झापा ११ झापा गोल्डकपको फाइनलमा

सन्ताेष विष्ट

बिर्तामोड
Breaknlinks
Breaknlinks

 घरेलु टोली झापा ११ फुटबल क्लब पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा शनिबार ए डिभजन टोली संकटा क्लबलाई २–० ले हराउँदै झापा ११ उपाधि नजिक पुगेको हो। झापाका लागि दुवै गोल विमल घर्तीमगरले गरेका हुन्।

झापा ११ ले फाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ। सातदोबाटो युथ क्लबलाई ४–१ ले हराउँदै आर्मी फाइनलमा पुगेको थियो।
दोस्रो सेमिफाइनलको १६ औं मिनेटमा विमलले गोल गरेका थिए। एन्द्रियस नियाको पासमा विमलले विपक्षी गोलकिप्परलाई छलाउँँदै नजिकबाट गोल गरेका थिए। झापा ११ का लागि विमलले अर्को गोल ५७ औं मिनेटमा गरेका थिए। मैदानको दायाँबाट विकास मेराल्गियाले दिएको पासलाई पेनाल्टी बक्स भित्रबाट विमलले सहज गोल गरेका हुन्। प्रतियोगितामा विलमको गोल संख्या ४ पुगेको छ। क्वार्टरफाइनलमा उनले पेनाल्टीमार्फ २ गोल गरेका थिए।

पहिलो हाफमै संकटाले पनि पटक पटक गोल फर्काउने मौका पाए पनि सफल भने हुन सकेन। यानिकले नजिकबाट गरेको प्रहारलाई झापाका गोलकिपर दीप कार्कीले जोगाएका थिए। ३० औं मिनेटमा यानिककै प्रहारलाई विश्वास श्रेष्ठले गोललाइनबाट क्लियर गरेका थिए। ३३ औं मिनेटमा फोडे फोफेनाको क्रसमा यानिकको हेड प्रहार दीपले सहजै रोकेका थिए। दोस्रो हाफमा संकटाले खासै आक्रमण बनाउन सकेन।
शनिवारको खेलको प्लेयर अफ दि म्याच झापा ११ का विमल घर्ती मगर भए। उनले नगद ९९९९ रुपैयाँ प्राप्त गरे।

मछिन्द्र फुटबल क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोलकपबाट बाहिरिएपछि विमललगायत विशाल राई, देवेन्द्र तामाङ झापा ११ बाट खेलिरहेका छन्। विशालले झापा ११ को कप्तानी गरिरहेका छन्। फाइनल सोमबार हुनेछ। प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रकाशित मिति: : 2022-03-12 17:44:00

प्रतिकृया दिनुहोस्