दीपक कार्की भन्छन्ः एमालेको जितलाई कसैले रोक्न सक्दैन

स्थानीय तहको निर्वाचन नजिकिदैछ। २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरू जित आफ्नो पक्षमा पार्नलाई सोही अनुरूपको तयारीमा जुटिसकेका छन्।

दलहरू निर्वाचन लक्षित गतिविधिमा सक्रिय भइरहेको अवस्था छ। नेता, कार्यकर्ताहरू मतदाता केन्द्रीत भेटघाटमा अभियान नै सञ्चालन गरेर लागिसकेका छन्।

निर्वाचनमा जित हासिल गर्न नेतृत्व तहमा कार्ययोजना बनाएर भेटघाटको अभियानलाई तीब्र बनाइएको छ। यसै सन्दर्भमा नेकपा एमाले झापा स्थानीय तहको निर्वाचनमा कसरी जुटेको छ ? विगतको जितलाई बचाउँदै एमालेलाई फेरि पहिलो पार्टी बनाउन के कस्ता अभियान सञ्चालन गरिदैछ ? जित हासिल गर्न एमालेको रणनीति के हो भन्ने बारेमा नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीसँग प्रदीप परियारले गरेको कुराकानीकाे सार–


आसन्न स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्न नेकपा एमाले झापा के गर्दैछ ?

नेकपा एमाले झापा आसन्न स्थानीय तहको निर्वाचनका लागि जनपरिचालनमा जुटेको छ। मतदाताको घरमा पुग्ने काम भइरहेको छ। ‘म मेरो वडा जिताउँछु, म मेरो पालिका जिताउँछु’ भन्ने अभियानसहित मतदाताको घरघरमा पुग्ने काम अभियानको रूपमा सञ्चालन भइरहेको छ। सँगसँगै मत सर्वेक्षण गर्ने, मतआकर्षित गर्ने, पार्टी प्रवेशको काम पनि तीब्र ढंगबाट अघि बढाइएका छौं। कतिपय ठाउँमा पार्टी प्रवेश गरेर अविर लगाउन नचाहनेहरू जो एमालेको शुभेच्छुक हुनुहुन्छ, उहाँहरूलाई आवद्धता पत्र दिदैंछौं। एमालेको अभियान देखेर विपक्षी दलहरू पनि त्यस्तै काममा लागेका छन्।

जिल्लामा पार्टी प्रवेशको कार्यक्रम प्रतिस्पर्धा जस्तो देखिदैछ नि ?

हामीले हाम्रो सरकारको नेतृत्वमा गरेको कामले पार्टीमा प्रवेशको लहर चलेको छ। एमालेमा समाहित हुनेहरूको उत्साह बढेको सबैले देखिरहेकै छौं। समृद्ध नेपाल, सुखी नेपालको महाअभियानले सबैलाई एमालेमा जोडिन हौसला प्रदान गरेको छ।

एमालेमा उत्साहित भएर प्रवेश गरेको विषयलाई अन्य पार्टीसँग प्रतिस्पर्धा गरेको भन्न मिल्दैन। हाम्रो लोकप्रियताले आत्तिएका विपक्षीहरूलाई प्रतिस्पर्धामा उत्रिएको भन्न सुहाउछ। स्वभाविक रूपमा पार्टी प्रवेश एमालेको सबैभन्दा राम्रो छ।

एमालेमा प्रवेश गर्नेहरू बढे भन्नुको अर्थ विगतमा भन्दा यो निर्वाचनमा मत धेरै पाइन्छ भन्ने हो ?

स्वभाविक हो, मतदाताको संख्या पनि बढेको छ। हामीलाई मत दिनेहरूको संख्या पनि बढाएका छौं। त्यसैले विगतमा भन्दा हामी बढि मत पाउँछौं। मत पाउँनका लागि पात्रको पनि उत्तिकै भूमिका हुन्छ। लोकप्रिय पात्र भएमा मात्रै बढि मत पाउन सकिन्छ। पात्रको चयनमा हामीले गलत गर्यौ भने पराजय व्यहोर्नुपर्छ। जनचहाना अनुसारको पात्र तयार गर्न सफल भयौ भने एमालेको जितलाई कसैले रोक्न सक्दैन।

भनेपछि विगतमा भन्दा नतिजा पनि राम्रो आउँछ भन्ने हो ?

