धनुषामा पाँच ट्याक्टरबाट अवैध सालको काठ बरामद

विजय साह

जनकपुर

डिभिजन वन कार्यालय धनुषाले सोमबार पाँचवटा ट्याक्टरबाट अवैध सालको काठ बरामद गरेको छ। वन कार्यालयले जिल्लाको धनुषाधाम नगरपालिका–६ मालटोलस्थित खेतबारीमा लुकाई छिपाई राखेको अवस्थामा पाँच ट्याक्टरबाट अवैध सालको काठ बरामद गरेको हो ।
 
डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख सुनिलकुमार कर्णले मालटोलस्थित खेतबारीमा लुकाई छिपाई राखिएको अवस्थामा पाँच ट्याक्टर अवैध सालको काठ नियन्त्रणमा लिएको बताए। उनले २५५.०९ क्यूफिट काठ बरामद भएको भएको बताए। जसमा १८१ थान गोलिया र चार थान चिरान गरी १८५ थान काठ रहेको छ।
 
डिभिजनल प्रमुख कर्णले वन कार्यालय धनुषाले यति ठूलो मात्रा अवैध सालको काठ बरामद गरेको यो पहिलो घटना भएको दावीसमेत गरे। ‘बढीमा २० थानसम्म अवैध काठहरु बरामद भएको जिल्लामा तथ्याङ्क छ, ठूलो परिमाणमा अवैध काठ बरामद भएको यो नै पहिलो पटक हो, उनले भने।’

वन कर्मचारी, जनपद प्रहरी, शसस्त्र प्रहरी र स्थानीय सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको सहयोग काठ नियन्त्रणमा लिन सफल भएको बताउँदै डिभिजनल प्रमुख कर्णले बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय पुष्पवलपुरमा राखिएको जानकारी दिए। 'बरामद सालको काठ राष्ट्रिय वनबाट कटान गरी त्यहाँ थुपारिएको हुनुपर्छ, वनबाट काठ कटान गर्नेहरुको पहिचान  पत्ता लगाउन कर्मचारी खटाएको र पहिचान खुलेपछि संलग्नहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउने डिभिजनल प्रमुख कर्णले भने'।
 

प्रकाशित मिति: : 2022-03-08 11:41:00

प्रतिकृया दिनुहोस्