माथि जीम सेन्टर, तल कक्षाकोठा

अनलाइनखबर

काठमाडौँ

मित्र आधारभूत विद्यालय, चाबहिलको साढे पाँच दशक लामो इतिहास छ । २०२२ सालमा ‘पाटी पाठशाला’का रुपमा स्थापना भएको यो स्कूलमा २०२५ सालदेखि २५ वर्ष गणेश मन्दिरको पाटीमा कक्षा १ देखि ३ सम्म पठनपाठन भयो । पूर्वप्रधानाध्यापक उद्धव भण्डारीका अनुसार पाटी जीर्ण हुँदै गएकाले २०५० मा सबै पक्षको सहमतिमा साविकको गाउँ पञ्चायतको भवनमा सारियो ।

विद्यालयमा कक्षाकोठाको दुःख सकिएको छैन । ईसीडीदेखि कक्षा आठसम्म सञ्चालन अनुमति पाएको विद्यालयले भवनको ६ वटा कोठा मात्र प्रयोग गर्न पाएको छ ।

पर्याप्त कक्षाकोठा नभएकै कारण बिहान र दिउँसो गरी दुई सिफ्ट पठनपाठन गराउनु परेको छ । बिहान ६, ७, ८ कक्षाका विद्यार्थीले पढ्छन् भने दिउँसो बाँकी कक्षाका विद्यार्थी । कोठाकै अभावमा गैरसरकारी संस्थाले दिएको ६ वटा कम्प्युटर प्रयोग गर्न सकिएको छैन भने किताबहरु बोरामा कोचेर राख्नु परेको छ । प्रधानाध्यापक उमा निरौलाले दुखेसो पोखिन्, ‘यसलाई छुट्टै कोठा बनाएर व्यवस्थित लाइब्रेरी बनाउन मन छ, तर विद्यार्थी पढ्नका लागि कक्षाकोठा पुगेको छैन ।

१७२ जना विद्यार्थी अध्ययनरत विद्यालयले कक्षाकोठाको अभाव झेलिरहँदा भवनको माथिल्लो तलामा भने जीम सेन्टर चलिरहेको छ । सदन स्मृति क्लबले सज्जन जीम सेन्टर चलाएको हो ।

प्रकाशित मिति: : 2021-12-30 16:03:00

प्रतिकृया दिनुहोस्