आज राष्ट्रिय एकता दिवस, थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

 

२७ पुस, २०७८, तदनुसार ११ जनवरी २०२२ मंगलबार। पौषशुक्लपक्ष नवमी तिथि, कौलब करण, अश्विनी नक्षत्र, सिद्ध योग, चन्द्रमा मेष राशिमा छ । आज सूर्योदय बिहान ६ः५८ मा भएकाे छ भने सूर्यास्त ५ः२६ मा हुनेछ।

आज राष्ट्रिय  एकता दिवस, पृथ्वीनारायण शाहको जन्मजयन्ती हो। आज बिहान ११ः५१ देखि १२ः३३ सम्मको समय अभिजित मुहर्त छ भने २ः बजेर ५० मिनेटदेखि ४ बजेर ०९ मिनेटसम्म राहुकाल छ।

आजका देवता कातिकेय, ग्रहदेव केतु हुन्। भनिन्छ, मंगलबारको दिन गणेश र हनुमानको आरधना गर्ने दिन हो। विध्नकर्ता गणेशको साधनाले सबै कार्यहरु सिद्ध हुन्छन भन्ने मान्यता रहेको छ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ आजको दिन चन्द्रमाको समेत साथ रहेकोले धनलाभ, स्वास्थ्यमा सुधार र विजय प्राप्त हुनेछ। शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक लाभ हुनेछ। आजको दिन तपाईंले बिहान सूर्योदयको दर्शन गरेर दिनको कार्य गर्नुभयो भने सफल हुनुहुनेछ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन अध्यन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउन सक्नेछ।  यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा सुरु गर्दा  पूर्व दिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला। सकारात्मक सोच, र कसैसँग विवाद हुने काम र कुरा नगर्दा राम्रो हुनेछ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : सोचअनुसारको कुनै नयाँ काम गर्न सक्नुहुनेछ। विगतमा रोकिएका र अप्ठारा कामसमेत समाधान हुँदैन जानेछन्। अर्थलाभ र अध्ययन अध्यापनमा समेत सफलता मिल्नेछ । कसैसँग वैरभाव नराख्नुहोला । विहान सूर्योदयको दर्शन गर्नुहोला।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईंका लागि आजको दिन अनुकल देखिन्छ। धन प्राप्तिको योग छ। नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ। कसैलाई दिनुभएको धन फिर्ता हुनेछ। सकारात्मक सोच राखेर बिहान सूर्योदयको दर्शन र गणेश मन्दिरको दर्शनले तपाईंको कार्य सिद्धि हुनेछ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : तपाईंले घर परिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला। लामो दूरीको यात्रा पनि नगर्दा बेस हुनेछ। स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययनअध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईंले विश्वास गरेको मित्रबाट धोका हुनसक्छ। मौन र आफनो काममा मात्र ध्यान दिनुहोला।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन तपाईंको दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ। मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मानसम्मानसमेत मिल्नेछ । तपाईंले गरेको कामको मान सम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ। तपाईंले केही कन्यालाई फलफूल उपहार दिनु भयो भने मनमा प्रशन्नता छाउनेछ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :आजको दिन समय त्यति अनुकुल देखिदैन। अनावश्यक यात्रा र अनावश्यक खर्च ब्ययभार बढ्ने छ। आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला। परिवारका सदस्यमासमेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिका जातकले कुनै पनि काम गर्दा ध्यान दिनुहोला।  सकारात्मक सोच र आत्मबलका लागि हनुमानको मन्दिरमा गएर दर्शन गर्नु उत्तम हुनेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन ब्यापारबाट लाभ हुनेछ। घरबाट बाहिर निस्कदा परिवारका सदस्यलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन कार्य सफलता मिल्नेछ। मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन्। सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ। 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :  तपाईंले गरिरहनु भएको काममा सफलता मिल्नेछ। तपाईंलाई साथ सहयोग दिने कुनै आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ। आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। शिवालयमा गएर केही फलहरु प्रदान गर्नुहोला।  

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ। आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ। तपाईंमाथि अनावश्यक आरोपपनि लाग्न सक्छ। त्यसैले आजको दिन नियमित काम बाहेक अन्य काममा त्यति ध्यान नदिनुहोला।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला। आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईंले सोचअनुसारको काममा कठिनाई हुनेछ। व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ। 

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला। मंगलबारका दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा छोरा वा छोरीलाई दिनुभयो भने घरका सदस्यहरु बीच सम्बन्ध सुमधुर हुनेछ। शिवालय र देवालय यात्राले मनमा हर्ष छाउने छ।  

प्रकाशित मिति: : 2022-01-11 08:31:00

प्रतिकृया दिनुहोस्