नयाँ पर्यटकीय गन्तव्य

साहसिक पदयात्राका लागि ‘ग्रेट लेक ट्रेक’ (तस्बिरहरू)

तस्वीरहरु: सञ्जीव गुरुङ
तस्वीरहरु: सञ्जीव गुरुङ

गोरखा र लम्जुङ जिल्लाका पाँच गाउँपालिकाका विभिन्न भू-भाग समेटेर खाेल्न लागिएकाे नयाँ पदमार्गकाे अन्वेषण भ्रमण सम्पन्न भएकाे छ। ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)अन्तर्गत् गन्तव्य खोज, अध्ययन तथा प्रवर्द्धन विभागको पहलमा गोरखा र लम्जुङ जिल्लाका पाँच गाउँपालिका (बार्पाक, सुलिकोट, अजिरकोट, दुधपोखरी, दोर्दी र मर्स्याङदी)को आर्थिक सहयोगमा झण्डै ३ हप्ताको अध्ययन भ्रमण गरिएको हाे।

अध्ययन टोली टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङको नेतृत्वमा असार १ देखि १८ गतेसम्म हिमश्रृङ्खला (मनास्लु, हर्कचुली, हिमालचुली, बुद्ध हिमाल, थुलागी, फुङगीलगायत)को पश्चिम फेदितर्फ नयाँ ट्रेकिङ ट्रेलको अन्वेषण, योजना तथा डिपिआरको पहिलो चरणको कार्य सम्पन्न भएको छ।

‘बुद्ध हिमाल-हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ नामकरण दिएर सुरु गरिएको नयाँ गन्तव्य खोज तथा अनुसन्धानका लागि काठमाडाैँदेखि अजिरकोटको भच्चेकसम्म गाडीमा यात्रा गरिएको थियो। भच्चेकदेखि बार्पाक, माम्चे, छोङमाखर्क, युरुखर्क, मिर्चा, नारद पोखरी, धुपी ला, कन्सथली, मार्कास्यु, तबि, दुधपोखरी, नेवारखर्क, ङ्यम्लो रा, तातोपोखरी, उखन्डखर्क, मेमे पोखरी, मेमे ला, सरुम्जेखर्क, दहरे गाउँ, थुलागी ताल, नरडाँडा हुँदै घेर्मु पदयात्रा र घेर्मुबाट १८औं दिनमा एक्प्लोर कार्य सम्पन्न गरिएकाे हाे।

एकस्प्लोर टिमको नेतृत्व टानका द्वितीय उपाध्यक्ष गुरुङले गरेका थिए भने ट्रेल विशेषज्ञ (जिपिएस, ट्रेकिङ नक्साङकन तथा ट्रेकिङ ट्रेल अध्ययन)का लागि पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड) तथा आन्वेषक सञ्जीव गुरुङ, डकुमेन्ट्रिका लागि भिडियोग्राफर/फोटोग्राफर लोकचन्द्र थापा, डिपिआरका लागि इन्जिनियर राधाकृष्ण गौतम, कल्चर तथा ट्रेल अध्ययनका लागि माउन्टेन गाइड मनराज गुरुङ, ट्रेकिङ ट्रेल अध्ययन, अनुसन्धान तथा कलर मार्किङका लागि कान्छा गुरुङसहितको ९ जना सहयोगी र स्थानीय (गोठाले) गाइडहरु समावेश थिए।

ठुलठुला धार्मिक आस्थाका तालहरु, मनोमहक झरनाका दृष्यहरु, ऐनाजस्तै छर्लङ् देखिने हिमालहरु (चुली, बुद्ध हिमाल, हर्कचुलीलगायत हिमालहरु)को मनमोहक दृष्य, अद्भूत भौगोलिक दृष्यहरुले भरिपूर्ण ‘ग्रेट लेक ट्रेल’ एउटा लुकेको हिरा रहेको टोलीका सदस्य सञ्जीव गुरुङले बताए।

