हो भने पोखरामा पनि पर्यटकीय गतिविधि बढाउने कार्यक्रमहरु भए, त्यसले पनि पर्यटक भित्र्याउन सहयोग गरिरहेको छ,’ उनले भने।

केही महिना यता पोखरेली पर्यटन चलायमान रहेको उनको भनाई छ। कलेज, स्कुलबाट विद्यार्थीहरु घुम्न आउने दर बढी रहेको उनले बताए। कोरोना महामारीका कारण धेरै व्यवसायी पलायन हुने अवस्थामा पुगे पनि टिकी रहेका व्यवसायी अब पर्यटनले गति लिनेमा आशावादी रहेको उनले सुनाए।

रेष्टुरेन्ट व्यवसायीहरु सानो संख्यामा रहेकाले कष्टकर तरिकाले टिकी रहे पनि होटल व्यवसायी र पर्यटन सम्बद्ध व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था पैदा भएको उनको भनाई छ। ४ महिनाको गतिविधि हेर्दा अब पलायन हुन पर्दैन कि भन्ने व्यवसायीमा आशा पलाएको उनले बताए।

व्यवसायीहरु चरम घाटाको अवस्थाबाट गुग्रिए पनि अब खर्च व्यवस्थापन गर्न सक्ने अवस्थामा व्यवसायी पुगेको उनले सुनाए। अब पनि लकडाउन भयो अथवा कोरोना महामारी फर्केर आए व्यवसायीहरु टिक्नै नसक्ने उनी बताउँछन्।

महोत्सव स्थलमा कोरोना महामारीको त्रास कायमै रहेकाले स्वास्थ्य सजगता कायम राख्न उनले आग्रह गरेका छन्। सकभर महोत्सव स्थलबाटै खोप नलगाएकाहरुलाई खोप लगाउने व्यवस्था गर्न पनि आफूहरु लागि परेको उनले बताए।

स्वास्थ्य सजगता अपनाउनका लागि स्वास्थ्यकर्मीहरुसँग छलफल पनि गरि रहेको उनले सुनाए। 

प्रकाशित मिति: : 2021-12-29 14:45:00

प्रतिकृया दिनुहोस्