राष्ट्रियसभा निर्वाचन: आज उम्मेदवारी दर्ता, भाेलि उम्मेदवारविरुद्ध उजुरी

File Photo
File Photo

आगामी १२ माघका लागि तय भएकाे राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुँदैछ।

७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनका लागि बिहान १० बजेदेखि दिउँसाे ३ बजेसम्म उम्मेदवारी दर्ताकाे समय तोकिएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ। 

प्रदेश १ काे विराटनगर, २ काे जनकपुरधाम, बागमतीकाे हेटौँडा, गण्डकीकाे पोखरा, लुम्बिनीकाे घोराही, कर्णालीकाे वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा उम्मेदवारी दर्ता हुनेछ। 

भाेलि  उम्मेदवारविरुद्ध उजुरीकाे कार्यसूची छ भने २२-२३ पुसमा उजुरीमाथि छानबिन हुनेछ।

निर्वाचनमा भाग लिन १२ वटा दल आयोगमा दर्ता भएका छन्।

आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन्।

निर्वाचनका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुनेछ। सत्तागठबन्धनमा रहेका दलहरूकाे साेमबारकाे बैठकले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने सिटमा भागबन्डा गर्ने निर्णय गरिसकेकाे छ। 

राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबमा बिदा हुँदै छन्। २० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १९ जनाका लागि निर्वाचन हुनेछ।

प्रकाशित मिति: : 2022-01-04 07:13:00

प्रतिकृया दिनुहोस्