महिला, बालबालिका मन्त्रीद्वारा हस्तान्तरण
सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोलस्थित औराबनीका भूमिहीन तथा विपन्न २० घरपरिवारले नयाँ घर पाएका छन्।
शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले एक कार्यक्रमकाबीच उक्त २० परिवारलाई घर हस्तान्तरण गरिन्।
गढी गाउँपालिकाको रु ४९ लाख ५० हजार, ह्याविट्याट फर ह्युम्यानिटी नेपालको रु ४० लाख २ रुपैयाँ, सङ्कल्प नेपालको रु १८ लाख र घरधनीको श्रमदानसहित रु १ करोड ७ लाख ५० हजार २ रुपैयाँमा घर बनाइएको हो।
२०७९ पुस २० गते सम्झौता भएको उक्त परियोजना २०८० फागुन २५ गते सम्पन्न भएको थियो। विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्य अन्तर्गत निर्माण गरिएका भवनमा २ वटा कोठा, बरन्डा, भान्सा घर, शौचालय रहेका छन्।
नवनिर्मित भवन विपन्न परिवारलाई हस्तान्तरण गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले कुनै पनि योजना सफल हुन स्थानीय तहका नेतृत्वको भूमिका महत्वपूर्ण रहेको बताइन्।
अझै पनि हजारौँ घर बनाएर विपन्न परिवारलाई व्यवस्थापन गर्ने सरकारले लक्ष्य रहेको जानकारी गराइन्। मन्त्री चौधरीले यस क्षेत्रमा विद्यालय, स्वास्थ्य चौकी लगायतका आधारभूत सुविधाहरू उपलब्ध गराउनका निम्ति आफूले पहल गर्ने बताइन्।