शरीर आकर्षक बनाउन र मोटोपन घटाउन हिजोआज जीम गर्ने मानिसहरुको संख्या निकै बढ्न थालेको छ। के पुरुष, के महिला अचेल सबैजना आकर्षक शरीर बनाउने होडमा जीम जाने गर्छन्।
जीम सेन्टर गएर बढी तौल उचाल्यो भने शरीर आकर्षक बन्छ भन्ने धारणा धेरैमा पाइन्छ। मानिसको शरीर तीन प्रकारको हुन्छ– एक्टोमर्फ, मेसोमर्फ र एन्डोमर्फ। एक्टोमर्फ टाइपको शरीर हुनेहरू दुब्ला हुन्छन् र उनीहरूको शरीरको हड्डी पनि सानो हुन्छ। यस्ता शरीर भएकाहरूले जीम सेन्टर ज्वाइन गर्नुअघि तौल बढाउने खानेकुरा खानुपर्ने हुन्छ।
शरीरमा चाहिने जति तौल भएन भने जीम गरेर मात्र शरीर आकर्षक देखिँदैन। मेसोमर्फ टाइपको शरीर हुनेहरूको हड्डी ठूलो हुन्छ। बनावटको हिसाबले यस्तो शरीर भएकालाई आकर्षक मान्छेको सूचिमा राखिन्छ। यस्तो शरीर भएकाले थोरै मेहनत गरेर पनि आफ्नो शरीर आकर्षक बनाउन सक्छन्। साह्रै दुब्लो र साह्रै मोटो नहुने भएकाले शारीरिक व्यायाम गर्दा यस्तो खालका शरीर हुनेहरूमा रिजल्ट चाँडै देखिन्छ।
एन्डोमर्फ टाइपका शरीर हुनेहरू मोटा र शरीरमा बोसोको मात्रा बढी भएका हुन्छन्। शरीरको फ्रेम ठूलो हुन्छ। तौल पहिला नै बढी हुने भएकाले तौल बढाउन जरुरत पर्दैन। यस्ता शरीर भएकाले निकै मेहनत गरेपछि मात्र शरीर आकर्षक बनाउन सक्छन्।
सबैभन्दा पहिले जीम किन गर्ने भन्ने कुरामा प्रष्ट हुनु जरुरी छ। शरीरको तौल घटाउन हो वा बढाउने ? तौल घटाउन वा बढाउन जुन कारणले जीम गर्ने भएपनि जीम ट्रेनरको सल्लाह अनुसार ब्यायाम गर्ने र त्यसै अनुसारको खानपानमा ध्यान दिनुपर्छ।
जीम गर्दा ध्यान दिनुपर्ने कुराहरु
हप्तामा ३ देखि ४ दिन मात्र जीम गर्ने
हप्तामा सात दिन नै जीम गर्नुपर्छ भन्ने मान्यता गलत हो। ३/४ दिन जीम गरेपछि एक दिन आराम गर्नुपर्छ। हप्ताभरि जीम गर्दा शरीरलाई आराम पुगेको हुँदैन। लगातार शरीरलाई प्रेसर दिँदा धेरै थकाइ लाग्छ। यस्तो भएमा केही खाए पनि शरीरमा लाग्दैन। त्यसकारण हप्तामा सातै दिनभन्दा १ दिन बिराएर जीम गर्नु उपयुक्त हुन्छ।
कम्तीमा दिनमा ८ घण्टा सुत्ने
जीम गर्न सुरु गरेपछि दिनमा ८ देखि ९ घण्टा कम्तीमा सुत्नुपर्छ। राम्ररी निन्द्रा पुगेन भने धेरै थकाइ लाग्छ। शरीरलाई फ्रेस अनुभव गराउन पनि जीम गरेपछि नियमित रुपमा राम्रो निन्द्रा लिन आवश्यक छ।
सन्तुलित खाना खाने
जीम गर्ने मानिसले सन्तुलित खाना खानुपर्छ। दुब्लो शरीर भएमा धेरै खानुपर्छ। यदि शरीर मोटो छ र तौल घटाउन जीम गर्दै हुनुहुन्छ भने थोरै-थोरै खानेकुरा छिटो-छिटो खानुपर्छ। यदि मोटाउनु छ भने शक्ति कम खर्च गर्ने र धेरै खाने गर्नुपर्छ।
जीम गर्ने मान्छेले सन्तुलित भोजन खाएन भने हड्डी भाँचिने र काम गर्न नसक्ने हुन्छ। दौडिन नसक्ने, एकदम चाँडै थाक्ने जस्ता असरहरु देखिन सक्छ। शरीर घटाउन भन्दै जीम गर्दा क्षयरोग (टिबी) पनि लाग्ने सम्भावना हुन्छ। त्यसैले जीम गर्न सुरु गरेदेखि नै नियमित रुपमा सन्तुलित भोजन खानुपर्छ।
जीम गर्दा कस्तो प्रोटिन खाने ?
