दूधे बालक च्यापेर गिट्टी कुटिरहन्छिन् आमा

औल (तातो लाग्ने ठाउँ) पड्यै सग्रातीय (संक्रान्ति), जुम्ला पड्यै त्यार।
बाली बैँस बौला दुःख मरिजान्छु क्यार।।

गुठीचौर गाउँपालिकाको कार्यालय अगाडिको चौरमा गिटी फोडिरहेकी रुपक्यौडी सार्की दिउँसो अर्नी (खाजा) खानेबेला आफ्ना हात हेर्ने गर्थिन्। राता पिरा हातमा ठेला उठेको देख्दा उनलाई लाग्थ्यो, ‘दुःख यिनै त हुन्।’

राता पिरा हातलाई ढुंगा माटोले फटाएर रगत पुत्पुताउने बनाइदिएपछि उनका आँखा रसाउँथे। यस्तै दुःख भइराखे भनेपछि त बाँचिदैन क्यार भन्ने लागेर बिरह गाउँथिन्।

बालो जोवनले पाएका बौला दुःखले उनलाई बिरक्तिएर विरह गाउन बाध्य पारेको थियो। तर अब त बानी परेको छ। उनलाई लाग्छ, ‘काम गरेपछि मुखमा माड पस्छ। खानाले छोरीहरुका आङ लाग्छ। उनीहरुले पढ्न पाउँछन्।’ त्यसैले उनी नियमित गिट्टी कुट्न जान्छिन्।

‘गिट्टी कुट्दा केही पैसा जोगिन्छ भने खान, लाउन सजिलो भएको छ,’ उनले भनिन्, ‘आफ्नो बल बेचि खाने जिन्दगीलाई सोचेको जस्तो हुँदो रहेनछ। कहिले आठ/नौ सय कमाई हुन्छ। कहिले अलि बढी पनि हुन्छ।’

***

गुठीचौर गाउँपालिका-४ की ४८ वर्षीया देउली जैसी घरको काम सकाएर बचेको समयमा गिट्टी कुट्छिन्। उनी दैनिक एक हजार रुपैयाँ कमाउँछिन्। उनी घरको काम छुटाउँदिनन्। बचेको समय सदुपयोग गरेर गिट्टी कुट्छिन्।

‘दुःख त कहिँ गए पनि कम हुँदैनन्। कमाउन इन्डिया जानेका दुःख हुन् कि गिट्टी कुट्न्या हाम्रा दुःख सबै उस्तै हुन्,’ उनले भनिन्, ‘घरमै बसेर दुःख गर्दा पारिवारिक खुसी मिल्ने रहेछ।’

उनले गिट्टी कुट्न थालेको दुई वर्ष भयो। उनलाई ५१ वर्षीय श्रीमान पूर्ण जैसीले साथ दिने गरेका छन्। घरको काम सकाएर उनी गुठीचौर गाउँपालिका नजिकै गिट्टी फोडिरहेको अवस्थामा भेटिन्छिन्।

एक छोरी र दुई छोराको लत्ताकपडा र पढाई खर्च पनि गिटी बेचेर कमाएको रकमले धानेको अनुभव उनको छ।

जैसी दम्पतीले गिट्टी फोडेर वर्षमा दुई लाख रुपैयाँसम्म कमाउँछन्। ‘कमाएको पैसा छोराछोरीको पढाइ तथा घर खर्चमा लगाउने गरेका छौं,’ श्रीमान पुर्णले भने, ‘बचेको रकम बैंकमा जग्गा गर्ने गरेका छौं।’

***

गुठीचौरमा दर्जनभन्दा बढी महिला गिट्टी कुटेर जीविकोपार्जन गरिरहेका छन्। उनीहरु सबैको कमाई चित्तबुझ्दो छ।

चित्त बुझ्दो कमाई गरिरहेकी अर्की महिला हुन्, हरिमाया सार्की। उनी दूधे बालक च्यापेर गिट्टी कुट्न व्यस्त छिन्। बच्चाको हेरचाह गर्दै काम गर्दा पनि दैनिक ७ सयदेखि एक हजार रुपैयाँसम्म कमाइ हुन्छ।

निरन्तर चार दिन गिट्टी कुट्दा ट्याक्टरको एक ट्रली भरिन्छ। ठेकेदारले एक ट्रलीको तीन हजार पाँच सय रुपैयाँदेखि चार हजारसम्म दिन्छन्।

उनीहरुले कुटेको गिट्टी खलंगा बजार तथा गुठीचौर गाउँपालिका भित्र खपत हुन्छ। गाउँमै धमाधम पक्की घर तथा सरकारी भवन निर्माण भइरहेकाले उनीहरुले तयार पारेको गिट्टीको बजारको समस्या छैन भने बजार मूल्य पनि राम्रो छ।

पछिल्लो समय गाउँपालिका आसपासको क्षेत्रमा उभिएका पहाडमा गिट्टी कुट्न महिलाहरुले चलाइरहेका दुई हात देख्दा लाग्छ, यो क्षेत्रमा हाते क्रसर उद्योग चलिरहेको छ।

लस्करै गिट्टी कुटिरहेका हरेक महिलाका आफ्नै कथाव्याथा छन्। उनीहरुको यो कामलाई धेरैजसोका श्रीमानले पनि साथ दिने गरेका छन्।

दिनभर काममा व्यस्त रहने पुरुषले बिहान बेलुका उनीहरुका लागि खानीबाट ढुङ्गा निकाली दिन्छन्। गिट्टी कुटेर कमाएको पैसा विशेषगरी छोराछोरीको पढाइमा लगानी गर्ने गरेको गुठीचौर-४ का वडाध्यक्ष जग्गी प्रसाद जैशीले बताए।

‘गिट्टी कुट्ने अधिकांश महिलाको श्रीमान, छोराहरु विदेशमा छन्,’ उनले भने, ‘उनीहरुले कमाएको पैसाले घर खर्च गर्छन्। श्रीमानले कमाएको पैसा बचत गर्छन्।’

उनका अनुसार गिटी कुट्ने महिला सबैको घर जस्तापाताले छाएका छन्। कतिपयले अनेत्र घरघडेरीसमेत जोडेका छन्। श्रमलाई माया गर्ने संस्कारको विकास भइरहेको छ।

***

गिट्टी कुट्ने महिलाहरुलाई दुःख भएपनि काममा हिनताबोध नभएको ५७ वर्षीया गोइली सार्कीले बताइन्।

‘सानैदेखि दुःख गर्नुपर्यो। माइतीको धनसम्पत्ति थिएन। यता घरमा पनि काम नगरी खान पुग्दैन,’ उनले भनिन्, ‘आफ्नो खाएर काम गर्दा लाज किन मान्नुपर्यो र? समयको सदुपयोग हुने, कमाइ पनि हुने। यो त खुसीकै कुरा हो।’

उनले ढुंगासँग खेल्ने काम रहर नभएर बाध्यता भएको सुनाइन्। ‘घरमै बसेर रमाउने इच्छा त थियो। भोको पेटले मान्दैन। काम नगरेर खान पुग्दैन,’ उनले भनिन्, ‘छोराछोरीले भोक लाग्यो भन्दा कहाँ गएर माग्ने? गिट्टी कुटेपछि पैसा आउँछ, घरव्यवहार चल्छ।’

प्रकाशित मिति: : 2022-03-18 20:01:00

प्रतिकृया दिनुहोस्