अर्घाखाँची हवाई दुर्घटनाको आठ वर्ष: जसले डा. विकल्पलगायत प्रभुत्व व्यक्तित्वले ज्यान गुमाउनुपर्‍यो

'त्यो घटनापछि हामीले कर्णालीको हालखबर सुन्न पाएनौं। बाबु त्यहाँ स्वास्थ्य अवस्था निकै कमजोर भएको कुरा सुनाइरहन्थे,'डा.विकल्पका बुबा विनोदले भने,'हामीले विकल्प प्रतिष्ठान भनेर दर्ता गरेका छौं। उसैको नामबाट भूकम्प गएको बेला सिन्धुपाल्चोकमा केही सहयोग गर्न भनी गएका थियौं। गएको वर्ष सिराहमा दुई दिनको हेल्थ क्याम्प गरेका गर्‍यौं। कसरी हुन्छ बाबुलाई सम्झिरहन चाहन्छौं।'

उनले विकल्प बित्ने वित्तकै उनको नामबाट कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुरु भएको पीसीएल निर्सिङ पढ्ने छात्रालाई छात्रवृत्ति दिन आग्रह पनि गरेको र त्यो के विषयमा के भयो भनेर थाहा नभएको बताए। उनले थपे,'तर बाबुले सुरुमा सेवा गरेको अस्पतालमा अहिले डाक्टरी पढाइ हुनथालेको समाचार सुन्दा निकै खुसी लाग्ने गरेको छ। हामीलाई यो भन्दा ठूलो सन्तुष्टि के होला र?'

नरेश भण्डारी प्रतिष्ठान 'मेरो ड्रिम हो' भन्दै डाक्टरहरुको हौसला बढाउँथे। त्यस बेलाका पदाधिकारीहरुलाई उत्साहित गर्थे। 'उहाँकै रिक्वोस्टमा हामी कर्णाली पुगेका थियौं। सबैले विश्वास गरेकै कारण त्यहाँ मेडिकल कलेजको जग बसेको थियो,' तत्कालीन निर्देशन डा.जावेद अहमद खानले भने,'स्वास्थ्य र अर्थ मन्त्रालयका मान्छेहरु हामीलाई बौलाएका छौं कि क्या हो? भन्थे। हामीलाई थाहा थियो राज्यको लगानी बढी लाग्ला तर कर्णालीमा प्रतिष्ठान सम्भव हुन्छ भनेर।'

त्यही उत्साहकै कारण विशेषज्ञ डा. विकल्पसहित सात जना मेडिकल अफिसर नियुक्ति गरिएको थियो। विशेषज्ञको रुपमा विकल्प भएपछि मेडिसिन, एपेन्डिक्स, पेटमा आन्द्रा बटारिएको, सिजरियन सेक्सन लगायत ठूला साना सबै अप्रेसनको लागि टन्टै साफ भएको थियो। खानले आफ्नो बसाइ विकल्पसँगै भएको बताउँदै भने, 'साह्रै सज्जन मान्छे हुनुहुन्थ्यो। उहाँजस्तो मान्छे मैले भेटेकै छैन। साह्रै कोअप्रेटिभ डाक्टर हुनुहुन्थ्यो।'

त्यसबेला जति डा. विकल्पले सेवा गरे त्यसको अरुसँग तुलना हुनै नसक्ने तत्कालीन रजिस्ट्रार प्रा.डा.श्याम लम्सालले बताए। 'हामी पदाधिकारीको कुरा नगरे हुन्छ। किनभने हामीलाई सरकारले खटाएकै त्यसैका लागि थियो। हामीले राज्यको सेवा सुविधा उपभोग गरेका थियौं त्यसैले काम गरेका छौं भनेर धाक लगाउनु जरुरी छैन,' उनले भने, 'काठमाडौंमा पाइरहेको सेवा सुविधा त्यागेर जुम्लामा गएर सेवा गर्न पुग्नु सानो कुरा होइन। त्यो काम विकल्पले गर्नुभयो।'

उनका अनुसार डा. विकल्पसँगै नियुक्त गरिएका पुराना जति कर्मचारी र चिकित्सक छन्, उनीहरु सबैलाई सोध्दा विकल्पलाई नराम्रो भन्ने मान्छे भेटिदैन। अहिले कतिले कर्णालीको जागिर खाएर काठमाडौं बसेर तलब खाइरहेका छन्। तर, डा. विकल्प फुल टाइम काम गरेका एक्ला डाक्टर हुन्।

