हिमा गाउँपालिकामा गठबन्धन भएपनि कांग्रेसले पाउनुपर्छ: लक्ष्मण शाही

Breaknlinks
Breaknlinks

नेपाली कांग्रेस जुम्लाका सचिव लक्ष्मण शाही २०७४ सालमा हिमा गाउँपालिकाको निर्वाचनमा पराजित भएका थिए। जम्मा ४५ मतान्तरमा पराजित भएका उनी हारको कारण पार्टी संगठन कमजोर नभई केही साथीहरूले गरेको अन्तरघात र आन्तरिक व्यवस्थापन भएको बताउँछन्।

उनी चुनावी मैदानमा हुँदाको समयमा हिमामा कांग्रेसको सांगठनिक उपस्थिति बलियो थियो। त्यसैले पनि उनले आफ्नो विजय सुनिश्चित ठानेका थिए। तर एकाएक पासा पल्टियो। अनपेक्षित परिणाम बेहोर्नु परे पनि उनले हार मानेनन्। बरू सफल प्रजातान्त्रिक अभ्यासमा सामेल हुन पाएकोमा खुसी व्यक्त गरे र जित्नेलाई बधाई दिए।

हार जसरी भएपनि उनले जनतासँग पर्याप्त मात्रामा घुलमिल हुन सकिनँ कि भनी समीक्षा गरे र हार लगत्तै जनताको बीचमा गइरहने निर्णय गरे।

धेरैजसो उम्मेदवार हारपछि विरक्तिर जनतासँग दुरी बनाइरहेको परिवेशमा उनले निष्कर्ष निकाले, ‘जबसम्म जनताको बीचमा गएर उहाँहरूका आवश्यकता बुझ्ने, तिनको परिपुर्तिका लागि पहल गर्ने, सम्बन्धित निकायसम्म पुर्याएर समाधानका उपाय निकाल्न सकिँदैन, तबसम्म जनताको असली प्रतिनिधि हुन सकिँदैन।’

स्थानीय सरकारको उपस्थिति कमजोर भएको बेला उनको सक्रियता झन् बढ्यो। कोरोनाका तीनवटै लहरमा उनी मास्क र स्यानिटाइजर बोकेर जनताको घरघरमा गए। स्कुल-स्कुलका समस्या बुझ्दै गए। अघिल्लो वर्ष मात्रै उनले कालिका मावि बड्कीमा एक लाख ५१ हजार एक सय ५१ नदग सहयोग गरे। सदरमुकाममा हुँदा हिमाका जनताले ल्याएर आएका प्रशासनिक समस्याहरू सुल्झाइरहे। यिनै गतिविधिले उनी जनताका प्रिय पात्र बन्दै गइरहेका छन्।

राजनीति जनताको सेवाका लागि हो भन्ने मान्यता बोकेका उनले दूरी बनाएर जनताको सेवा गर्न सकिँदैन भनि राम्ररी बुझेका छन्। त्यसैले हारलाई प्रजातन्त्रको सुन्दर पक्ष मानेर जितेका प्रतिनिधिले जनतासँग गरेका बाचा पूरा नगरे रचनात्मक आलोचना गरिरहने भनेका थिए। त्यो उनले आज पर्यन्त गरिरहेका छन्।

‘स्थानीय तहमा प्रतिपक्ष हुँदैन। त्यसैले हामी हार्नेहरूले नै प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘प्रतिपक्ष बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ। मलाई लाग्छ हिमामा प्रजातन्त्र बलियो छ।’

सत्तापक्षले एकल निर्णय गरिरहँदा उनी प्रजातन्त्र खतरामा पर्ने भनी खबरदारी गरिरहन्छन्। स्थानीय सत्ताका प्रतिनिधिका कमजोरी र सुधारात्मक पक्षहरू बारे बोलेपछि जनतामा पलाएको विद्रोही भावनाले उनको आत्मविश्वास बढेको छ।

जनतामा पलाएको विद्रोही भावनाले नै एमाले, माओवादीलगायतका पार्टीबाट विद्रोह गरेर नेपाली कांग्रेसमा आउनेको संख्या बढेको उनी बताउँछन्। संगठनलाई उर्जाशिल बनाउनका लागि झण्डै साडे तीन सय कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्। जसले हिमामा कांग्रेस झन् बलियो हुँदै गएको छ। यो अवधिमा कांग्रेस छोड्नेको संख्या जम्मा छ जना मात्रै छ। यसै कारण उनी ठोकुवा गर्छन्, ‘हिमामा हाम्रो विजय सुनिश्चित छ।’

उनले हिमाका सातवटा वडाको विकासका लागि पेश गरेका योजनाहरूलाई सत्तापक्षले वास्ता गर्ने कुरै आएन। त्यसैले उनी माटो सुहाउँदो योजनाले हिमाको विकास हुन्छ भनी जनतालाई सचेत बनाउने काम गरिरहेका छन्।

