स्याउका बगैँचा व्यवस्थापन गर्दै किसान

File photo
File photo

जुम्लाका कृषि प्राविधिक  स्याउ किसानका बगैँचा  व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न  बगैँचामा पुगेका छन्। प्राविधिकले बगैँचामै पुगेर  स्याउको उत्पादन वृद्धि गर्नका लागि बगैँचा व्यवस्थापन र काँटछाँट सम्बन्धी ज्ञान किसानलाई सिकाइरहेका छन्।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपर जोन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गङ्गा पोखरेलले किसानलाई प्रविधिक सीपमूलक तालिमसमेत दिएको बताए। 

उनले भने, 'स्याउ सुपरजोन कार्यालय जुम्लाले कार्य क्षेत्रभित्रका अधिकांश किसानको बगैँचामै पुगेर स्याउ बगैँचाको व्यवस्थापन गर्न सिकाउन थालेका छौँ। स्याउ  किसानका बगैँचामै पुगेर काँटछाँट र व्यवस्थापनको व्यावहारिक अभ्यास गर्न थालिएको छ। बगैँचामै गएर अभ्यास गराउँदा किसान छिटो सिक्छन्। एकापसमा बगैँचाको व्यवस्थापनबारे अनुभव आदानप्रदान गर्छन्। गुणस्तरीय स्याउ उत्पादनका लागि जोड दिन्छन्।'

बगैँचामै पुगेर व्यवस्थापन गर्दा किसानको समेत हौसला बढ्ने गरेको निमित्त कार्यालय प्रमुख पोखरेलले जानकारी दिए। 'यहाँको चन्दननाथ, तातोपानी, गुठीचौर र पातारासीका १० किसानको बगैँचामा स्याउ बगैँचा व्यवस्थापनको व्यावहारिक अभ्यास गरिएको हो। जुम्लासँगै कालीकोटको रासकोट र तिलागुफा नगरपालिकाका किसानको बगैँचामै कृषि प्राविधिक पुगेर सीप सिकाउन थालेका छन्। यो पटक कृषि प्राविधिकले ३७५ जना किसानलाई व्यवस्थापन र काँटछाँटको व्यावहारिक ज्ञान दिएका छन्। किसानलाई बगैँचामै बोलाएर व्यवस्थापन गर्न सिकाउँदा निकै लाभान्वित भएका छन्। बिरुवा लगाउनेदेखि काँटछाँट, मलखादको प्रयोग लगायतका विषयका किसानलाई सहजीकरण गर्ने गरिएको निमित्त प्रमुख पोखरेलले जानकारी दिए। 

प्रशिक्षक रामबहादुर खत्रीका अनुसार  किसानले स्याउ लगाएपछि बिरुवाको हेरचाह र व्यवस्थापनमा ध्यान नदिँदा हुने हानिका विषयमा प्रविधिक तालिम दिएको बताए। अहिले बगैँचामै पुगेर व्यवस्थापन तथा काँटछाँटको सीप सिकाउँदै आएका छौँ। किसान पनि निकै जागरुक भइसकेका छन्। बगैँचाभित्र देखिएको समस्याका बारेमा किसानले राय लिन्छन्। कृषि प्राविधिकले समस्या समाधानका लागि गर्नुपर्ने कार्यका बारेमा सुझाव दिने गरेको कृषि प्रविधिक बताउँछन्। कार्यालयबाट कृषि प्राविधिक बगैँचामै पुगेर सीप दिन थालेपछि यहाँका स्याउ किसान उत्साहित बनेको चन्दननाथ नगरपालिका–३ का स्याउ किसान  बाटुली सार्कीले जानकारी दिए।

किसानको जीवनस्तरमा परिवर्तन ल्याउन सीप निकै प्रभावकारी हुने गरेको छ। स्याउ खेतीमा किसानको आकर्षणसमेत बढाउने गरेको छ। स्याउ व्यवस्थापन र काँटछाँट गर्न किसान आफँै परिपक्व भएमा सहज हुने जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए। स्याउ सुपरजोन परियोजना जुम्लामा लागू भएपछि स्याउ खेतीमा हुने हरेक समस्याका बारेमा किसानले सहजै रुपमा परामर्श लिन सक्ने स्याउ सुपर जोन कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: : 2022-03-01 13:25:00

प्रतिकृया दिनुहोस्