कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३० स्वास्थ्यकर्मीमा कोरोना

File Photo
File Photo

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ अस्पतालका निर्देशक डा. राजीव शाहसहित ३० जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाका अनुसार स्वास्थ्यकर्मी र कर्मचारी गरी अहिले ५२ जनालाई संक्रमण भइसकेको छ। मेडिकल रेकर्डर बुढाका अनुसार लक्षण देखिएका स्वास्थ्यकर्मीलाई परीक्षण गराउने तर अन्यलाई नगराउने गरिएको छ। सबैलाई परीक्षण गराउने हो भने अस्पताल नै प्रभावित हुने हुँदा सतर्कता अपनाइएको हो। प्रतिष्ठानले गरेको पीसीआरबाट १५ जना र एन्टिजेनबाट ३७ जनामा कोरोना देखिएको हो।

कोरोनाको तेस्रो लहरयता एक सय सात जनामा कोरोना परीक्षण गरिएको थियो। जसमा एन्टिजेनबाट ९० जना र पीसीआरबाट १७ जनामा परीक्षण गरिएको बताइएको छ। त्यस्तै प्रतिष्ठानको आइसोलेशनमा चार जना व्यक्ति उपचाररत छन्।

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले  स्वाथ्यकर्मीको अवस्था बुझी तत्काल  विपद् व्यवस्थापन समितिको बैठक बस्ने बताइन्। उनले स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको अबस्थामा स्वास्थ्य सेवा नै  प्रभाबित हुने हुँदा उनीहरूको अवस्था बुझ्ने बताइन्।

जुम्लामा पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको थियो। यसमध्ये चार सय ६३ जनामा संक्रमण देखिएको थियो। उस्तै दोस्रो लहरमा तीन हजार आठ सय २१ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय २४ जनामा संक्रमण देखिएको थियो। जुम्लामा हालसम्म कोरोनाका कारण २३ जनाको मृत्यु भएको जनस्वास्थ्यको तथ्यांक छ। जिल्लामा ५० हजार नौ सय ८५ जनाले कोभिडविरुद्धको पहिलो डोज खोप लगाएका छन्। पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ जना छन्। 

प्रकाशित मिति: : 2022-01-23 14:43:00

प्रतिकृया दिनुहोस्