जीम गर्न सुरु गरेपछि शरीर दुब्लो, पातलो जस्तो भएपनि प्रोटिन युक्त खानेकुरा खानुपर्छ। कार्बोहाइड्रेड भएका खानेकुरा जस्तै दाल, भात, तरकारीभन्दा पनि प्रोटिनयुक्त खानेकुरा जस्तै मासु, राज्मा, चना, अण्डाको सेतो भाग आदि खानुपर्छ।
जीम गर्दा नियमित सेवन गर्नुपर्ने खानेकुरा
अण्डामा प्रोटिन, भिटामिन र खनिजको मात्रा हुन्छ। विभिन्न अध्ययनले अण्डामा एन्टिअक्सिडेन्ट, एमिनो एसिड, फाइदाजनक फ्याट र अन्य महत्वपूर्ण पौष्टिक तत्व प्राप्त हुने बताएको छ, जुन स्वास्थ्य र मसल्स बनाउन निकै महत्वपूर्ण मानिन्छ। तर, ध्यान दिनुपर्ने कुरा के भने सधैँ उमालेको अण्डा मात्र प्रयोग गर्नुपर्छ।
काजु, बदाम
मसल्स बनाउन खोजिरहनेहरुले भने नियमित रूपमा बदाम, काजु, ओखर आदिको प्रयोग गर्नुपर्छ। यसका साथै ड्राइफुडको पनि सहारा लिन आवश्यक छ। किनकि, यसबाट पौष्टिक तत्व, भिटामिन बी, ई, आइरन, पोटासियम, म्याग्नेसियम, खनिजलगायतका तत्व प्राप्त गर्न सकिन्छ। जसले मसल्स निर्माणका लागि मद्दत गर्छ।
हरियो तरकारी
अधिकांश तरकारीमा क्यालोरीको मात्रा कम हुन्छ। तर, यसबाट फाइबर, फोलिक एसिड, भिटामिन ए, ई र सीसहितको पौष्टिक तत्व प्राप्त हुन्छ।यस्ता तत्वले रक्तचाप सन्तुलित राख्नुका साथै मसल्स निर्माणमा पनि सहयोग गर्छ। तरकारीमा एन्टिअक्सिडेन्ट बढी मात्रामा हुने भएकाले मसल्स बनाउन राम्रो विकल्प हुन्छ।
अन्न
मसल्स बनाउन जीम गइरहेकाहरुले भने फास्टफुड, जंकफुड र प्रोसेस्ड खानेकुराको सेवन अत्यधिक कम गर्न जरुरी छ। यस्तो खाद्य पदार्थको प्रयोग नगर्दा स्वास्थ्यलाई फाइदा गर्छ। यसको सट्टामा अन्नको प्रयोग गर्न सकिन्छ। जस्तै– चामल, गहुँ, दाल आदिबाट बनेका खानेकुरा। यस्ता खाद्यपदार्थले कार्बोहाइड्रेटका साथै ऊर्जा पनि प्रदान गर्छ। ऊर्जा बढी भएमा आवश्यकता अनुसार व्यायाम गर्न सकिन्छ।
फलफूल
मसल्स बनाउन फलफूलको प्रयोग पनि आवश्यक छ, जुन स्वस्थ्यकर पनि मानिन्छ। फलफूलबाट भिटामिन, खनिज तथा कैयौँ प्रकारका पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ। यसले मसल्स निर्माणमा सहयोग गर्छ।
जीमका सकारात्मक पक्षहरु
स्वस्थ मुटु
हाम्रो मुटुको स्वास्थ्य सिधै हाम्रो शारीरिक सक्रियतासँग जोडिएको हुन्छ। हामी जति शारीरिक रुपले स्वस्थ हुन्छौं, त्यति नै हाम्रो मुटु स्वस्थ हुन्छ।यसका लागि दैनिक शारीरिक रुपले धेरै सक्रिय रहन आवश्यक हुन्छ। जो मानिसहरु दैनिक शारीरिक रुपले सक्रिय हुँदैनन्, उनीहरुलाई मुटुसँग जोडिएका विभिन्न रोगहरु लाग्न सक्छ।
राम्रो निन्द्रा
विभिन्न अध्ययनहरुबाट नियमित अभ्यास गर्ने मानिसहरुलाई रातमा निन्द्रा राम्रो आउने प्रमाणित भएको छ। किनभने व्यायामको कारणले हाम्रो शरीरका सर्केडियन रिदम मजबुत हुन्छ, जसले हामीलाई सक्रिय राख्न मद्धत गर्छ। यसैकारण रातमा राम्रो निन्द्रा आउँछ।
शारीरिक ऊर्जा बढ्छ
हामी जीम अथवा व्यायामको कारणले दिनभर सक्रिय रहन सक्छौं। किनभने व्यायामको क्रममा हाम्रो शरीरमा केही खास किसिमका हर्मोनहरु रिलिज हुन्छन्, जसले हामीलाई दिनभर एक्टिभ बनाइराख्न मद्धत गर्छ।
आत्मविश्वास बढाउँछ
नियमित रुपले जीम गर्दा आफ्नो शरीरलाई पर्फेक्ट आकारमा ल्याउन सकिन्छ, जुन आम मानिसको चाहना हो। जसका कारण आत्मविश्वास पनि बढ्छ। शरीरको उत्तम बनावट र सकारात्मक सोचका कारणले आफ्नो घर वा कार्यालयमा पनि पहिलेभन्दा धेरै राम्रो तरिकाले काम गर्न सकिन्छ।