चर्चामा कंगनाको ‘लकअप’

photo:Instagram
photo:Instagram

भारतीय टेलिभिजनको सबैभन्दा विवादित शोमध्ये एक ‘बिग बोस’ जस्तै अर्को एक शो ‘लकअपः बडास जेल...अत्याचारी खेल’ ओटीटी प्लेटफर्ममा आइतबारबाट रिलिज हुँदैछ। यो शोलाई ‘टेलिभिजन कन्टेन्ट क्वीन’का रुपमा परिचित एकता कपूरले निर्माण गरेकी हुन्। शोकी होस्ट अभिनेत्री कंगना रनावत हुनेछिन्।

कंगनाको यो डिजिटल डेब्यू हो। शोका प्रतियोगीको छनोट कंगनाले नै गरेकी छन्। शोको घोषणामा कंगनाले आफूविरुद्ध दुई वर्षयता कैयौं एफआईआर भएको र प्रहरी थानामा धेरैपटक चक्कर लगाएको बताएकी थिइन्। निर्मात्री एकताले शोको कन्टेन्टलाई लिएर आफू जिम्मेवार नभए पनि शोविरुद्ध कैयौं एफआईआर आउनेमा आफू निश्चित रहेको दाबी गरेकी थिइन्।

ओटीटीमा यो पहिलो शो हो, जुन रिलिजअघि नै विवाद र चर्चामा छाएको छ। यसको प्रमुख कारण शोको फम्र्याट र त्यसको विषयबस्तु हो। शोका अधिकांश प्रतियोगी कुनै न कुनै विवादसँग जोडिएका छन्।

यस्तो छ शोको फर्म्याट

यो शोमा १६ प्रतिष्पर्धी हुनेछन्। सबै प्रतियोगीलाई लकअपमा ७२ दिनसम्म बन्द गरिनेछ। उनीहरुलाई आधारभुत सुविधाका लागि संघर्ष गर्नुपर्नेछ र हरेक पाइलामा काम दिइनेछ। शोमा कंगना जेलरको भूमिकामा देखिनेछिन्। एकताका अनुसार शोमा मनपर्ने प्रतियोगीलाई दर्शकले भोट दिन सक्नेछन्। तर ५० प्रतिशत भोटिङ पावर कंगनाको हातमा हुनेछ।

शोमा टिकिरहनका लागि प्रतियोगीले आफ्नो जीवनसँग जोडिएका कैयौं रहस्यमय कुरा खोल्नुपर्नेछ। यो शो ओटीटी प्लेटफर्म एमएक्सप्लेयर र अल्ट बालाजीमा प्रसारण हुनेछ। ‘बिग बोस’मा जस्तै दर्शकहरु ‘लकअप’मा पनि प्रतियोगीको हर्कतलाई २४ सै घण्टा प्रत्यक्ष हेर्न पाउनेछन्।

यी हुन् प्रतियोगी

शोको प्रतियोगीमा पहिलो नाम पुनम पाण्डेको छ। सन् २०११ मा पहिलोपटक पुनम चर्चामा आएकी थिइन्, जुनबेला उनले भारतले विश्वकप क्रिकेट जितेमा टिमका लागि आफू नग्न हुने घोषणा गरेकी थिइन्। यद्यपि बीसीसीआईले उनलाई यस्तो काम गर्न अनुमति दिएन। पुनम अर्कोपटक पुनः चर्चामा आइन्, जब उनले २०२० मा विवाह गरिन् र विवाहको १२ दिनपछि उनले पतिमाथि यौन शोषणको आरोप लगाइन्। उनको आरोप पछि गोवा प्रहरीले पतिलाई पक्राउ गरेको थियो।

अर्की प्रतियोगी हुन्, निशा रावल। निशाले गत वर्ष आफ्नो पति र सिरियल ‘ये रिश्ता क्या कहलाता है’ फेम्ड अभिनेता करण मेहरामाथि कुटपिटको आरोप लगाएकी थिइन्।

त्यस्तै तेस्रो प्रतियोगी गुजरातको जुनागढ निवासी स्टेण्डअप कमेडियन मुनव्वर फारुकी हुन्। गत वर्ष २ महिनाभित्र उनको १२ शो रोकिएको थियो। हिन्दु देवीदेवतामाथि कथित विवादित टिप्पणीका कारण उनी कैयौं दिनसम्म जेलमा बस्नु परेको थियो।

यो शोमा खेलजगतका स्टार पनि देखिँदैछन्। यसमा पहिलो नाम बबिता फोगाटको छ। फोगाटमो जीवनीमा रहेर अभिनेता आमिर खानले फिल्म ‘दंगल’ बनाएका थिए। कुश्ती च्याम्पियन बबिताले सन् २०१४ मा कमनवेल्थ गेम्समा पहिला कुश्मीमा भारतलाई पहिलो स्वर्ण दिलाएकी थिइन्। उनले सन् २०१८ मा कमनवेल्थ गेम्स, सन् २०१० को कमनवेल्थ गेम्समा सिल्भर मेडल र सन् २०१२ को विश्व कुश्ती च्याम्पियनशिपमा कास्य पदक जितेकी थिइन्। त्यसपछि सन् २०१९ मा उनले राजनीतिमा पाइला चालिन्।

प्रकाशित मिति: : 2022-02-28 06:21:00

प्रतिकृया दिनुहोस्