उनका ती योजनामा कृषि क्षेत्रको आधुनिकीकरण गरी कम श्रममा उत्पादन बढाउने उपायहरू पर्छन्। ‘गरिब जनताका छोरोछोरी पनि कृषि विज्ञ बनाउनको लागि उच्च शिक्षामा पुग्दो छात्रवृत्ति दिने, प्राविधिक जनशक्तिमा आत्मनिर्भर हुनको लागि मनग्य लगानी गर्ने लगायतका योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि म प्रतिवद्ध छु,’ उनले भने, ‘शिक्षालाई समय सापेक्ष र अन्तर्राष्ट्रिय मापदण्डको बनाउन तथा त्यसलाई हिमाको विकासमा लगाउने सकिने गरी योजनाहरू निर्माण गर्न सकिने आधार मसँग छन्।’

हिमामा २२ वटा सामुदायिक विद्यालयहरू छन्। छ वटा माविमध्ये ११-१२ पढाइ हुने एउटा मात्रै विद्यालय छ भने प्राविधिक शिक्षामा हिमा निकै पछाडि छ। स्वास्थ्य चौकीको अवस्थामा पनि व्यापाक सुधारको आवश्यकता रहेको शाहीले बताए।

’कालिकाखेतुमा स्वास्थ्य केन्द्र छ। डाक्टरको दरबन्दी छ। त्यहाँ उपकरण र जनशक्ति थप्न सकेको खण्डमा जनताको स्वास्थ्य स्थितिमा सुधार हुने थियो भने कालिकोटसम्मका जनताले सेवा लिन पाउने थिए,’ उनले भने, ‘जनप्रतिनिधि जिम्मेवार र उत्तरदायी हुन सकेको खण्डमा हिमाको स्वास्थ्य क्षेत्र, भौतिक, आर्थिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिक सबै क्षेत्रको विकास सम्भव छ।’

हिमा गाउँपालिका धार्मिक पर्यटनको उच्च सम्भावना भएको क्षेत्र हो। नेपाली राष्ट्रिय भाषा र खस सभ्यताको उत्पतिस्थल भएको हुनाले संसारभरका मान्छे तीर्थस्थल सिंजालाई बनाउन सकिने उनको मत छ।

‘मोफ्लामा हरेक वर्ष कोजागरात पूर्णिमामा लाग्ने मेलाको महत्त्व अलग छ। त्यसबेला हजारौं पर्यटकहरू मोफ्ला पुग्छन्। यसको प्रचार मात्रै गरिदिन सके विदेशी पर्यटकसमेत भित्र्याउन सकिन्छ’, उनले भने, ‘पाथरखोलाको अ‍ैडाकोटको देउता, कुडुको गुरो मष्टो, बड्कीको कालासिन्दुलगायत देउताकै कारण सामाजिक सम्बन्ध बलियो बनेको छ।’

सिंजाकै सबैभन्दा ठूला ओदीको लामा विष्णु देउता सांस्कृतिक समन्वयको प्रतीक हुन्। लामा भनेको बुद्ध धर्मका हुन् भने विष्णु हिन्दु धर्मका हुन्। यी दुबैको धामी हुनु र थानमा पुजा लाग्नु मष्टो परम्परा हो। यति ठूलो सांस्कृतिक समन्वय भएको हिमाको विकास धार्मिक पर्यटनबाटै गर्न सकिने उनको राय छ।

‘गाउँघरमा देशको ऐनभन्दा दराखोलाको चैन ठुलो भन्ने भनाई छ। दराखोलाका जनताको सम्बन्ध यिनै विश्वास आधारमा बलियो बनेको हो,’ उनले भने, ‘यिनको गहिरो अध्ययन र अनुसन्धान हुन सकेकाे खण्डमा हामी संसारभरका मान्छेलाई हिमामा बोलाउन सक्छौं।’

हिमाको विकासका लागि योजना र बलियो संगठन नेपाली कांग्रेसकै भएको हुँदा निर्वाचनमा कांग्रेसले नै जित्ने उनको दाबी छ। तर सत्ता गठबन्धनको केन्द्रीय निर्णयले स्थानीय आवश्यकता र जनताको चाहनामाथि प्रहार गर्छ कि भन्ने पिरलो भने बाँकी नै छ।

उनले पार्टीले गरेको निर्णयमा असहमति नभए पनि संगठनको स्थिति बुझेका कारण गठबन्धन हुँदा र नहुँदा दुबै अवस्थामा हिमामा कांग्रेसले पालिका अध्यक्ष पाउनुपर्ने बताए। उनले थपे, ‘स्थानीय आवश्यकता र औचित्यताको आधारलाई ख्याल गरिएन भने हिमामा गठबन्धनको सम्भावना न्यून हुँदै जान्छ।’

प्रकाशित मिति: : 2022-04-11 06:31:00

प्रतिकृया दिनुहोस्

    आशा र भरोसाका केन्द्रबिन्दु हिमाका राजनीतिका बलियो राजनीतिग्य आदरणिय लक्षमण शाहिलाइ अगृम शुभकामना ।

    • 2 बर्ष अगाडि
    • Kamal Rokaya