बल्झिरहेका विपद्का आला घाउ

गत कात्तिक महिनाको पहिलो साता जुम्ली नागरिक दसैंलाई बिदाइ गरी तिहारको स्वागतमा जुटेका थिए। मार्सी फाँटमा लहलह झुलेका धानको त्यो सुन्दरता, वर्षभरिको दुःख बिर्सेर घरमा मार्सी भित्र्याएर भोक मेट्ने किसानको त्यो मिठो चाहना, अनि पाटन तथा खर्कबाट बेंसी झारिएका भेडीगोठ र भैंसी गोठहरूले वर्षा सकिएर हिउँद लाग्ने संकेत गरिरहेका थिए।

कात्तिक महिना लाग्नासाथ वर्षा हुन छोड्छ। यहाँका किसानलाई सिमी, मकै, धान, कोदोलगायतका बाली भित्र्याउने र हिउँदभरि गाईवस्तुलाई पुग्ने घाँस काट्ने चटारो सुरु हुन्छ। तर, यो वर्ष प्रकृतिले पनि आफ्नो कर्म भुल्यो। १ कात्तिकबाट जुम्लामा भारी वर्षा सुरु भयो। ठाउँठाउँमा पहिरो जान थाल्यो, काटेर सुकाएका घाँस पानीले कुहियो।

रेडियोहरूमा प्रसारण हुने विपद्का सूचना र समाचारले सजग हुन प्रेरित गरिरहेका थिए। मानवीय क्षति नहोस् भन्नका लागि काम छोडेर घरभित्रै बस्न थाले भेरीखोलाका नागरिक। खोलानालामा आवतजावत पनि बन्द भयो। विगतमा भेरीखोलामा बाढी र पहिरोले सामान्य असर गथ्र्यो। योपटकको वर्षाले पनि ठूलो क्षति नहुने विश्वासमा थिए, किसानहरू।

प्रकाशित मिति: : 2022-02-03 10:47:00

प्रतिकृया दिनुहोस्