पदमार्गमा लोपोन्मुख वन्यजन्तुहरु कस्तुरी, मृग, रेड पाण्डा, राष्ट्रिय चरा डाँफेलगायत धेरैथरिका चरा चुरुङ्गी र जनवारहरु पाइन्छ। विभिन्नथरिका लालिगुराँस, सयौँथरिका जडिबुटीले भरिपूर्ण रहेकाेले यो ट्रेल धेरै सम्भावना रहेको आन्वेषण टोलीले जानकारी गराएकाे छ। गुरुङ जातिको मौलिक संस्कृति, पुरातत्विक कोटहरु, गुम्बा, मठमन्दिरहरुले भरिपूर्ण यो पदमार्ग एकै ठाउँमा पाइने नमुना ट्रेकिङ ट्रेलमा विकास गर्न सकिने छ। उच्चहिमाली भेगमा अहिले पनि प्रसस्तै भेडीगोठहरु भेटिन्छन्। 

ग्रेट लेक ट्रेकको सम्भावना- सञ्जीव गुरुङ

नेपाल प्राकृतिक सौन्दर्य तथा सांकृतिक विविधताले धनी देश भएकाेले यहाँ पर्यटनकाे धेरै सम्भावना छ। विश्वका १४ अग्लामध्ये ८ वटा हिमाल हाम्रै देशमा छन्। सुन्दर भौगोलिक दृष्य, झरना, ताल, तलैयाको त कुरै नगरौँ। यति हुँदाहुँदै पनि २/४ वटा क्षेत्रमात्र पर्यटनका लागि प्रख्यत छन्। यही महत्व बुझेर होला सम्बन्धित संघ-संस्था, स्थानीय सरकार मिलेर पर्यटनका लागि नयाँ गन्तव्य खोजमा अग्रसर हुँदै आएको छ। यही क्रममा टान र गाउँपालिकाको पहलमा ग्रेट लेक (मनास्लु) ट्रेलकोको सम्भाव्यता अध्ययन सकिएको छ। 

मेरो यो यात्राको अनुभवमा ग्रेट लेक ट्रेल (मनास्लु) साहसिक पदयात्राको लागि प्रचुर सम्भावना देखिन्छ। पुराना मनास्लु र अन्नपूर्ण ट्रेकिङ ट्रेलमा मोटरबाटोले असर गर्दैगर्दा त्यसकाे वैकल्पिक ट्रेक पनि हो। सर्किट ट्रेक गर्न सकिने, पाँच हजार मिटरसम्मका पाँच हिमालहरु ऐना हेरेसरि हेर्न सकिने, अद्भूत भौगोलिक दृष्य, तालै-ताल रहेको र साथमा हिमपहिरो, पहिरो र रकफलजस्ता खतरा पनि नरहेकोले पनि धेरै सम्भावना छ।

यो ट्रेललाई पर्यटकको समयअनुसार छोटो र लामो गर्न सकिन्छ। माछाखोला, लार्पाक, बार्पाक, भाच्चेक, बेसीसहर, बुलबुले, नादी, बाहुनडाँडा, घेर्मु हुँदै जताबाट पनि जान र आउन पनि सकियो। केही समस्या पर्दा धेरै ठाउँमा फोन लाग्ने, आपतकालीन अवस्थामा सहजै बस्ती झर्न सकिनेछ। नारदपोखरी, दुधपोखरी, मेमे पोखरी अहिले पनि तीर्थालुयात्रा गर्ने धार्मिक आस्थाका पोखरीहरुमध्ये पर्दछ।

छोटो यात्रा अझै आन्तरिक पर्यटनको लागि नारदपोखरी ट्रेक, नागेपोखरी ट्रेक, नागे दुधपोखरी ट्रेक, मेमे पोखरी ट्रेक, थुलागीपोखरी ट्रेक एकदमै सम्भावना रहेको छ, जुन ४/५ दिनमा पदयात्रा गर्न सकिन्छ।

जताबाट जसरी पनि यात्रा गर्न सकिने यो पदयात्रा प्रवर्द्धन र आधारभूत गोरेटाेमार्फत् गर्नसके छिट्टै पर्यटकले भरिभराउ हुने सम्भावना छ। साहसिक पर्यटन मन पराउनेहरुले अहिले नै क्यम्पिङ ट्रेक चलाउन सकिने ट्रेल हो, ग्रेट ट्रेक ट्रेल।

ग्रेट लेक ट्रेलको केही झलकहरु :

प्रकाशित मिति: : 2023-07-15 17:30:00

प्रतिकृया दिनुहोस्