लुम्बिनीमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, ४ मतदानस्थलको व्यवस्था

File Photo
File Photo

भोलि (बुधबार) हुने लागेको राष्ट्रियसभा निर्वाचनको दाङमा तयारी पूरा भएको छ। लुम्बिनी प्रदेशबाट तीन सिटका लागि हुन लागेको निर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको छ।

मतदान स्थलमा सबै तयारी पूरा भएको र विहान ९ बजेबाट मतदान सुरु हुने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ। कार्यालयका अनुसार ४ वटा मतदान स्थल निर्माण गरेर मतदानको व्यवस्था मिलाइएको छ।

आगामी फागुन २० गते १९ जना राष्ट्रियसभा सदस्यको कार्यकाल सकिँदै छ। जसमा लुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको ४ बर्षे कार्यकाल सकिन लागेको छ।

यी तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उमेदवारबीच प्रतिस्पर्धा हुँदैछ। जसअनुसार गठबन्धनबाट नेपाली कांग्रेस बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार रहेका छन्।

एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार रहेका छन्। लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ जना गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ निर्धारण गरिएको छ। प्रदेश सांसदको मतभार ३ हजार आठ सय ८८ र स्थानिय तहका प्रमुख र उपप्रमुखको मतभार ३ हजार आठ सय ७० रहेको छ। भोलि बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ।

आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो। सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ।

प्रकाशित मिति: : 2022-01-25 19:43:00

प्रतिकृया दिनुहोस्