आईपीएलः विराट कोहलीको अधुरो सपना पूरा गर्न सक्छन् यी तीन खेलाडी

भारतीय क्रिकेटर विराट कोहली आफ्नो उत्कृष्ट ब्याटिङका कारण संसारमा निकै चर्चित छन्। उनको ब्याटिङ रोक्न विपक्षी बलरहरूलाई निकै कठिन हुने गरेको छ। तर, उनै विराटले चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्च बेंगलोर (आरसीबी) लाई एउटै उपाधि जिताउन सकेका छैनन्।

अब, उनको यो अधुरो सपना पूरा गर्न आरसीबीले टिममा यस्ता तीन खेलाडीलाई खरिद गरेको छ। जसले आरसीबीलाई पहिलो आईपीएल ट्रफी दिलाउन सक्छन्। जान्नुहोस् तीन खेलाडीबारे।

फाफ डुप्लेसिस

आरसीबीले गत महिना आईपीएलको मेगा अक्सनबाट दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा आक्रमक ओपनर फाफ डुप्लेसिसलाई टोलीमा सामेल गरेको छ। डुप्लेसिस जब आफ्नो लयमा रहन्छन्, तब आक्रामक रूपमा कुनै पनि बलरविरुद्ध खेल्ने गर्छन्। यसअघि उनले चेन्नई सुपर किङ्स (सीएसके) का लागि खेल्ने गर्थे। उनले आफ्नो क्षमता प्रदर्शन गर्दै सीएसकेलाई उपाधिसमेत दिलाएका थिए। 

डुप्लेसिसले आफ्नो ब्याटिङ प्रतिभा सबैलाई देखाएका थिए। उनको खतरानाक ब्याटिङ देखेर विपक्षी टिमसमेत चकित बनेका थिए। उनले आईपीएल-२०२१ को १४ खेलमा ६३४ रन बनाएका थिए। यसैले नै यसपटकको आईपीएल-२०२२ मा फाफ डुप्लेसिसको ब्याटिङ आक्रामक रूपमा चल्ने निश्चित छ। उनी नै आरसीबीको कप्तान बन्नमा सबैभन्दा बढी दाबेदारसमेत छन्। 

हर्षल पटेल 

पछिल्लो सिजन आरसीबीले प्लेअफसम्मको यात्रा तय गरेको थिया। तर, आरसीबी कोलकाता नाइट राइडर्स (केकेआर) हार्न पुगेको थियो। प्लेअफसम्म पुर्‍याउन हर्षल पटेलले महत्वपूर्ण भूमिका खेलेका थिए। आईपीएलको मेगा अक्सनमा पुनः हर्षल आरसीबीमै खरिद भएका छन्। हर्षललाई १० करोड ७५ लाख भारुमा आरसीबीले फिर्ता ल्याएको हो। 

पछिल्लो वर्षमा हर्षलको बल खेल्न कुनै पनि ब्याटरलाई सहज हुने गरेको छैन। सुस्त गतिमा विकेत लिने कला चर्चितसमेत छ। उनले आईपीएल-२०२१ को १५ खेलमा ३२ विकेट लिएका थिए। यस्तो अवस्थामा हर्षल पटेलले यसपटक आरसीबीलाई उपाधि दिलाउन सक्छन्। 

वानिन्दु हसरंगा

आरसीबीले आफ्नो टिममा श्रीलंकाका स्टार स्पिनर वानिन्दु हसरंगालाई स्थान दिएको छ। हसरंगा आफ्नो घातक बलिङका कारण चर्चित छन्। उनी ब्याटरलाई आफ्नो स्पिनको जालमा फसाउन माहिर छन्। २४ वर्षीय स्पिनर कुनै पनि टोलीका लागि खतरा सावित हुन सक्छन्। उनलाई आरसीबीले १० करोड ७५ लाख भारुमा खरिद गरेको हो। 

हसरंगाले टी-२० विश्वकपमा ह्याट्रिक लिएर आफ्नो बलिङ क्षमता देखाएका छन्। खेलबाट नै उनले आफ्नो नाम विश्वमा कमाएका छन्। भारतीय पिच सधैं स्पिनरलाई मद्दत गर्ने गर्छ। यसैको फाइदा वानिन्दु हसरंगाले आईपीएलमा लिन सक्छन्। 

प्रकाशित मिति: : 2022-03-09 13:34:00

प्रतिकृया दिनुहोस्