आत्महत्याका कारण अभिभावक गुमाएका परिवारलाई आर्थिक सहयोग 

आत्महत्या गरेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका (१) याम्खाका कर्णबहादुर मुग्रातीको परिवारलाई आर्थिक सहयोग जुटाइएको छ।

कर्णबहादुर गत १४ मंसिरमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि विचल्नीमा परेका उनका वृद्ध आमा बुबा, श्रीमती र चार छोराछोरीको सहयोगार्थ अभियान्ता सञ्जयकुमार राईको पहलमा ४१ हजार ७३१ रुपैयाँ जुटाइएको हो। 

कर्णबहादुरको काजक्रिया गर्न तथा बालबच्चाको लालनपालनमा सहयोग पुर्‍याउने लक्ष्यका साथ १० जना दाताबाट संकलन गरिएको रकम शुक्रबार नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल र नेपाली कांग्रेसका सचिव ज्ञानेन्द्र जोशीले मृतक परिवारलाई हस्तान्तरण गरेका छन्।

मुग्राती परिवारको आर्थिक अवस्था नाजुक भएकाले सहयोगी दाताबाट संकलन गरेर आर्थिक सहयोग प्रदान गरिएको अभियान्ता राईले बताए। 

अभियान्ता राईको पहलमा मुग्राती परिवारलाई सहयोग जुटाइएको यो दोश्रो चरण हो। आवश्यकताअनुसार मुग्राती परिवारको सहयोगमा सहयोग अभियान सञ्चालन गरिने राईले बताए।

मुग्राती दम्पत्तीका तीन छोरा र दुई छोरीमध्ये १८ वर्ष पुगेकी जेठी छोरीको विवाह भइसकेको छ। उनका वृद्ध बुबा प्रेसरको समस्याबाट पीडित छन् भने आमा आँखा नदेख्ने अवस्थामा छन्। 


 

प्रकाशित मिति: : 2022-01-11 15:58:00

प्रतिकृया दिनुहोस्