फेवाताल जोगाउन महानगरलाई ठाडो चुनौती, मापदण्ड मिचेर धमाधम संरचना विस्तार !

फोटो: रामबहादुर पौडेल
फोटो: रामबहादुर पौडेल

पोखरा महानगरपालिका– १८ खपौदीस्थित फेवाताल छेउ मापदण्ड विपरित धमाधम संरचना विस्तार गरिएको छ। ६५ मिटर मापदण्डभित्र पर्खाल लगाउने काम अहिले भईरहेको छ।

तालको मापदण्ड मिचिएर क्षेत्रफल खुम्चिदै आएपछि ६५ मिटर मापदण्ड तोकिए पनि विभिन्न बहानामा ताल मिच्ने काम हुँदै आएको छ। यसअघि महानगरले पटकपटक रोक्ने चेतावनी दिई सकेको उक्त जग्गामा पुन संरचना विस्तारको काम हुँदै आएको हो।

गएको वैशाखमा सोही ठाउँमा बनाइएको पर्खाल भत्काउन पोखरा महानगरले ठूलो सुरक्षा दलबलसहित लागे पनि पर्खाल भने भत्काएको थिएन। पर्खाल छेउछाउको केही भाग खोस्रेर महानगरको डोजर फिर्ता आएको थियो। पर्खाल बनाउने क्रममा पटकपटक भत्काउने र नबनाउने चेतावनी महानगरले दिदै आए पनि खुलेआम अतिक्रमणको सिलसिला भने अझैं रोकिएको छैन।

जग्गा धनी सेतु आचार्यको नाममा रहे पनि उक्त जग्गा तालको मापदण्डभित्र पर्छ। ताल अतिक्रमण गर्ने मनशाय नभई ताल छेउलाई सौन्र्दयीकरण गर्ने उद्देश्यले पर्खाल लगाउन लागेको त्यतिबेला जग्गाधनीका छोरा विजयराज आचार्यले प्रतिक्रिया दिएका थिए।

यद्यपि, सौन्दर्यीकरणको नाममा हाकाहाकी फेवाताल मापदण्डभित्र संरचना बिस्तार भईरहँदा पोखरा महानगर भने निरिह बनेर हेरिरहेको छ। अहिले ताल छेउमा बनेको उक्त संरचना रेष्टुरेष्टले प्रयोग गरिरहेको छ।

फेवताल नक्सांकन समितिले सार्वजनिक गरेको नयाँ क्षेत्रफलअनुसार फेवातालको पछिल्लो क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी छ। मानवीय अतिक्रमणको चपेटामा परेर खुम्चिदै आएको फेवाताल जोगाउन साथै मापदण्ड कार्यान्वयन गर्न सर्वोच्चले तीनै तहका सरकारलाई आदेश दिए पनि मापदण्ड पालन गराउन तीन तहका सरकार उदासिन देखिएका छन्।

पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीलाई यसबारे प्रश्न गर्दा फेवातालको जग्गा मिच्नेलाई कारबाही गर्ने बताए। ‘एकपटक गर्नेलाई चेतावनी दिने हो। अब सिध्ने एक्सनमा जाने,’ उनले भने।

एक साताअघि मात्रै पोखरा– १७ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा मापदण्ड अध्ययन कार्यदल बनाएको छ।

प्रकाशित मिति: : 2022-01-29 19:03:00

प्रतिकृया दिनुहोस्