फगुवा : उहिले र अहिले

Breaknlinks
Breaknlinks

होली, जसलाई भोजपुरी भाषामा ‘फगुवा’ भनिन्छ। यस वर्ष पहाडमा होली चैत्र ३ गते (आज) वृहस्पति बार मनाइने छ भने तराईमा होली चैत्र ४ (भाेलि) गते शुक्रबार मनाइने छ।

होलाष्टकको दिनदेखि यसको सुरुवात भएर फागुन पूर्णिमाको दिन होलीका दहन गरी चैत्र कृष्ण पक्षकाे दिन बिहान मालपूवा तथा रङ्ग, अबीर कुलदेवतालाई अर्पण गर्नुका साथै प्रसादको रुपमा मालपूवा र अन्य मधुर मिठाइले मुख जुठो गरी ठूला–साना, सङ्गी–साथीसित परस्परमा रङ्ग, अबीर खेलेर ढोल, डम्फ, झाल–मजीरा जस्ता वाद्यहरुको लोक धूनमा होलीको गीत गाउने, नाचगान गर्ने र एकअर्काबीच शुभकामनाको आदान प्रदान गरेर फगुवा पर्वको समाप्ती हुने परम्परा रहेको छ।

पुराना दिनहरुमा फगुवा रङ्गोत्सवको रुपमा समाजका साना-ठूला सबै वर्गका बीचमा हर्षाेल्लास, आपसी भाइचारा र सौहार्दताका साथ मनाइन्थ्यो। दिनको मध्यान्हदेखि फगुवाका गीत गाउनेहरुको मण्डली आफ्नो पारम्परिक बाजाका साथ प्रत्येक गृहस्थको घरद्वारमा गई बिछ्याइएका बिछ्याैनामा बसी सुर, तालका साथ फगुवा गाउने गर्थे।

केही बेरपछि घरमूलीले त्यस्ता मण्डीमा सामेल भएर आएका प्रत्येक सदस्यहरुलाई रङ्ग, अबीर लगाइ दिएर मसाला (बदाम, छोहडा, नरिवल, किशमिश, सुपारी, सुकमेल) बाडी दिएपछि मण्डलीको बिदाइ हुन्थ्यो। बिदाइ भएपछि मण्डली बसेको ठाउँबाट उठेर बाजा बजाउँदै गाउँदथे–सदा आनन्द रहे एहि द्वारे मोहन खेलस होरी हो..सदा आनन्द रहे एहि द्वारे...। अर्थात् यस घरद्वारमा सदैव आनन्द रही रहोस्, मोहन (भगवान श्रीकृष्ण) यसै प्रकारले हरेक वर्ष फगुवा खेली रहुन्। यस प्रकारको गीत गाउँदै अर्को गृहस्थको घरद्वारमा जानको लागि हिंड्दथे।

फगुवा मानिसहरुले भद्र तथा शालीनता पूर्वक गाउँदथे। फगुवाको आफ्नै किसिमको ताल मात्रा तथा रस हुन्थ्यो। राम रसको फगुवा, कृष्ण रसको फगुवा तथा लोकरसको फगुवा मात्र गाउँदथे। रामरसको फगुवाका केही वानगीहरु प्रस्तुत छन्– लडिका राम धनुष कइसे तुरीहन, हंसेला जनकपुर के लोग..होहो..हो..। अर्को वानगी–दुनू भाइ रोवेला कदम तर, सीया जानकी के ले गइले चोर.. ..होहो..हो..। तेश्रो वानगी–राम खेले होरी, लछुमन खेले होरी, गढ लंका में रावन खेले होरी..होहो..हो..।

