लेटाङ घटना अपडेट : कर्फ्यु आज पनि यथावत्, १२ जना प्रहरीको नियन्त्रणमा

मोरङको लेटाङ क्षेत्रमा सोमबार बिहानैदेखि जारी गरिएको कर्फ्यु आदेश आज पनि यथावत् छ। आज पनि बिहानैदेखि लेटाङ सुनसान छ।

कर्फ्युका कारण त्यस क्षेत्रको अवस्था सोमबार दिनभर नै पनि सुनसान थियो। सडकमा कोही निस्किएका थिएनन् भने प्रहरीको बाक्लो उपस्थिति थियो।

आज पनि बिहानैदेखि प्रहरीको उपस्थिति बाक्लै रहेको छ। स्थानीय एक विद्यालयका शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको विरोधमा भएको झडपका कारण आइतबार बेलुका एक प्रहरीको हत्या भएको थियो।

भीड नियन्त्रणमा पुगेकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। उनीमाथि घरेलु हतियार तथा सिसा प्रहार गरिएको प्रहरीले जनाएको छ।

यही घटनाका विषयमा जानकारी लिन सोमबार दिउसो मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित प्रदेश १ का प्रहरी प्रमुख अरुण कुमार बिसी र मोरङका प्रहरी प्रमुख जनार्दन जिसि सहितको टोली घटनास्थलमा पुगेको थियो।

घटनास्थलको निरीक्षणपछि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले स्थिति नियन्त्रणमा लिनका लागि जारी गरिएको कर्फ्युलाई सहजीकरण गरी व्यवस्थापन गर्नेतर्फ आफूहरू लागि परेको जानकारी गराए। कानुन हातमा लिने प्रयास गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने उनले दाबी समेत गरेका छन्।

प्रमुख जिल्ला अधिकारी दाहालले आफ्नो क्षति सहेर भए पनि प्रहरीले संयमयता अपनाएको बताए। आगामी दिनमा यस्ता प्रकारका घटना हुन नदिन प्रहरी सचेत भएर लाग्ने पनि उनले उल्लेख गरे। घटनाका विषयमा जानकारी लिइसकेपछि प्रमुख जिल्ला अधिकारी सहितको टोलीले स्थानीय जनप्रतिनिधीहरुलाई सहजीकरणको लागि प्रयासहरू थाल्न आग्रहसमेत गरेका थिए।

लेटाङ घटना प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले अहिलेसम्म १२ जनालाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गरिरहेको छ। पक्राउ परेकाहरूलाई सोमबारै मेडिकल परीक्षण समेत गराइएको थियो। प्रहरी श्रोतका अनुसार प्रहरीले नियन्त्रणमा लिएका मध्ये अधिकांशले मदिरा सेवन गरेको पाईएको थियो।

प्रकाशित मिति: : 2022-03-22 11:02:00

प्रतिकृया दिनुहोस्