अक्षय कुमारले नेपाली दर्शकलाई सन्देश पठाउँदै भने- फिल्म हेर्नुस्, निराश बनाउँदैन

बलिउड अभिनेता अक्षय कुमारले नेपाली दर्शकका लागि आफ्नाे आउन लागेकाे फिल्मले भरपुर मनोरञ्जन दिने सन्देश पठाएका छन्। आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ’बच्चन पाण्डे’ ले भरपुर मनोरञ्जन प्रदान गर्ने उनले सन्देशमा बताएका छन्।

’नमस्ते नेपाल, मेरो फिल्म बच्चन पाण्डे यहिँ १८ मार्चमा नेपालका हलहरूमा लाग्दैछ। म यो फिल्मलाई तपाइँ आफू आफ्ना साथी तथा परिवारहरूसँग हेर्न आग्रह गर्दछु। यो फिल्म राम्रो बनेको छ भने पूर्णरुपमा कमर्सियल छ। मलाई विश्वास छ। यसले तपालाई भरपुर मनोरञ्जन दिनेछ’ अक्षयले भिडियोमा भनेका छन्। 

अभिनेता अक्षय टाइटल रोलमा रहेको फिल्म ‘बच्चन पाण्डे’ मा देखिएको उनको लुक्सलाई फिल्मप्रेमीले तारिफ गरेका छन्। एक्सन र कमेडी मिक्स फिल्ममा अक्षयसँगै अरशद वारसी , कृति सेनन, ज्याक्लिन फर्नान्डिज , पंकज त्रिपाठी लगाएतको अभिनय रहेको छ। फरहाद साम्जीको निर्देशनमा बनेको यस फिल्मलाई नाडियाडवाला ग्रान्डसन इन्टरटेन्मेन्ट प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो।

नेपाली फिल्म ‘पासवर्ड’ निर्माण गरेको कम्पनी ए.वि इन्टरनेशनल प्रा.लि.ले नेपाली र हिन्दी फिल्म वितरणमा समेत सक्रियता बढाएको छ। केही समय अगाडि हिन्दी फिल्म ’मरजावा’ वितरण गर्दै हिन्दी फिल्म वितरणमा पाइला टेकेको ए.वी इन्टरनेशनल आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ’बच्चन पाण्डे’ नेपाल रिलिज गर्दै छ।

‘नेपाली फिल्मसँग जोडिएर अगाडि बढ्ने क्रममा ए.वी इन्टरनेशनलले अब फिल्म वितरण पनि गर्ने भएको छ,’ ए.वी इन्टरनेशनलले जनाएको छ। यसै कम्पनीले निर्माण गरेको दोस्रो फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ। सुदर्शन थापा निर्देशित फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको प्रमुख भूमिका छ। 

प्रकाशित मिति: : 2022-03-17 14:12:00

प्रतिकृया दिनुहोस्