कृष्णरसको फगुवामा व्रजभूमीमा श्रीकृष्णजीले गोपिनीहरुसित खेलेको होलीको प्रसङ्गको वर्णन रहेको हुन्थ्यो भने लोकरसको फगुवामा श्रृङ्गार रसको प्रधानता रहन्थ्यो, जोगीरा सरररको लयमा कवित्तको बाहुलता रहेको हुन्थ्यो तर अश्लिलता तथा उच्छृङ्खलता भने पटक्कै हुँदैन्थ्यो। गाउँको प्रत्येक गृहस्थको द्वार द्वारमा अबेर रातिसम्म फगुवा गाइसकेपछि आ–आफ्नो घर फर्किने बेलामा मण्डलीका सदस्यहरुले धूलो उडाएर फगुवाको समाप्ती गरी चैतावर गाउँदै फर्किन्थे। त्यसबेलादेखि चैत्र महिना लागि सकेको जनधारणा रहन्थ्यो।

वर्तमान समयको फगुवाको रुप रङ्ग तथा माहौल अमूलचूल परिवर्तन भइसकेको देखिन्छ। आपसी भाइचारा, सौहार्दता तथा शालीनताले फगुवाको नाममा अभद्रता, अश्लिलता तथा दुर्व्यसनको परिधान धारण गरिसकेको देखिन्छ। पुराना दिनहरुमा फगुवा लाग्नुभन्दा हप्तौँ अगाडिदेखि खसीको मासु बिक्रीको लागि ग्राहकहरुको सूची तयार हुन्थ्यो। तर एउटा गाउँभरिमा एउटा खसीको पनि मासुको खपत हुन सक्दैन्थ्यो भने आजका दिनहरुमा फगुवाको दिन के गरीब, के धनी प्रायः प्रत्येक गृहस्थको घरमा एक एक ओटा खसीको मासु खपत भएको तथ्य विद्यमान छ।

हुनेखानेहरुको घरमा फगुवाको अवसरमा बदाम,ओखर, सुकमेल, केशर हालेर भाङ्गको सेवन हुन्थ्यो भन्ने आजका दिनहरुमा यस अवसरमा बीयर, रक्सीको खोलो वगेको जस्तो सेवन भएको देख्न सकिन्छ। यस्तो स्थितिमा पुराना पारम्परिक फगुवा गाउने, डम्फ, मजीरा, ढोलक बजाउने कलाकारहरुको मात्रा न्यून हुँदै गइरहेको स्थिति छ।

अब गाउँमा फगुवा गाउने मण्डलीको अस्तित्व समाप्त प्रायः छ। फगुवाको दिनमा गाउँका प्रत्येक गृहस्थको द्वार द्वारमा गई आपसी सद्भाव आदान–प्रदान गर्ने, फगुवा गाउने, रमाइलो गर्ने प्रथा विस्तारै लोप हुने स्थितिमा पुगिसकेको अवस्था आइसकेको छ। अबको फगुवा मनाउने क्रममा मासु खाने, रक्सी, बीयर धुत्ने तथा फगुवाको नाममा अश्लिल गीतहरुको रेकर्डेट धूनमा उच्छृङ्खलतापूर्वक उफ्रिने, नाच्ने तथा महिलाहरुलाई जिस्काउने जस्ता कूकृत्यहरु मौलाउँदै गइरहेको देख्न सकिन्छ, जुन सभ्य समाजको निम्ति निश्चय नै निन्दनीय छ।

अबका दिनहरमा गाउँ–घरमा फगुवा गीत गाउने मानिसहरु लुप्त प्रायः भइसकेका छन्। सांस्कृतिक रूपमा यो स्थिति अत्यन्त दुःखद छ। वर्षभरिमा एकपल्ट मनाइने, रमाइलो गर्ने लोक परम्पराको यस्तो दुःखद अवसानले बुढापाकाहरुको मन फगुवाको दिन पनि खिन्न अवस्थामा देख्न सकिन्छ।यतातिर पनि प्रबुद्ध समाजको दृष्टि पुग्नु पर्दछ कि...! सबैमा फगुवाको शूभकामना ! 

प्रकाशित मिति: : 2022-03-17 14:50:00

प्रतिकृया दिनुहोस्