त्यसबेला विरामीको थप उपचारका लागि उपकरण चलाउन जरुरी थियो। इन्डोसकपी मेसिन संचालनमा ल्याउनका लागि डा. विकल्प तालिम लिन काठमाडौं गएका थिए। तालिम सकाएर फर्किनेबेला उनको निधन भयो।

त्यो घटनामा डा. विकल्पसहित नेपाली कांग्रेस जुम्लाका सभापति मानव सेजुवाल, पत्रकार महासंघकी केन्द्रीय सदस्य गौरी कठायत, कृषि विकास बैंकका प्रबन्धक राजन देवकोटालगायत अन्य प्रभुत्व व्यक्तिको निधन भयो। सिंगो कर्णाली शाेकमा डुब्यो। विकल्पको परिवारले शाेकमग्न कर्णालीलाई हेरि चित्त बुझायो।

डा. विकल्प बितेपछि उनीजस्तै अर्का डाक्टर चाहिने थिए। त्यसपछि डा. निरेश थापा आए। उनले पनि विकल्पको जस्तै काम गरेको रजिस्ट्रार लम्सालको बुझाइ छ। उनले थपे,'त्यो प्रतिष्ठानका एक्ला कमाण्डर निरेश पनि हुन्। त्यसपछि डा. पुजन, डा. सूर्यमान र डा. प्रविण बिर्सियो भने कर्णाली प्रतिष्ठानको इतिहास अधुरो हुन्छ। विकल्प र निरेशको अमूल्य योगदान छ।'

शव पोष्टमाटम र हात भाचिएको बेला नेपालगञ्ज जानुपर्ने बाध्यात्मक परिस्थितिमा विकल्प र उनी पछिका चार जना विशेषज्ञ डाक्टरले गरेको सेवाको वर्णन जति गरे पनि कम हुने उनले बताए।

त्यही जगमा अहिले जुम्ला बजारको भीडमा ठोकिने १० जनामा एक जना डाक्टर भेटिन्छन्। तर, कर्णालीको डोल्पा र हुम्लामा डा. अझै पनि महंगो हुन गएको तत्कालीन उपकुलपति डा. पारस आचार्यले बताए।

'भाषा, लवज बुझ्न कति कठिन थियो ? केही समस्या आउने बित्तिकै अञ्चल अस्पताल ठिक थियो भन्नेहरु थिए,' उनले भने,'हरेक दिन असन्तुष्टिका स्वरहरु सुनिन्थे। तर, डा. विकल्पको सेवाबाट असन्तुष्ट मान्छे कहिले भेटिएन।'

कर्णालीबाट डा. विकल्पलाई प्रस्ताव आउँदा घरमा खुसियाली छाएको उनका भाइ संकल्प पोखरेलले बताए। 'दाइलाई कर्णालीबाट प्रस्ताव आएको खबर घरसम्म पुग्दा किन नजाने त? भन्नेर सल्लाह भएको थियो,' उनले भने, 'तर जब दाइ बाटोमै वितेको खबर सुन्यौं, त्यो जिन्दगीको सबैभन्दा दुःखद क्षण बनिदियो। कर्णालीले हामीलाई खुसी पनि दियो। कहिले निको नहुने घाउ पनि लगाइदियो।'

भाइ संकल्प आर्किटेक्चर इन्जिनियर भएको हुनाले डा. विकल्प कर्णालीको निर्माण संरचनाको विषयमा उनीसँग छलफल गर्थे। उनले भने,'ठूलो भवन बन्नु भन्दा पहिलाका भवनको विषयमा कुरा भएको थियो।'

उनी इन्डोसकपी मेसिनको ट्रेनिङ सकिएपछि तत्काल फर्किनुपर्ने थियो। त्यहीबेला बाजुरामा दुई वर्ष सँगै काम गरेको एक जना डेनिस डाक्टर थिए। उता गएपछि काम पाएको खुसी साँट् र विकल्पलाई धन्यवाद दिनकै लागि नेपाल आएका थिए। डेनिस डाक्टरसँग डा. विकल्पको भेट नै अन्तिम भयो।

त्यो भेट ती डेनिस डाक्टरका लागि मात्रै अन्तिम भएन। सबैका लागि अन्तिम भयो। त्यसैले आज पनि उनकी आमा अञ्जु पोखरेल जुनसुकै अस्पतालमा जाँदा छोरा सम्झिन्छन्। उनका आँखा रसाइहाल्छन्। उसो त डा. विकल्पलाई सम्झिने जोसुकै एकछिन मौन हुन्छ र मनमनै डा. विकल्पलाई श्रद्धाञ्जली दिन्छ।

प्रकाशित मिति: : 2022-02-16 17:10:00

प्रतिकृया दिनुहोस्