नतिजा राम्रो आउने कुरामा दुईमत छैन। अघिल्लो स्थानीय चुनावमा जित्ने ठाउँमा टाउको गुमायौं। बलियो ठाउँमै गोलाप्रथाबाट जित्नुपर्यौ। यो पटक ति टाउका पनि वित्छौं, गोलाप्रथा पनि गर्नुपर्दैन। दक्षिण क्षेत्रमा हामी सामान्य कमजोर थियौं, विगतमा। यो निर्वाचनमा त्यहाँको नतिजा पनि उल्टाउछौं।

त्यसका आधारहरू ?

त्यसको आधार भनेको हाम्रो संगठन विस्तार नै हो। अर्को, समग्र समुदायको आकर्षण नै हाम्रो पार्टीमा छ। एमालेले विकास निर्माणमा चलाएको लहर अर्को आधार हो। दक्षिण क्षेत्रको कुरा गर्ने हो भने, हुलाकी मार्ग हाम्रो सरकारको नेतृत्वमा बन्यो। त्यो कुरा स्थानीय मतादाता, जनताले बुझ्नुभएको छ। हुलाकी बनाउने एमाले नेतृत्वको सरकारलाई स्मरण गर्दै अन्य पार्टीका शुभेच्छुक समेत एमालेलाई मत दिन आतुर हुनुभएको छ। हामीले गरेका काम नै निर्वाचन जित्ने मुख्य आधार हुन्।

झापामा नेकपा एमाले एक्लै चुनावमा जाँदैछ। अन्य दलहरू गठबन्धन गरेर चुनावमा जाने तयारी गर्दैछन्। त्यो अवस्थामा तपाइले भने जस्तो नतिजा कसरी आउन सक्छ ?

हाम्रो शक्ति देखेर अन्य दल गठबन्धनमा लागेका हुन्। एमालेसँग एक्लै भिड्न सकिदैन भनेर नै गठबन्धनमा लागेका हुन्। दलहरूमा गठबन्धन भए पनि मतदातामा गठबन्धन हुँदैन। मतदाताले स्वतन्त्र ढंगले आफ्नो प्रतिनिधि छान्छन्। स्थानीय चुनाव केन्द्रको चुनाव जस्तो हुदैन। त्यसैले गठबन्धन परास्त हुन्छ।

झापामा एमालेको तालमेल के हुन्छ ?

एमालेले साना दल, स्वतन्त्र समूहहरू, भावना मिल्नेहरूसँग तालमेल गर्छ। त्यसका लागि हामीले ढोका खुल्ला राखेका छौं।

तपाई भर्खरै झापा एमालेको अध्यक्ष बन्नु भएको छ। तपाईको टार्गेट के हो ? कति जिताउने योजना छ ?

प्रतिशतमा नभनौं, हामीले जित्नै पर्ने ठाउँमा टाउको हारियो। जस्तै, गौरादह, मेचीनगर, हल्दिवारी, बुद्धशान्तिमा मेयर र अध्यक्षमा हारियो। हामी यी ठाउँहरू फर्काउँछौं र अन्य ठाउँ कायम राख्छौं। कमल गाउँपालिकामा गोलाबाट अध्यक्ष जित्नुपरेको थियो। यो पटक निकै मत अन्तर ल्याएर जित्दैछौं। हुलाकी क्षेत्रमा पर्ने पालिकामा पनि जित्ने निश्चित भएकाले हाम्रो प्रतिशत त ह्वात्तै बढिहाल्छ नि।

टिकट माग्नेहरूको भीड कस्तो छ ?

निर्वाचनको मिति नजिक आइसकेको कारण टिकट माग्नेहरू आउनु स्वभाविक छ। आकांक्षीहरू धेरै हुनुहुन्छ, त्यसमध्ये असल पात्र, जनताको बिचमा लोकप्रिय पात्र, जनताले रूचाएको व्यक्तिहरूलाई उम्मेद्वारको रूपमा उभ्याउन तयार छौं।

धेरै जसो ठाउँमा बहालवाला जनप्रतिनिधि नै फेरि दोहोराउने पक्षमा हुनुहुन्छ। उहाँलाई नै टिकट दिने संभावना के हुन्छ ?

