फलोअप

जातीय विभेदको घटनापछि गाउँ छाडेर भागे वडाध्यक्षका बाबु-छोरा, रमिते बन्यो प्रहरी

जाहेरीपछि धम्काउन त छाडे तर राज्यले न्याय गर्न सकेन: जनकबहादुर विश्वकर्मा

कमल प्रभात

काठमाडौं

जनताका प्रतिनिधि जनप्रतिनिधि अर्थात् जनताका अभिभावक।
तिनै अभिभावक भनिएका जनप्रतिनिधिको संलग्नतामा ‘दलित’को छातीमाथि मुक्का प्रहार हुँदासमेत राज्यका सुरक्षा निकाय मुखदर्शक बनेका छन्।

घटना हो, सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ८ को।

गत असार १७ गते रक्सी सेवन गरेर डुङ्डुङ्ती गन्हाउँदै आएका सोही वडाका अध्यक्ष श्याम थापाका छोरा हिमाल थापाले डाँडाचौरी निवासी जनकबहादुर विश्वकर्माको गालामा दुई झापड हाने र छातीमा एक मुक्का प्रहार गरेका थिए। त्यस क्रममा जनक ढलेका थिए।

रक्सीले मातेर अश्लील शब्द प्रयोग गर्दै ‘दलितहरु जान्ने पल्टेको सह्य नहुने’ भन्दै घरमा आर्ने (आरानकाे काम) काम गरिरहेका जनकलाई कुटपिट गरेका थिए, हिमालले। त्यस क्रममा हिमालको उस्कहाटमा लागेर सिंगो गाउँका गैरदलितहरुले जनकसँगै उनकी बुहारी र नातीहरुमाथि घार–मुङ्ग्रा प्रहार गरेर घाइते बनाएका थियो।

घटनापछि विवाद मिलाउने भन्दै गाउँ पसेका इलाका प्रहरी कार्यालय, केश्वरगञ्जका प्रहरीले रक्सीले मातिएका वडाध्यक्षका छोरा हिमाललाई पक्राउ गर्नुको साटो विश्वकर्मा परिवारका ६ जनालाई कठालोमा समातेर लग्यो। रातभर त चिसो खोरमा थुन्यो।

त्यसपछि डरले एक महिनासम्म चुप लागेर बसेको विश्वकर्मा परिवारमाथि अध्यक्षले निरन्तर धम्काउनेदेखि सेवा सुविधाबाट बञ्चित गराउनेसम्मका काम गरे। त्यसपछि दलित अधिकारकर्मीहरुको सहायतामा इलाका प्रहरी कार्यालय पुगेको विश्वकर्मा परिवारको जाहेरी प्रहरीले लिन मानेको थिएन।

राष्ट्रिय दलित आयोगसँगै दलित अधिकारकर्मी, पत्रकार र राजनीतिज्ञकाे दबाबपछि जेनतेन दुई दिनपछि साउन २३ गते जाहेरी लिए दर्ता गर्न मानेको इलाका प्रहरी कार्यालयले ११ दिनसम्म पनि कुनै कदम चालेको छैन।

प्रहरीले पक्राउ गर्नु त परको कुरा वडाध्यक्ष र उनका छोरालाई सामान्य सोधपुच्छसमेत गरेको छैन। जातीय विभेदजस्तो जघन्य अपराधको मुद्दामा प्रहरी मुखदर्शक बनेको छ।

‘जाहेरी दर्ता भएको ११ दिन भइसक्दा अनुसन्धान कहाँ पुर्याउनु भयो ?’ भन्ने प्रश्न गर्दा जाहेरी लिने इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रमुख इस्पेक्टर लक्ष्मण केसी भने, ‘केही भएको छैन।’

उनको भनाइअनुसार वडाध्यक्ष श्याम थापा र उनका छोरा हिमाल फरार छन्। उनीहरु भागेर कहाँ गए? प्रहरीलाई सबै थाहा छ तर प्रहरीमा न त खोज्ने जाँगर छ, न त पक्राउ गर्ने।

इस्पेक्टर केसी आफैँ भन्छन्, ‘वडाध्यक्षज्यू काठमाडौँ जानुभएको छ भन्ने सुनेको छु।’

त्यसो भए किन पक्राउ नगरको त?

