जुम्लाकाे गौरीगाउँका बालबालिकाकाे हरिबिजोग : खुला चौरमा बसेर पढ्न बाध्य

खुला चौरमा विद्यार्थी र शिक्षक। पछाडि भत्किएको र नाजुक कक्षाकोठा र भवन। यो दृश्य हो, जुम्लाको कनकासुन्दरी गाउँपालिका– ३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयको।

यतिले मात्रै विद्यालयको अवस्थालाई चित्रण गर्दैन। दुई कोठाका तीनवटा भवन र त्यहाँका छ वटा कोठा विद्यार्थी बस्न लायक छैनन्।

जसले विद्यार्थी र शिक्षकलाई खुला चौरमा लगेको छ। पढ्ने गतिलो कोठा नभएपछि अगतिलो बाहिरिया वातावरणमा पढाउन बाध्य भएको विद्यालयका प्रधानाध्यापक हरिबहादुर बुढा बताउँछन्।

‘विद्यार्थीको स्तर, सिकाई उपलब्धि र विद्यालयको गुणस्तरमा प्रत्यक्ष असर परेको छ,’ उनले भने, ‘विद्यालयमा तीनदेखि १२ वर्षसम्मका विद्यार्थी आउने गरेका छन्।’

उनका अनुसार ती साना बालबालिकाको हरिबिजोग छ। गाउँघरका विद्यार्थीले सुविधासम्पन्न ठाउँका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नुपर्ने जमाना छ। हाम्रो क्षेत्र त त्यसै पछि पर्छ।

विद्यार्थी मंसिर महिनाको कठ्याङ्ग्रिँदो जाडोमा समेत चौरमै बसेर पढिरहेका गाउँलेको भनाइ छ।

विद्यार्थीहरुलाई बस्नको लागि कक्षा कोठा नभएर शैक्षिक सामाग्रीको प्रयोग गरेर शिक्षण गर्न कठिनाइ भएको प्राधानाध्यापक बुढाको भनाइ छ। दिनभर चौरमा बसेरै पढिरहेको कक्षा ५ का विद्यार्थी निराजन बुढाले  बताए।

‘चौरमा बसेको बेला हावाहुरी चल्यो भने झरि बिदा हुन्छ,’ उनले भने, ‘पानी आयो भने घरबाटै नगए पनि हुन्छ।’

विद्यालयमा ४० घरपरिवारका विद्यार्थीहरु  अध्ययन गरिरहेका व्यवस्थापन समितिका अध्यक्ष हर्क बुढाले बताए।

‘विद्यालयको अवस्था हेरेर कतिपय अभिभावकले आफ्ना छोराछोरी निजीमा पढ्न पठाउने गरेका छन्,’ उनले भने, ‘विद्यालयको अवस्था नाजुक भएका कारण अभिभावकको चासो पनि कम हुन थालेको छ।’

उनका अनुसार धेरैजसो अविभावकका छोरा निजीमा विद्यालयमा जानु, स्थानीय तहले सार्वजनिक शिक्षाको गुणस्तर सुधार्ने विषयमा ध्यान नदिनु आदि कारणले विद्यालय झन्झन् जिर्ण बन्दै गएको छ।

प्रकाशित मिति: : 2022-03-25 07:00:00

प्रतिकृया दिनुहोस्