लिबाङमा प्रचण्ड, थबाङमा एमाले

Breaknlinks
Breaknlinks

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आएका छन्। उनी पार्टीको आमसभासँगै जनयुद्ध स्मृति भ्यूटावरको उद्घाटन गर्न हेलिकप्टर चढेर लिबाङ आइपुगेका हुन्।

युद्धताका रोल्पा–रूकुममा बसेका प्रचण्डलाई शान्तिकालपछि भेटेर माया–ममता साट्न निकै मुस्किल परेको स्थानीयहरूको गुनासो छ। उनी स्थानीय तहको निर्वाचनका लागि भोट माग्न सात वर्षपछि हेलिकप्टर चढेर रोल्पा ओर्लिएका हुन्।

प्रचण्डले सातदोबाटोस्थित जनयुद्ध स्मृति भ्यूटावरको उद्घाटन र पार्टी आमसभालाई सम्बोधन गर्नेछन्। सभालाई प्रचण्डसँगै प्रवक्ता कृष्णबहादुर महरा, नेत्री जयपुरी घर्ती, केन्द्रीय सदस्य जोखबहादुर महरा, सीता आचार्यलगायतका नेताहरूले सम्बोधन गर्ने माओवादी केन्द्र रोल्पाले जनाएको छ।

माओवादी आन्दोलनका हस्तीहरू ‘नाइके प्रचण्ड’, डा. बाबुराम भट्टराई, कृष्णबहादुर महरा, नन्दबहादुर पुन, वर्षमान पुन, ओनसरी घर्ती पटक–पटक सत्तामा पुगे। सर्लक्कै  फेरिए तर युद्धको लाल किल्ला रोल्पा भने उस्तै छ।

प्रचण्डले नेतृत्व गरेको वर्ग संघर्षको महान आन्दोनलप्रति आम–रोल्पालीहरूको उच्च सम्मान छ। उनीहरू दश वर्षे माओवादी युद्धलाई ठूलै उपलब्धि र गर्वलाग्दो इतिहास ठान्छन्। उनीहरू भन्छन्, ‘संसार फेर्न हिँडेका हाम्रा नेताहरू काठमाण्डू पुगेपछि आफैँ फेरिए तर रोल्पाली अहँ... फेरिएनन्। हामीहरूको दैनिकी उस्तै छ। हाम्रा दुःख हिजो जहाँ थिए, आज पनि त्यहिँ छन्।’

१० वर्षे युद्धकालमा अध्यक्ष प्रचण्डले ऐतिहासिक कम्युनिष्ट किल्ला थबाङलाई राजधानीको नाम दिँदै भ्रम छर्थे। उनको कुरा पत्याएर हजारौँ रोल्पालीहरू माओवादी आन्दोलनमा लागेको स्थानीय नेताहरूको दाबी छ।

आज उनै प्रचण्ड निर्वाचन आएपछि मात्रै मतदानलाई आश्वासन बाँड्न रोल्पा–रूकुम आउँछन्। संयोग पनि गजबको छ। प्रचण्ड लिबाङ आउँदा, एमाले थबाङ पुगेको छ। प्रचण्डको ‘ऐतिहासिक राजधानी’ थबाङमा यतिबेला नेकपा (एमाले) संगठन विस्तार गरिरहेको छ।

थबाङमा पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम टोल–टोलमा चलिरहेको नेताहरू बताउँछन्। एमाले पार्टी थबाङमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाइरहेको युवा नेता प्रेम घर्तीमगरको भनाइ छ। माओवादी आन्दोलनको ‘आधार क्षेत्र’ थबाङका बासिन्दाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई थबाङ भ्रमणको निम्तो पनि दिएका छन्।

खामभाषीको ऐतिहासिक गाउँ थबाङ पञ्चायतकालदेखि नै ‘कम्युनिष्ट किल्ला’का रुपमा चिनिन्छ। १० वर्षे माओवादी सशस्त्र द्वन्द्वपछि सो क्षेत्र माओवादी पार्टीको ‘आधारक्षेत्र‘का रुपमा परिचित थियो। एमाले केन्द्रीय सदस्य तथा रोल्पा इञ्चार्ज भएपछि थबाङ निवासी नवीन रोकामगरले अहिले थबाङमा एमालेको प्रभाव बढाउन चाहेका छन्।

भरोसा गरेका नेताहरूबाटै सहिद, जनता र देशप्रति घात भएकोप्रति पूर्व लडाकू प्रेमबहादुर विकले दुखेको पोखे। उनले भने, ‘जनयुद्धका योद्धा र सहिदहरूको सपनालाई साकार पार्न नयाँ मोर्चा, विचार, योजना, जोश र उचाइका साथ नयाँ कदम अघि बढाएका छौँ। त्यसैले सिङ्गै रोल्पा, पूरै थबाङ ब्युँझनै पर्छ। जनयुद्ध लडेका योद्धाहरूको पसिना र जीवनप्रति घात भएको छ।’

अध्यक्ष प्रचण्ड लिबाङको कार्यक्रम सकेर आजै हेलिकप्टरमार्फत् काठमाडौं फर्किने छन्। उता थबाङ पुगेको एमाले भने हप्तादिन संगठन विस्तार, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा रम्नेछ।

प्रकाशित मिति: : 2022-03-28 12:10:00

प्रतिकृया दिनुहोस्