रापती नदीले 'गाउँ छाडेर नजा' भनिरहेकाे थियाे, मलाई समुद्रपारि पुग्नु थियाे

शिलापत्र

काठमाडौँ

२० सेप्टेम्बर, १९८६

रातभरि वर्षा पिएर रापती नदी बढेर मात्तिएको थियो। मानौँ, वर्षा र रापतीलाई म सोभियत संघ जाँदै छु भन्ने थाहा छ र उनीहरूलाई मेरो बाटो छेक्नु छ। रापती मलाई गाउँ छोडेर नजा भनिरहेछ।

मेरो बढ्दो उमेर थियो। कलिलो अनुहारमा दाह्रीजुँगा दिनदिनै बढ्दै र बाक्लिँदै थिए। मेरा सपना र कल्पना पनि बढ्दै र बाक्लिँदै थिए । बाक्लिँदै गएको सपनालाई अग्लो पनि बनाउन म विदेश पढ्न जाँदै थिएँ । त्यो पनि संसारको सबैभन्दा ठूलो देशमा।

त्यो बेलाको शक्तिशाली देश सोभियत संघमा उच्च शिक्षा अध्ययनका लागि शिक्षा मन्त्रालयमा दिएको छात्रवृत्तिको आवेदन स्वीकृत भइसकेको थियो। इन्जिनियरिङ पढिरहेको एक युवालाई त्यही विषयमा विदेशमा उच्च शिक्षा पाउनु, त्यो पनि महाशक्ति राष्ट्रको कुनै विश्वविद्यालयमा– त्यहाँभन्दा खुसीको कुरा के हुन सक्छ एक गाउँले किसानको छोरालाई ? यही खुसी बोकेर म दुई दिनअघि घर आएको थिएँ। मैले रुसमा छात्रवृत्ति पाएको खबर सुनेर घर गुलजार भयो। आफन्त र छिमेकी पनि छक्क परे। दुई दिनमै जाने कुराले आमाका आँखा रसाए। तर, त्यो आँसु मेरो सपनाले सुकाउन खोज्दै थियो।

दुई दिनअघिको सामान्य रापती कसरी असामान्य भयो ? असमयमा परेको पानीले असमेल बाढी ल्याइदियो। किनारमा बसेर बाढी हेर्दै गाउँलेहरू छक्क पर्दै थिए। बुढापाकाहरू भन्न थाले, 'रापती यसरी कहिल्यै बहुलाएको थिएन।'

प्रकाशित मिति: : 2022-02-07 13:12:00

प्रतिकृया दिनुहोस्