कतिपय ठाउँमा हुन सक्छ, कतिपय ठाउँमा नहुन पनि सक्छ। उहाँहरूले गरेका काम र जनताको बिचमा कमाउनु भएको लोकप्रियतालाई आधार मानेर टिकट दिन सकिन्छ। अर्को, उहाँहरूको पार्टीप्रतिको त्याग र निष्ठालाई पनि ख्याल गरिन्छ। उहाँहरूले जनप्रतिनिधि भएर कति इमान्दारिताका साथ काम गर्नुभएको छ, त्यसको मुल्याङकन गरेर दोहोर्याउने वा नदोहोर्याउने कुराको निर्णय लिइन्छ।

अहिलेका जनप्रतिनिधिले गरेका काम सबै सन्तोषजनक छ ?

त्यसैको मुल्याङकन भइरहेको छ।

अघिल्लो निर्वाचनमा जहाँ टाउको हारियो, त्यहाँ अन्तरघात भएको चर्चा पनि भयो नि ?

त्यो बेला हामीले समयको पदचापलाई चिन्न सकेनौं। र, पात्र चयनमा पनि कमिकमजोरी भए। पात्रको भूमिकाले पनि केहि असर गरेको हुन सक्छ। त्यसलाई अन्तरघात नभन्ने पो हो कि।

म पाँच पटक निर्वाचन लडें। पाँचै पटक मत परिणाम फरक आयो। त्यसको मतलव, कहिले कुन क्षेत्रबाट बढि आउँछ, कहिले कुनै ठाउँबाट कम आउन सक्छ। यसमा हामीले बुझ्नुपर्ने कुरा भनेको मतदाताको अपेक्षा हो। को के कुराले रिसाइरहेको हुन्छ, ख्याल नगर्दा मतको प्याट्रनमा तलमाथि हुन सक्छ। यदि पार्टीको मत नै घटेर आयो भने त्यो चै अन्तरघात हो।

लामो समयको चहानापछि तपाई पार्टी नेतृत्वमा आउनुभएको छ। तपाईको नेतृत्वले मत परिणाममा केहि फरक पार्छ त ?

म पार्टी नेतृत्वमा आएपछि कोहि पनि बेखुस भएको मैले बुझेको छैन। सर्वसम्मतीबाट आएको हुँदा सबै पार्टीपंती खुशी छ। कोही पनि नाराज भएजस्तो लाग्दैन। कसैलाई टाढा, कसैलाई नजिक बनाएको छैन। सबैलाई समान ढंगले लिएर हिडेको छु। सबै नेतृत्व तहमा मेरो उपस्थितिलाई सकारात्मक लिएको हुँदा सोही अनुसारको परिणाम हात पार्न सक्ने कुरामा विश्वस्त छु।

झापा एमालेको चुनावी अभियान आक्रामक भएन भन्ने पनि सुनिन्छ ?

समय आएपछि आक्राम हुने हो। अभियान जारी छ। सुस्त भएको पनि होइन। आवश्यकतालाई मध्यनजर गरेर आक्रामक हुने बेला आउँदैछ। अभियान विस्तारै तात्दैछ , विस्तारै तपाईले भनेजस्तो आक्रामक भइहाल्छ।

तपाईको उम्मेद्वारीको कुरा के हो ?

मेरो उम्मेद्वारी भन्दा पनि पार्टीको समग्र उम्मेद्वारको सवाल चै पहिलो प्राथमिकता हो। पार्टीको निर्णयलाई पालना गरेर अघि बढ्छु। त्यो विषय साथीहरूबाट आउला। भरसक, साथीहरू नै आउनुहोस्। म नै फेरि फर्किनुपर्ने कुराको औचित्य प्रष्ट आउनुपर्छ। सार्थीहरू र म ठोस् निर्णयमा पुगिसकेका छैनौं। पुगेपछि स्पष्ट हुन्छ।

गौरादहको टाउको आफै फर्काउने सुनिएको छ नि ?

