अपरेसन थिएटरभित्र चार घण्टा

अनलाइनखबर

शिव मुखिया

मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम भनी रेकर्ड सुनाइरहँदा मेरो छालाका छिद्रहरुबाट भने पसिना निस्किँदै थियो । म सुनिरहेको थिएँ, फूलचोकी आसपासमा हिँउ पर्न थाल्यो । रौसे शहरियाहरु हिँउ खेल्न पुगिसकेछन् ।

‘तपाईंको त पसिना आयो । कति डराउनुभएको ?’

मुस्लिम जस्ता देखिने महिला डाक्टरले यसो भनिरहँदा मलाई फ्याट्ट यसो भनौं जस्तो लागेको थियो, ‘तपाईं एकपटक यो बेडमा आएर सुत्नुहोस् त !’

जुन बेडमा मेरो ‘टपलेस ज्यान’ लम्पसार थियो, त्यसको माथितिर चहकिला लाइटहरु बालिएका थिए । छाती, औंला, पाखुराभरि यन्त्र जडान गरिएका थिए । मेरो मुटु, फोक्सो, मिर्गौलालाई कृत्रिम ढंगले चालमा राख्नका लागि उपकरणहरु तयारी अवस्थामा राखिएका थिए ।

नजिकै टुलमा कैंची, ब्लेडलगायत सर्जिकल औजार मिलाइँदै थियो । आधा दर्जन बढी चिकित्सक, नर्स यन्त्रवत् खटिएका थिए । यति नै बेला मैले देखें, अर्को ढोकाबाट औसत उचाइका, झरिलो–भरिलो व्यक्ति अनुहारमा मधुरता भर्दै मतर्फ अगाडि बढिरहेका । त्यो सौम्य अनुहारलाई मैले सजिलै ठम्याएँ, डा. अरुण केसी ।

प्रकाशित मिति: : 2022-01-08 10:51:00

प्रतिकृया दिनुहोस्