गुठीचौर कांग्रेसले सुरु गर्‍यो चुनावी सभा: पालिका अध्यक्ष आफूले पाउनुपर्ने माग  

नेपाली कांग्रेस गुठीचौर गाउँपालिकाको आयोजनामा भव्य चुनावी आमसभा सम्पन्न भएको छ।

कांग्रेस गुठीचौरले चुनावी कार्यक्रमको सुरुवात गरिएको जनाएको छ। 

अघिल्लो स्थानीय तहको निर्वाचनसम्म तुलनात्मक रुपले कमजोर देखिएको नेपाली कांग्रेस अब गुठीचौरमा प्रमुख शक्ति भएको दाबी गरिरहेको छ।

पछिल्लो पाँच वर्षमा व्यापक रुपमा संगठन विस्तार गरेकाले गठबन्धन हुँदा कांग्रेस खुम्चिनुपर्ने अवस्था नरहेको गुठीचौर गाउँपालिकाका नेता दान बहादुर बुढाले बताए।

उनले गुठीचौरमा नेपाली कांग्रेस बलियो भएको बताउँदै भने, 'हामी सांगीनिक रुपमा निकै मजबुत भइसकेका छौं। कम्युनिस्टको गडमा हाम्रा बलिया समिति निर्माण भएका छन्। पाँच वर्षअघिदेखि नेपाली कांग्रेसले मलाई नै यो पालिकाको उम्मेदवार भनेर घोषणा गरिएको थियो। त्यो अनुरुप हामीले संगठन निर्माण र प्रतिपक्षले खल्ने भूमिका निर्वाह गर्यौं। जसको कारण आज हामी एक नम्बरमा छौं भनेर छाती फुलाउन सक्छौं र त्यो निर्वाचन पछिको परिणामले पुष्टि पनि गर्छ। कम्युनिस्ट पार्टीको अखडामा प्रजातान्त्रिक विचार उदाएको छ। हिजो कुनै दिन नेपाली कांग्रेसका कार्यकर्ता खोज्न टर्च बाल्नुपर्ने अवस्थाबाट हरेक गाउँमा काँग्रेस बनाउन सकेका छौं। हिजो कुन पालीकामा कसले जितेको थियो र आज गठबन्धन बन्दा उसैले पाउनुपर्छ भन्नू हल्का तर्क हो। यदि यसो हुने हो भने आगोको भुँग्रोमा पसेर संगठन निर्माण गर्नुको अर्थ के रहयो र? नेकपा माओवादीका ठूला नेता नरेश भण्डारी र नेकपा एकीकृत समाजवादीका ठूला नेता भएको ठाउँमा हामीले उहाँहरुकै कार्यकर्तालाई चार तारे झण्डा भएको गम्छा ओडाउन सफल भएका छौं।' 

विभिन्न कारणले गठबन्धन भएको खण्डमा अध्यक्ष नेपाली कांग्रेसले पाउनुपर्ने उनले बताए। 

गुठीचौरको नेपाली कांग्रेस अन्य पार्टीका कार्यकर्ता ल्याएर नै बलियो बनेको हुँदा जित्ने आधार तय भएको नेपाली कांग्रेस क्षेत्रीय समितिका सचिव अर्जुन महताराले बताए। 

हामीले पाँच वर्ष अगाडिबाट पार्टी निर्माण अभियान सुरु गरेर जित्ने अवस्थामा पुगेका छौं उनले भने, सके सिंगल लड्नुपर्न नभए हामीले पाउनुपर्छ भनेर दबाब दिन पनि यो आम सभा आयोजना गरिएको छ।

झण्डै पाँच सय बढी जनसहभागिता रहेको आम सभामा नेपाली कांग्रेस जुम्लाका सभापति प्रमुख अतिथि थिए।

जिल्लामा गठबन्धनको चर्चा चलिरहेको अवस्थामा नेपाली कांग्रेसले छुट्टै गरेको आमसभामा सभापतिले सम्बोधन गर्नु नै आफूहरुले पालिका अध्यक्ष पाउनुपर्ने माग स्वतह अनुमोदन भएको मानिने महताराले थपे।

'यो पाँच वर्षमा हामीले नेपाली काँग्रेसलाई एक नम्बरमा ल्याएका छौं' उनले भने, 'हामीले लिखित रुपमै भनेका छौँ निर्वाचनको परिणाम हाम्रो पक्षमा आउनेछ भनेर।'

उनले गुठीचौरमा नेपाली कांग्रेस अरु पार्टीबाट बनाएको हुनाले गठबन्धन गरि फेरि उनीहरुलाई त्यही पार्टीको चुनाव चिन्हमा भोट हाल भन्नू नैतिक रुपमा नमिल्ने बताए।

'हामीले कम्युनिस्टको गड भत्काएर पार्टी बनाएका छौं' उनले भने, 'फेरी त्यही पार्टीलाई भोट हाल भन्नू उतै फर्क भनेको अर्थ लाग्छ। यसले आगामी दिनमा पार्टीको संगठन निर्माण हुन सक्ला र?'

तर, यता पार्टी सभापति शाहीले भने गठबन्धन भनेको एक हिसाबले सहमति भएको हुनाले पार्टी कमजोर हुन्छ भन्ने अर्थमा बुझ्न नहुने बताए।

सहमतिले कति कुराको त्याग गर्नुपर्ने हुन सक्छ। यसबाट तुलनात्मक लाभ पनि हेर्छौं उनले भने, प्रयत्न अधिकतम भएपनि अहिले नै यो हुन्छ भनेर भन्न सकिने स्थिति छैन।

तर, धेरै जसो पार्टी कार्यकर्ताले सभापति पार्टीको छुट्टै आमसभामा उपस्थित भइ सम्बोधन गर्नु नै आफ्नो मागलाई अनुमोदन गर्नु भएको बताइरहेका छन्। तिनै मध्येका एक हुन् सोही पालिका निवासी रतनसिंह बोहोरा।

'पार्टीको छुट्टै आमसभामामा सभापतिले गरेको सम्बोधन नै हामीले हाम्रो माग अनुमोदन भनि बुझेका छौं' उनले भने, 'यो एक किसमिको जनदबाब पनि हो। यसले गुठीचौरमा काँग्रेसको चार तारे झण्डा फहराइरहेको हेर्न चाहेको छ।'

प्रकाशित मिति: : 2022-04-16 21:09:00

प्रतिकृया दिनुहोस्