कांग्रेसको विरासत जोगाउन वडाध्यक्षमा महेन्द्रको दाबी

झापाको कमल गाउँपालिकामा एउटै मात्र वडा जितेर नेपाली कांग्रेसले नेकपा एमालेलाई ‘क्लीन स्वीप’ गर्नबाट रोकेको थियो। ०७४ को स्थानीय चुनावमा सिंगो पालिकाको ७ मध्ये ६ वटा वडामा एमाले र एउटामा कांग्रेसले जित हात पारेका थिए।

कमलको त्यही एउटा वडा, जहाँ कांग्रेसको विरासत भत्किन नदिन महेन्द्र भट्टराई लागिपरेका छन्। अर्थात कमल गाउँपालिका-१ मा कांग्रेसका तर्फबाट उनी वडाध्यक्ष उम्मेदवारको सशक्त दाबेदार हुन्।

सानै उमेरदेखि नेपाली कांग्रेसमा आस्थावान भट्टराईले कमलको १ नम्बर वडामा विरासत जोगाउलान्/नजोगाउलान्, त्यो प्रतीक्षाकै विषय छ। तर, उनले काठमाडौंको कोटेश्वर बहुमुखी क्याम्पसमा भने अखिलको विरासत भत्काएका थिए। स्थापनाकालदेखि नै अनेरास्ववियूले जित्दै आएको कोटेश्वर क्याम्पसको स्ववियू निर्वाचनमा उनले नै वाम बर्चश्व तोडेका हुन्। २०६५ सालको स्ववियू चुनावमा उनी सो क्याम्पसमा सभापतिमा निर्वाचित भएका थिए।

उनी अहिले विद्यार्थी राजनीतिमा छैनन्। नेविसंघमा उमेर हदका कारण पार्टी राजनीतिमा उनी सक्रिय छन्। आफ्नो भूमिका र योगदानलाई मूल्याङ्कन गर्दै पार्टीले वडाध्यक्ष पदमा आफूलाई टिकट दिनुपर्ने उनको जिकिर छ।

३६ वर्षीय महेन्द्र हाल कांग्रेसको क्षेत्रीय प्रतिनिधिको भूमिकामा छन्। पार्टी राजनीतिमा जति सक्रिय छन्, त्यति नै सामाजिक काममा पनि महेन्द्र खटेका छन्।मानवीय सहयोगको पक्षलाई आत्मसात् गरी रगत संकलन, सरसरफाइ, दुर्घटना, प्राकृतिक प्रकोप, महामारीमा परेकाको उद्धार, उपचार, पुनर्स्थापना र राहत वितरणमा उनको सक्रिएता रहँदै आएको छ।

यसअवधिमा आफ्ना कारणबाट कसैलाई ठेस पुग्ने काम नगरेको उनको भनाई छ। ‘एउटा असल, सहयोगी र उदाहरणीय व्यक्तिकै रुपमा आफूलाई उभ्याएजस्तो लाग्छ। मैले केही त्रुटी गरेको जस्तो आभास हुँदैन’, महेन्द्र भन्छन्।

वीपी कोइराला उनका प्रेरणाका स्रोत हुन्। अहिलेको पुस्तामा प्रजातान्त्रिक संस्कार खट्किन थालेको भन्दै उनले वीपीका विचार आत्मसात गर्न सबैलाई सुझाएका छन्। पार्टीभित्र नेतैपिच्छेका कार्यकर्ता भएकाप्रति उनलाई निको लाग्दैन रे ! भन्छन्, ‘कांग्रेसका सबै नेता उत्तिक्कै सम्मानित छन्, यो वा त्यो पक्ष भनेर विभक्त हुनु राम्रो होइन।’

आउँदो स्थानीय चुनावकै सन्दर्भमा आफू हरेक हिसाबले वडाध्यक्षमा उठ्न योग्य रहेको उनी बताउँछन्। ‘खान र लाउन मात्रै हामी जन्मेका होइनौँ’, महेन्द्रले भने, ‘हामी यो देशका लागि केही गर्न सक्छौँ भनेर अघि बढेका युवा हौँ। पार्टीले अवसर दिनुपर्छ भन्ने मेरो आग्रह हो।’

महेन्द्रले १ नम्बर वडाको युवा पंक्तिमा राम्रो पकड बनाएका छन्। खासगरी उनलाई उर्जावान राजनीतिकर्मीका रूपमा चिन्नेहरु धेरै छन्। पार्टीमा योगदान पुर्याएअनुसार कुनै अवसर नपाएका कारण यसपटक उनको सम्भावना बलियो रहेको स्थानीय कांग्रेसजनहरु बताउँछन्।

आफूले वडाको विकासका लागि स्पष्ट खाका बनाएको र सोहीअनुसार काम गरेर देखाउन वडाध्यक्षमा उम्मेदवार हुन पाउनुपर्ने उनको जिकिर छ।स्ववियूमा सभापतिका रुपमा गरेको कामले वडामा पनि काम देखाउने आत्मविश्वास जागेको उनी बताउँछन्।

जनतामा विश्वास सिर्जना गरेकाले आफू आसन्न निर्वाचनमा स्वाभाविक रूपमा वडाध्यक्षको दाबेदार रहेको महेन्द्रको भनाइ छ।

‘मैले मानिसका समस्याहरू नजिकबाट देखेको छु, तर ती समस्या वडाध्यक्षको कुर्सीबाट समाधान गर्न सकिने रहेछ,’ उनले भने, ‘म निर्वाचित भएँ भने देखेका र अरु जनप्रतिनिधिले गर्न नसकेका काम गर्छु।’

प्रकाशित मिति: : 2022-04-06 18:30:00

प्रतिकृया दिनुहोस्