विप्लवलाई भेट्न शिवनगर पुगे महरा, पार्टी एकताका विषयमा छलफल

नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई भेट्न उनकाे निवास रूपन्देहीकाे शिवनगर पुगेका छन्।

दाङकाे एक कार्यक्रममा सहभागी हुन पुगेका महरा त्यतैबाट आइतबार विप्लवाई भेट्न रूपन्देही पुगेका हुन्।

भेटका क्रममा उनीहरूबीच पार्टी एकता, अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) र स्थानीय तह निर्वाचनलगायतका विषयमा छलफल भएकाे स्राेतले जनाएकाे छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे अनुराेधपछि पार्टी एकताबारे लचकता देखाएका विप्लव एमसीसीमा माओवादीले खेलेकाे भूमिकाप्रति असन्तुष्ट छन्। तथापी, माओवादी र विप्लव समूहबीच एकताकाे प्रयासमा जुटेका महराले विप्लवलाई फकाउनकाे लागि त्यहाँ पुगेकाे स्राेतले जनाएकाे छ। स्राेतकाअनुसार महराले विप्लवलाई माओवादीमा आउन आग्रह गरेका थिए।

त्यस्तै एमसीसीका विषयमा आफू र पार्टीका कार्यकर्ताकाे चाहनाविपरीत प्रचण्डले निर्णय गरेकाे भन्दै असन्तुष्टि जनाउँदै आएका महराले यस विषयमा मिलेर अगाडि जानुपर्ने प्रस्ताव विप्लवसँग राखेका थिए।

महरा र विप्लव शिक्षक–विद्यार्थी हुन्। जनयुद्धअघि राेल्पाकाे एक विद्यालयमा महरा शिक्षक हुँदा विप्लव साेही विद्यालयमा पढ्थे। माओवादीमा रहँदा पनि एउटै लाइनमा रहेका महरा र विप्लवबीच अनेकाैँ कार्यमा सहकार्य हुँदै आएकाे छ।

यसैगरी, महरा र विप्लवबीच स्थानीय तह निर्वाचनबारे पनि छलफल भएकाे थियाे। स्थानीय तह निर्वाचनमा जाने वा नजाने भन्ने दाेधारमा विप्लव समूह रहेकाे छ। स्थानीय तह निर्वाचनकाे लागि विप्लव समूहले पार्टी दर्ता गरेकाे छैन।

प्रकाशित मिति: : 2022-03-14 15:39:00

प्रतिकृया दिनुहोस्