जबर्जस्ती करणीको आरोपमा प्रहरी हिरासतमा रहेका पल शाहको विपक्षमा वहस गर्न ठूलो संख्यामा अधिवक्ताहरूले रूचि देखाएका छन्। नावालिग गायिकाविरूद्धमा सामाजिक सञ्जाल ट्रायल भएपछि अधिवक्ता तथा महिला अधिकारकर्मी मोहना अन्सारीले सामाजिक सञ्जालबाट पीडितको पक्षमा न्यायका लागि बहसमा जोडिन आग्रह गरेकी थिइन्। उनको आग्रहमा २२ जना अधिवक्ताहरुले वहस गर्ने इच्छा व्यक्त गरेका छन्।
नाबालिग गायिकाको पक्षमा वहस गर्नेहरूमा ओम अर्याल, मिरा ढुङ्गाना, मोहना अन्सारी, सुष्मा बाँस्कोटा, राधिका खतिवडा, ईला शर्मा, सरिता तिवारी, कुमारी खरेल, मनिष कुमार श्रेष्ठ, केदार गुरागाईँ, रामेश्वर कोइराला, अञ्जना अर्याल, अपेक्षा निरौला, अमृता अर्याल, माया घिमिरे, जयन्ती पाठक, रुपा पोखरेल, दिलकुमारी राई, शैलेन्द्र प्रसाद अम्बेडकर, विकास भट्टराई, शिवजी भण्डारी र राहुल झा रहेका छन्।
पल शाहको विपक्षमा २२ जना वकिलले वहस गर्ने भएका छन्। नावालिग गायिकाविरूद्ध सामाजिक सञ्जाल ट्रायल भएपछि अधिवक्ता मोहना अन्सारीले पीडितको पक्षमा जोडिन आग्रह गरेपछि उनीहरू वहस गर्न तयार भएका हुन्।
नाबालिगको तर्फबाट अधिवक्ता राधिका खतिवडाले प्रारम्भिक बहस गर्नेछिन्। उनी मुद्दाको सुरूदेखि नै वालिकालाई कानूनी परामर्श दिइरहेकी छिन्। खतिवडा पछिल्लो समय मानवअधिकारसँग जोडिएका पीडाका मुद्दामा पीडितका पक्षबाट वकालत गर्दै आएकी छिन् ।
उता, आरोपी पल शाहको तर्फबाट भने बीबी विष्टले प्रारम्भिक वहस गर्ने बताइएको छ।