गजलकार बीबीसी जुम्ली वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार

Breaknlinks
Breaknlinks

फेसबुकमा बीबीसी जुम्ली नामले परिचित बलबहादुर रोकाया चर्चित गजलकार हुन्। उनको स्थायी बसोबास जुम्लाको हिमा गाउँपालिका– ३ मा छ।

परिबन्धले उनी ९ वर्ष कतारमा बसे। यो अवधिमा उनले जुम्ली साहित्यलाई माथि उठाउन थुप्रै गजल लेखेका छन्। बीबीसी जुम्ली धेरैले चिन्ने साहित्यिक नाम समेत हो।

यस अलबा उनले सामाजिक सञ्जालबाट स्थानीय तहमा नेतृत्व गरिरहेकाले विकास निर्माणमा देखाएको उदासीनता ओैंल्याउँदै झकझक्याउने काम पनि गरिरहेका छन्।

शरीर विदेशमा भएपनि मनलाई गाउँमै राखेका उनी यसपालि आफ्नै गाउँघरमा केही नयाँ गर्ने भनी फर्किएका छन्।

परिवर्तनको सुरुवात आफ्नै गाउँघरबाट गर्ने अठोट गरेका उनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफूलाई वडा अध्यक्षको पदमा स्वतन्त्र उम्मेदवारको रुपमा उभ्याएका छन्।

वडा अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका उनले आफू निर्वाचित भएको खण्डमा वडाको विकास कसरी गर्न सकिन्छ भनेर प्रतिबद्धता पनि सार्वजनिक गरिसकेका छन्।

उनले आफूले कार्यभार सम्हालेको पहिलो दिन र विदाई भएर जाने अन्तिम दिन आफ्नो नाममा भएको सम्पूर्ण चल/अचल सम्पत्ति प्रमाणसहित सार्वजनिक गर्ने पहिलो घोषणा गरेका छन्।

‘अहिले कर्णालीबाट जितेका लागभग ९९ प्रतिशत वडाअध्यले सुर्खेत, नेपालगञ्जमा घर जग्गा जोडेको भन्ने सुनिन्छ,’ उनले भने, ‘यो लुट नै हो। जनताले मलाई विश्वास गरेर जिताएको खण्डमा सार्वजनिक सम्पत्तिमा मेरा आँखा नलाग्न दिन सुरु र अन्तिममा मेरो सम्पत्ति प्रमाणसहित देखाउनेछु। मैले सरकारी रकम दुरुपयोग गरे सबै प्रकारको कारबाही भोग्न तयार हुनेछु।’

उनले स्थानीय तहमा वडा र पालिकामा निर्वाचित भएर आउनु शासक नभएर जनताको सेवक भएको कुरा आम जनतालाई बुझाउन अधिकतम प्रयत्न गरिने बताए।

‘म आफूलाई जनताको सेवकको रुपमा प्रस्तत गर्नेछु। प्रत्येक महिनाको अन्त्यमा वडा पालिकाका सबै खर्चहरु पारदर्शी रुपमा सार्वजनिक गर्ने प्रबन्ध मिलाउनेछु,’ उनले भने,‘वडामा पावर, पहुँच, बल र पैसाका आधारमा चल्ने बोलवालालाई सदाको लागि अन्त्य गर्ने कोसिस गर्नेछु।’

उनकाअनुसार जनताको सेवा गर्ने वडापालिकाहरु नियम कानुन र सिस्टमका आधारमा चल्नुपर्छ। आर्थिक हैसियत र पहुँचको आधारमा कसैको हालीमुहाली हुने र कोही आधारभूत सुविधाबाट समेत बञ्चित हुनुपर्ने अवस्थाबाट वडालाई उठाएर साँच्चिकै जनताको सरकार हुनुको आभास दिलाइनेछ।

उनी विदेशमा रहँदा हरेक क्षेत्रको काम काज प्रविधिसँग जोडिएको देखे। थोरै खर्च गर्न सकेको खण्डमा मानवीय जीवन अति नै सरल हुने बुझेका उनले वडाबाट हुने अधिकांश कामलाई डिजिटलाइज्ड गर्ने बताए।