इस्पेक्टर केसी भन्छन्, ‘अनुसन्धान जारी छ।’

जाहेरी दर्ता भएको ९ दिनसम्म पनि केशरगञ्ज प्रहरीले सिन्को भाँच्न नसकेपछि विश्वकर्मा परिवार बुधबार जिल्ला प्रहरी कार्यालय पुगेको थियो। तर, त्यहाँबाट पनि आश्वासन दिनेबाहेक अरु कुनै काम हुन सकेको छैन।

प्रहरीले नै गाउँ छाडेर काठमाडौँ ‘भागे’ भनेका वडाध्यक्ष श्याम थापा भने बिएल नेपाली सेवाको सम्पर्कमा भने सहजै आए। वडाध्यक्ष थापाले बिरामी भएकोले उपचारको लागि काठमाडौँ रहेको र अहिले पुरानो बानेश्वरमा बसेर उपचार गराइरहेको बताए।

वडाध्यक्ष थापासँगको कुराकानी:

तपाईं गाउँमा जातीय विभेद गरेर भाग्नुभएको हो?

कसले भन्यो म भागेँ भनेर? म बिरामी भएर काठमाडौँ आएको छु।

तपाईंविरुद्ध जातीय विभेद गरेको आरोपमा जाहेरी परेको थियो, त्यसपछि प्रहरीले तपाईंलाई खोज्दाखोज्दा पनि भेटेन रे?

ए, त्यो कुरा, मैले त मिलाम् भनेको हो। उनीहरु पनि गाउँका मान्छे हुन्, पछि काम लाग्न सक्छ। सुख दुखमा मैले साथ दिएको थिएँ।

तपाईंले जातीय विभेदजस्तो जघन्य अपराध गर्नुभएको छ, अब त तपाईंले कानुनी कारबाही भोग्नुपर्ला नि?

त्यसो भए अब के गरेर मिलाउने त?

जाहेर दर्ता भइसकेको छ, तपाईं प्रहरीमा उपस्थित पार्ला नि।

प्रहरीमा त किन जाने र? कुरा मिलाए भयो त।

तपाईंलाई के भएको हो?

सुगर लागेको छ।

कहाँ उपचार गराउनुभएको छ?

मध्यबानेश्र

*फोन काटियो

यसरी हामीसँग प्रत्यक्ष टेलिफोन कुराकानी गरेका वडाध्यक्षलाई प्रहरीले भेट्नै सकिएन भन्नु आफैँमा आश्चर्यजनक कुरामात्रै नभएर प्रहरीको नियतमाथि नै गम्भीर प्रश्न खडा हुनु हो।

यसको अर्थ प्रहरीले यस घटनाको अनुसन्धानमा कुनै जाँगर नै नगरेको स्पष्ट रुपमा बुझ्न सकिन्छ।

स्थानीयका अनुसार वडाध्यक्षका छोरा हिमाल लुकीछिपी गाउँमै बसेका छन्। तर, प्रहरी देख्दैनन्।

घटनाबारे प्रत्यक्ष जानकार रहेको ‘राष्ट्रिय दलित आयोग’ले पनि प्रहरी र प्रशासनलाई एउटा निवेदन पठाउनुबाहेक केही गरेको छैन।

‘घटनापछि अनुसन्धानको लागि प्रहरी र प्रशासनलाई पत्र त पठाएको हो तर अहिले के–के भयो थाहा छैन’, आयोगका अध्यक्ष देवराज विश्वकर्माले भने।

यसरी जातीय विभेदका घटनामा अनुसन्धान गर्न बनेको निकायको नियतमाथि नै प्रश्न उठेको छ।

जाहेरीपछि धम्काउन त छाडे तर राज्यले न्याय गर्न सकेन: जनकबहादुर विश्वकर्मा

दलित भएकै कारण वडाध्यक्षबाट अपमानित र छोराबाट कुटिएका जनकबहादुर विश्वकर्माले प्रहरीका जाहेरी दिएपछि पहिला दलित भनेर हेप्ने र धम्काउनेहरु चुप रहेपनि राज्यले न्याय दिन नसकेको बताए।

‘अहिले त कसैले धम्काएको पनि छैन, कुटेको पनि छैन’, जनकले भने, ‘तर सर, सरकारले हामी दलितमाथि न्याय गर्न सकेन।’

यसअघि वडाध्यक्षले नै विश्वकर्मा परिवारका बालबच्चाहरुलाई खेल मैदानमा जान बन्देज गर्ने, विद्यालयमा जाँदा धम्काउने गरेकोमा अहिले त्यस्ता क्रियाकलाप नभएको जनकको भनाइ छ।

वडाध्यक्ष थापाले घटनाको क्षतिपूर्ति तिर्नुपर्ने तथा वडाध्यक्ष श्याम थापा र उनका छोरालाई कानुन बमोजिम कारबाही हुनुपर्ने विश्वकर्मा परिवारको माग छ।


‘जुत्ताको धुलो बनाउनुपर्छ’ भन्दै दलितमाथि कुटपिट (भिडियाेसहित)

प्रकाशित मिति: : 2023-08-18 16:36:00

प्रतिकृया दिनुहोस्