आफै फर्काउने भनेको नेकपा एमालेले फर्काउने भनेको हो। म अरू, साथीहरूलाई नै उभ्याएर जाने भन्ने पक्षमा छु। अब पार्टीले त नै हो भन्ने निर्णय गर्यो भने पार्टीको निर्णयलाई मैले शिरोधार्य गर्नैपर्छ। त्यसको औचित्य त प्रष्ट हुनुपर्यो नि।

त्यसो भए तपाईले आफुलाई प्राथमिकतामा राख्नु भएको छैन ?

राखेको छैन, साथीहरूले मलाई भनिरहनु भएको छ। तर, मैले साथीहरूलाई आफै तयारी हुनुहोस् भनिरहेको छु।

उम्मेद्वारको टिकट लिन विभिन्न स्वार्थ बोकेर आउनेहरूलाई के भन्नुहुन्छ ?

त्यसरी आउनेहरूलाई मेरो अध्ययन र बुझाइ अनुसार सिफारिस गर्छु। आकांक्षा राखेर आउनु नै अपराध होइन। त्यसरी आउनेहरूलाई ‘म’ भन्ने त्याग गर्नु भन्छु। ‘म’ भन्दा पनि पार्टी जिताउछु भनेर आउन आग्रह गर्छु। पार्टीको निर्णय शिरोधार्य गर्छु भन्नुहोस्, त्यसपछि मात्रै आफुलाई प्रस्तुत गर्नु भन्ने मेरो सूझाव रहनेछ। विभिन्न कारण देखाउदै साथीहरू आउनु भइरहेको छ। मैले उहाँहरूलाई तपाईको यस–यस कारण तपाईको संभावना देखिरहेको छैन पनि भनिरहेको छु। त्यस्ता पात्रलाई व्यक्तिगत रूपमा पनि सूझाव दिने काम भइरहेको छ।

त्यसरी आउनेहरूले के कुरालाई ख्याल गर्नुपर्ला ?

वहालवालाहरूलाई आफ्नो पाँच वर्षे कार्यकालको समिक्षा गर्न भन्छु। तपाई प्रति मतदाता कति सन्तुष्ट हुनुहुन्छ ? पार्टी कति सन्तुष्ट छ ? विचार गर्न आग्रह गरिनेछ। प्रिय जनप्रतिनिधि भए कि प्रशासक भए ? त्यसको हिसाव सुनाउनुपर्छ। पुलिस, सिडियो जस्तो आदेश चलाएर समय विताइयो कि, साथीभाइसँग मिलेर काम गरियो। कार्यपालिकामा कसरी काम गरियो त्यसलाई मध्यनजर गर्नैपर्छ।

पार्टीसँग राम्रै सम्बन्ध राखेर काम गरेका होलान् नि, वहालवाला जनप्रनितिनिधिहरूले ?

विल्कुल, हार्दिकता समेत राखेको छैन। एकाध ठाउँ बाहेक पार्टीपंतीसँग समन्वय समेत गरेको पाइदैन। एकाध ठाउँ बाहेक साथीहरू पार्टीलाई पेलेर काम गर्नुभएको छ। केहि ठाउँमा पार्टीसँग समन्वय गरेर काम गर्ने साथीहरूको काम भए, नभए पनि पार्टीले त्यसको जिम्मेवारी लिएको छ। बाँकी ठाउँमा पार्टीले काम गर्न दिएन भन्ने मिथ्या आरोप लगाइरहनु भएको छ।

अन्त्यमा

नेकपा एमाले झापा निर्वाचन अभियानमा अघि बढेको छ। जित हासिल गर्न मात्र होइन, बढिभन्दा बढि सिट जित्न एमाले मैदानमा खटिएको छ। त्यसको परिणाम हामी पाउने नै छौं। र, सम्पूर्ण मतदाताहरूलाई एमालेले गरेका कामलाई स्मरण गरिदिन आग्रह गर्छु। देश बनाउने एमालेलाई विजयी गराउन आव्हान गर्दछु।

प्रकाशित मिति: : 2022-03-31 19:00:00

प्रतिकृया दिनुहोस्