मतदाताको गुनासो: हामीलाई हेपियो, खरको छाना पनि फेरिएन

‘हामीलाई त हेपिएको छ। एउटै वडामा पनि विभेद गरिएको छ। पानी छैन, राम्रो बाटो छैन। अरु के भन्नुहुन्छ, घरमा लगाइएको खरको छाना पनि फेरिएको छैन।’

यो आक्रोशसहितको भनाई दाङको बबई गाउँपालिका वडा–१ तल्लो मलईकी गीता घर्तीको हो।

तल्लो मलई दाङको ‘कर्णाली’ उपनामले चिनिने एक बस्ती हो। यस बस्तीमा विकासको नाममा हिउँदको महिनामा जेनतेन गाडी गुड्न सक्ने सडक पुगेको छ। त्यही सडकमा पनि असार लाग्यो भने गाडी गुड्न सक्दैन।

बबई नदी पारी पर्ने यस बस्तीमा पुग्नका लागि बाटो बिग्रिन्छ। बाटो बिग्रने एउटा समस्या त छँदैछ, सँगै बबई नदीमा पक्की पुल नै छैन। हिउँदको महिनामा नदीमा हुमपाइप बिच्छ्याएर गाडी हिँड्ने बाटोको जोहो गरिएको छ।

असार लागेसँगै यही हुमपाइप पनि नदीले बगाएर लगिदिन्छ। बबई गाउँपालिकाको केन्द्र हापुरे बजारबाट करिब २ घण्टाको मोटर यात्रामा पुग्न सकिने मलई गाउँमा जनप्रतिनिधि आइएको ५ वर्षमा केही विकास हुन नसकेको मतदाताको गुनासो छ।

‘विकासको नाममा सडक त आएको छ। हिउँदको दुई/चार महिनापछि त्यही सडक पनि बिग्रिन्छ,’ स्थानीय घर्तीले भनिन्, ‘अरु केही भएको छैन। हामीलाई हेपिएको छ।’

उनले वडा–१ कै गंगटे गाउँतिर सबै बजेट लग्ने गरेको आरोप पनि लगाइन्। ‘बजेट पनि उतै (गंगटे) लगिन्छ।  बिजुली पनि उतै लगियो। यता केही भएको छैन। खरको छाना पनि फेरिएन,’ उनले आक्रोश पोखिन्।

गंगटे गाउँमा ५ महिना अघि मात्र बिजुली बत्ती बालिएको थियो। जुन गाउँ बबई वारी (बबई तर्नु पर्दैन) नै पर्ने गर्छ। घर्तीले अघिल्लो पटकको चुनावमा आउने नेताहरुले खरको छाना हटाउने आश्वासन दिएपनि गाउँका केही घरबाहेक अन्य कुनै घरले टिन नपाएको बताइन्।

तल्लो मलई गाउँमा करिब २०० घर परिवार रहेको छ। यस गाउँमा पानीको पनि समस्या छ। गाउँमा पानीको पाइप छ, तर आजभोलि पाइमा पानी छैन। वर्षायाममा पाइपमा पानी आउने गरेको भन्दै हिउँद लागेपछि पानीको समस्या हुने गरेको अर्का स्थानीय टर्क बहादुर बुढाथोकीले बताए।

उनले पनि विकासको नाममा सडक पुगेको भन्दै अरु केही हुन नसकेको बताए। ‘यो पाँच वर्षमा कम्तिमा घरको खरको छाना हटाइएको हुनुपर्ने हो,’ उनले भने, ‘यही वडाको पनि अन्य ठाउँमा त टिन दिइएको छ। तर यहाँ दिइएको छैन।’

बुढाथोकीले बितेको ५ वर्षमा घर–घरमा खानेपानीको व्यवस्था हुनुपर्ने धारणा राख्दै अहिले पानीका लागि खोलामा झर्नुपर्ने समस्या रहेको बताए।उनले बबई नदीमा पक्की पुल बनाउनका लागि नापजाप गरिएको भएपनि त्यो पुल बन्न नसकेको जानकारी दिए।

जसले गर्दा वर्षायाममा गाडी नचल्ने र बजारसम्म जानुपर्दा घण्टौँको पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको बताए। सामान्य–सामान्य कुराको आफूहरुलाई अभाव रहेको भन्दै गुणस्तरीय जीवन जिउने सपना नरहेको बुढाथोकीको भनाई छ।

उनले आफ्नो गाउँमा विद्यालयको समस्या रहेको बताए। गाउँमा ५ कक्षासम्म मात्रै रहेको र अन्य कक्षाका लागि गाउँ नै छाड्नु पर्ने बाध्यता रहेको जानकारी दिए। बबई नदीको सिरानमा गाउँ भएपनि सिंगो सिंचाईको अभाव झेल्दै आइरहेको बुढाथोकीले बताए।

कुनै लिफ्टिङको योजना आजसम्म नभएको उनले जानकारी दिए। घरपरिवार पाल्नका लागि घर छाड्नु पर्ने गाउँकै नियति रहेको उनले बताए।

वडा–१ तल्लो मलईभन्दा अझ टाढा रहेको गाउँ सिमलकुनाका स्थानीय पलबहादुर घर्तीले आफ्नो गाउँमा धेरै समस्या हुँदाहुँदै पनि विस्तारै विकासले गति लिन थालेको बताए। उनले गुणस्तरीय बाटो नरहेको भन्दै हिउँदको महिनामा हिँड्ने बाटो खोलिएको बताए।

गाउँमा पुल बन्दै गरेको, सिंचाईका लागि आयोजना परेको जानकारी दिए। कर्णाली उपनामले चिनिने बबई गाउँपालिका–१ मा ४० बढी टोलहरु रहेका छन्। जसमा तल्लो मलईसँगै माथिल्लो मलई, गंगटे, सिमलकुनालगायतका बस्ती पर्छन्।

यी सबै बस्तीमा ऐलानी (जग्गाधनी पुर्जाविहीन) हुन्। बबई गाउँपालिकाले लालपुर्जा (जग्गाधनी पुर्जा) वितरण गर्न देशमै सबैभन्दा पहिले नापजाप गरेपनि अहिलेसम्म यहाँ लालपुर्जा वितरण हुन सकेको छैन।

प्रकाशित मिति: : 2022-04-15 05:55:00

प्रतिकृया दिनुहोस्