‘हरेक दिन प्रविधिले नयाँ फड्को मारिरहेको छ। प्राविधिक विकासले छरितोपन निम्त्याएको छ,’ उनले भने,‘हाम्रोमा त प्रविधिको प्रयोग गर्दा नागरिकले झन् सास्ती खेप्नु परेको छ। मालपोत कार्यालय जस्तो महिनौं लाग्ने प्रविधिले हाम्रो विकास हुँदैन। चट्किमा काम हुने गरि वडालाई डिजिटललाइज्ड गर्ने भनेको हो।’

उनले नागरिकको सेवाका लागि लोक कल्याणकारी योजना पेस गरेका छन्। जसमा वडा पालिका भित्रका अति विपन्न परिवारलाई निःशुल्क पानी र बिजुलीको व्यवस्था हुने देखि लिएर वडाले नै स्वास्थ्य सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने र उक्त बीमाले सबै अस्पतालमा सेवा पाइने गरी व्यवस्था मिलाइने उल्लेख छ।

आज गाउँदेखि जंगलसम्म पुगेका सडकहरु विना कामका भइरहेका छन्। प्रयोगविहिन हुँदा वडाको बजेटले डोजर मालिक मोटाउने बाहेक नागरिकले लाभ लिन सकिरहेका छैनन्। त्यसैले बीबीसी जुम्लीको योजनाभित्र  वडा भित्रका सबै बाटोहरुमा नियमित गाडी संचालन गर्ने परेका छन्।

ग्रामीण क्षेत्रको विकास कृषि क्षेत्रको आधुनिकीकरणबाट मात्रै सम्भव हुने हुँदा निकै सचेततापूर्वक योजना निर्माण गरिनुपर्ने उनको तर्क छ।

‘आज वास्तविक किसानले अनुदान पाउन सकेका छैनन्। सरकारी अनुदानमा पहुँचवालाको रजाइँ चलिरहेको छ,’ उनले भने,‘जो असली किसान हो उसैले हामीलाई पालिरहेको छ। त्यसैले उसले प्रशस्त उत्पादन गर्ने व्यवस्था मिलाउन अति नै जरुरी छ। सँगै किसानका सम्पूर्ण उत्पादन उचित मूल्यमा बिक्री हुने व्यावस्था मिलाइनु जरुरी छ।’

उनले वडाभित्र केही गर्न चाहनेहरुलाई पालिकासँग समन्वय गरि बिना धितो र बिना ब्याजको ऋण उपलब्ध गराउने व्यवस्था मिलाइने बताए।

‘उद्यमीले गर्न खोजेको कामको आधारमा ऋण प्रवाह गरिनेछ,’ उनले भने,‘कसैले पनि विनाकाम बस्नुपर्ने स्थिति आउन दिइने छैन।’

उनकाअनुसार वडापालिकाभित्र ज्येष्ठ नागरिकलाई उचित किसिमको सम्मान गर्न अत्याधुनिक विश्राम स्थाल, असाय बेसाहाराहरुका लागि वडा भित्रै भएका स्वास्थ इकाइमा दक्ष जनशक्तिबाट रेखदेखको व्यवस्था मिलाइनेछ।

वडाभित्रका तीन वटै सरकारी स्कुलको गुणस्तर वृद्धि गरी सबै नागरिकको शिक्षामा समान हकको व्यवस्था मिलाउने र साक्षरता दर बढाउन योगदान गर्न सकिने उनको तर्क छ। उनले भने,‘शिक्षाले नै प्रश्न गर्न सक्ने जनशक्ति उत्पादन गर्ने हो। जसले विकास निर्माणमा ठूलो योगदान दिनेछ।’

बीबीसीले आफ्नो उम्मेदवारीलाई विकास र पद्धति विकासका लागि भएको बताए। ‘हामीले तिरेको करबाट आउने रकममा कसैले एकलौटी रजाइँ नगराेस् भनि वडाअध्यक्षमा उम्मेदवारी दिएको हुँ,’ उनले उत्साहित हुँदै भने,‘जनताले मलाई बुझ्नुहुनेछ।’

प्रकाशित मिति: : 2022-04-24 07:57:00

प्रतिकृया दिनुहोस्