भेन्टिलेटर सहयोग

File Photo
File Photo

काठमाडौँ महानगरपालिकाले सूर्यविनायक नगरपालिकालाई एक र कामपा वडा नं ६ मा सञ्चालित स्तुपा सामुदायिक अस्पताललाई दुई गरी तीन भेन्टिलेटर सहयोग गरेको छ।   

सूर्यविनायक नगरपालिकाले आवश्यकताका आधारमा उक्त भेन्टिलेटर उपयोग गर्नेछ। कामपासँग भगिनी सम्बन्ध स्थापना भएको तिब्बतको ल्हासा नगरले पाँच थान भेन्टिलेटर उपलब्ध गराएको थियो। तीमध्ये तीन भेन्टिलेटर अस्पताललाई हस्तान्तरण गरिएको हो।  

भेन्टिलेटर उपलब्ध गराएपछि प्रतिक्रिया दिँदै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँका सबै नगरसँग नगर–नगर साझेदारी कार्यक्रम गरेको बताए। पाँच प्रदेशका पाँच नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेर पार्क तथा हरियाली बढाउने योजनाका लागि रु एक करोड ५० लाखका दरले सहयोग गरिएको उनले जानकारी गराए।  

बुधबार आयोजना भएको कार्यक्रममा सूर्यविनायकका नगर प्रमुख वासुदेव थापाले नगर अस्पताललाई कामपाले भेन्टिलेटर उपलब्ध गराएपछि आकस्मिक सेवाका लागि सहज भएको प्रतिक्रिया दिए। यसअघि कोरोना महामारीको समयमा पनि कामपाले काठमाडौँ उपत्यकाका विभिन्न १२ अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको थियो।

प्रकाशित मिति: : 2022-03-03 11:48:00

प्रतिकृया दिनुहोस्