मगर समुदायका अगुवा भन्छन्– जनसंख्याका आधारमा टिकट पाउनुपर्छ

मगर समुदायका अगुवाहरूले स्थानीय तह निर्वाचनमा आफ्नो समुदायको सहभागिताको आधारमा टिकट पाउनुपर्ने माग गरेका छन्।

आउँदाे वैशाख ३० गते हुन लागेको निर्वाचनसँगै प्रदेश तथा संघको निर्वाचनमा मगर समुदायका व्यक्तिहरूको सहभागिताको आधारमा टिकट पाउनुपर्ने अगुवाहरूले बताएका छन्।

हाल मगर संघ केन्द्रीय समितिको १२औँ महाधिवेशन जारी रहेको छ। महाधिवेशनमा सहभागी भएका मगर संघ गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त गर्जमगरले पार्टीमा मगर समुदायको सहभागिताको संख्याका आधारमा चुनावमा टिकट पाउनुपर्ने बताएका छन्।

‘हाम्रो एजेण्डा नै पूर्ण समानुपातिक, समावेशिता भएकाले जुन कुनै पार्टीले पनि हाम्रो जातिका मानिसहरूको संख्या आवद्ध छ, सोही आधारमा निर्वाचनमा पार्टीले हाम्रो प्रतिनिधि उठाउनुपर्छ। यो हाम्रो माग हो, हाम्रो दाबी हो,’ उनले भने।

गर्जमगरले आफूहरूको मागअनुसार पार्टीले टिकट दिन कन्जुस्याइँ गरे पार्टीलाई चुनावमा हराउने गरी संस्थागत रूपमै आफूहरू लाग्ने पनि चेतावनी दिएका छन्।

पार्टीले मगर समुदायको कुरा नसुने संस्थागत रूपमै वडा तहसम्म पार्टी विरूद्धमा सर्कुलर जारी गर्ने बताएका छन्।

यस्तै महिला मगर संघ केन्द्रीय समितिकी महासचिव धनकुमारी रानामगरले अघिल्लो ०७४ को निर्वाचनमा मगर समुदायको सहभागिता कम रहेको भन्दै यसपटक बढाउनु पर्ने बताइन्।

पार्टीले पनि सोहीअनुसार मगर समुदायबाट निर्वाचनमा टिकट दिनुपर्ने माग गरिन्। रानामगरले निर्वाचनमा मगर महिलाहरूले टिकट पाउन कठिन हुने गरेको बताइन्।

उनले भनिन्, ‘कुनै जिम्मेवार पदमा राजनीतिक पार्टीले पनि पहिला त मगर समुदायको नै कम सहभागिता गराउने गरेको छ। त्यसमा अझ महिलाको त निकै न्यून मात्रामा सहभागिता हुने गरेको छ।’

महासचिव रानामगरले आफ्नै पार्टीमा पनि मगर समुदायले विभेद खेप्नु परेको सुनाइन्।

‘म पनि कुनै पार्टीको कार्य समिति सदस्य हुँ। उक्त पार्टीमा पनि मगरहरूलाई अवसर नदिएकै जस्तो लाग्छ,’ उनले भनिन्, ‘एउटा जनजाति उठेको ठाउँमा अन्य पाँच छ/जना बागी उठाइदिनुहुन्छ। कसरी हुन्छ?’

मगर संघ चितवन जिल्ला अध्यक्ष ठाकुरसिंह आलेमगरले मगर जस्तोसुकै ठाउँमा अवसर पाउँदा जातिको संख्याका आधारमा पाउनुपर्ने धाराणा राखे।

‘कुनै पनि ठाउँमा जो जातिको जति जनसंख्या छ, सोहीका आधारमा अवसर पाउनुपर्छ,’ उनले भने, ‘मगर समुदायका धेरै छन् भने मगर समुदायका मान्छेले अवसर धेरै पाउनुपर्छ। अन्य जातिका छन् भने अन्य जातिकाले पाउनुपर्छ।’

आलेमगरले यस आधारमा सहभागिता भयो भने राज्यले चाहेको समानुपातिक सहभागिता हुने बताएका छन्।

त्यस्तै महाधिवेशन प्रतिनिधि संगिता पुन मगरले अब आउने निर्वाचनमा आफ्नो समुदायबाट धेरै सहभागिता हुनेपर्ने बताइन्।

‘अघिल्लो पटको निर्वाचनमा टिकट पाउनेमा हाम्रो समुदायबाट कम सहभागिता छ। अबको निर्वाचनमा धेरै सहभागिता हुनु पर्छ भन्ने हाम्रो माग छ,’ उनले भनिन्।

उनले महिलाको सहभागिता ३३ प्रतिशत मात्र नहुने बताइन्।

पुनमगरले पुरूष सरह महिला रहेको ठाउँमा सहभागिता गराउन नेतृत्व तहमा रहेकाले सोच्नुपर्ने धारणा राखिन्। उनले राजनीतिक पार्टी सही छ भने आफूहरूलाई अवसर दिने कन्जुस्याइँ नगर्ने बताइन्।

प्रकाशित मिति: : 2022-04-10 12:57:00

प्रतिकृया दिनुहोस्