५० ग्राम ब्राउन सुगरसहित युवा पक्राउ

Symbolic photo
Symbolic photo

झापाको मेचीनगर–६ स्थित मेची भन्सार कार्यालय गेट अगाडिबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज दिउँसो एक युवा पक्राउ गरेको छ।

पाँचथर फागुनन्द गाउँपालिका–३ गुफाडाँडाका २६ वर्षीय राकेश तामाङलाई  प्रहरीले ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्दा उनको साथबाट प्लाष्टिकमा पोको पारिएको अवस्थामा ब्राउनसुगर बरामद गरेको थियो।

पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-08 19:52:00

प्रतिकृया दिनुहोस्